पोखरामा २३ हाइमास्ट लाइट र दुई हजार स्मार्ट सडकबत्ती जडान

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

रातको समयमा पोखरा महानगरपालिका क्षेत्रका मुख्य–मुख्य चोक तथा सडकहरूलाई झिलिमिली पार्न सुरु भएको उज्यालो पोखरा अभियानअन्तर्गत सडकबत्ती जडान गर्ने काम पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरण तथा पोखरा महानगरपालिकाको साझेदारीमा १७ भदौ ०७९ मा उज्यालो अभियानको काम सुरु भएको थियो । अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकमा हाइमास्ट लाइट र अन्य स्थानमा स्मार्ट सडकबत्ती राखिएको हो । 

दुई संस्थाको साझेदारीमा सम्पन्न अभियानको कार्यान्वयनको जिम्मा विद्युत् प्राधिकरणअन्तर्गतको राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाले पाएको थियो । अभियानअन्तर्गत महानगरका विभिन्न २३ स्थानमा हाइमास्ट लाइट र दुई हजार सातवटा स्मार्ट सडकबत्ती जडान गरी पोखरालाई झलिमिली बनाइएको छ । प्राधिकरण र महानगरपालिकाको ५०–५० प्रतिशत लागत साझेदारीमा सम्पन्न अभियानका लागि १४ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

धनराज आचार्य, मेयर पोखरा महानगरनगरपालिका
बत्ती जडानले पोखरालाई थप सुरक्षित बनाउने काम गरेको छ । रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखरेलीसँगै आन्तरिक एवं बाह्य पर्यटकलाई बत्तीका कारण सहज भएको छ ।

अभियानअन्तर्गत २३ स्थानमा जडान गरिएको हाइमास्ट बत्तीको पोल १६ मिटर अग्लो छ । प्रत्येक पोलमा दुई सय वाट क्षमताका आठ–आठवटा बत्ती राखिएका छन् । दुई हजार सात स्थानमा जडान गरिएको स्मार्ट सडकबत्तीमा १२० र ९० वाट क्षमताको बत्ती राखिएको छ । बत्ती पोखराका ६० किलोमिटर क्षेत्रमा जडान गरिएको छ ।

स्मार्ट बत्ती मोबाइल र ल्यापटपबाट नै नियन्त्रण गर्न सकिने गरी जडान गरिएको छ । बत्ती जडानका लागि ४३९ बटा नयाँ पोल गाडिएका छन् भने अन्य स्थानमा पुरानै विजुलीका पोल प्रयोग गरिएको छ । जडान गरिएका बत्तीको उत्पादक सिग्नफाई इन्डिया प्रालिले गरेको हो भने भारतको टपसन इनर्जी प्रालिले निर्माण गरेको हो । 

पोखराका मेयर धनराज आचार्यले बत्ती जडानले पोखरालाई थप सुरक्षित बनाउने काम गरेको बताए । सुरक्षितसँगै सहरलाई सुन्दर बनाउने कामसमेत गरेको उनको भनाइ छ । ‘रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखरेलीसँगै आन्तरिक एवं बाह्य पर्यटकलाई बत्तीका कारण सहज भएको छ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जडान गरिएका बत्ती स्मार्ट भएकाले कुन कहाँ बिग्रियो भन्ने पत्ता लगाउनुका साथै मर्मतका लागि पनि सहज हुने बताए । 

See More On

सुझावित समाचार