अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ। उक्त देशबाट आयात गरिएका गाईभैँसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो। 

पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक संक्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रूपमा बाँझपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्युसमेत हुन सक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन्।

मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेरेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ। 

अस्ट्रेलियाको कृषि, मत्स्यपालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। इन्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए।  

अस्ट्रेलियाका भेटेरेनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन्। साथै उनले उक्त रोगबाट अस्ट्रेलिया मुक्त रहेको बताएका छन्। 

मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि करिब ५५ लाख डलरबराबरको गाई–भैँसी आयात गर्दै आएको छ। आयात प्रतिबन्ध हटाइएको निर्णयले उद्योग र सबै मलेसियालीलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेरेनरी सेवा विभागले व्यक्त गरेको छ। 

अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो। गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियो भने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन्। 

सुझावित समाचार