हरि रिजाललाई दुई मतले हराउँदै एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण
हरि रिजाललाई दुई मतले हराउँदै एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

पाल्पाका राधाकृष्ण कँडेल (दायाँ) प्यूठानका हरि रिजाल (बायाँ)

नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनले अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । सहमतिको प्रयास सफल नभएपछि मतदानबाट कँडेल प्युठानका हरि रिजाललाई दुई मतले हराउँदै विजयी भएका हुन् । 

कँडेलले चार सय ७९ मत ल्याएर विजयी भए भने रिजालले चार सय ७७ मत ल्याए । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका एक हजार पाँच प्रतिनिधिमध्ये नाै सय ६५ जनाले मतदान गरेका थिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलनिकटका हुन् । 

कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । एमालेको प्रदेश अधिवेशनअन्तर्गत सुरुमै लुम्बिनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व मतदानबाट टुंगो लागेको हो । 

एमाले अध्यक्ष केपी ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै बुटवलमा नेता तथा प्रतिनिधिहरूलाई निर्देशन दिएर फर्किए पनि यहाँ सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । यहाँ दुई पक्ष अघोषित रूपमा प्यानल बनाएर चुनावी मैदानमा भिडेका थिए । परिणामअनुसार पदाधिकारीमा कँडेल पक्ष बहुमतसहित विजयी भएको छ । 

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लीला रानामगर निर्वाचित भएका छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुन् ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा निर्वाचित कँडेल पक्षका श्रेष्ठले चार सय ५५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा रुपन्देहीका विश्वराज बरालले तीन सय ६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । बराल रिजाल समूहका हुन् । अन्य दुईजनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । 

त्यस्तै, उपसचिव खुलामा बुढामगर चार सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले तीन सय ९३, रोल्पाका उपेन्द्रलाल कामीले एक सय १० मत ल्याएका थिए । चौधरी कँडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

महिला उपसचिवमा लीला रानामगर तीन सय ५२ मत ल्याएर विजयी भएकी छिन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई एक मतले पराजित गरेकी हुन् । अधिकारीले तीन सय ५१ मत ल्याएकी छिन् । 

यस्तै, लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बिसीलाई दुई सय सात मत अन्तरले पराजित गरे । लेखा समितिको उपाध्यक्षमा वैकुण्ठ महत निर्विरोध निर्वाचित भए । मतदानमा नाै सय ६५ मत खसेको थियो । अधिवेशनमा कुल एक हजार चारजना मतदाता रहेकोमा नाै सय ६५ मत खसेको थियो ।

पौडेल र पोखरेलनिकटका उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले लुम्बिनी प्रदेश अधिवेशनलाई एमालेका दुई शीर्ष नेता पौडेल र पोखरेलको शक्ति परीक्षणका रूपमा समेत लिइएको थियो ।  रुपन्देही पौडेल र दाङ पोखरेलको गृहजिल्ला हो ।

एमालेको केन्द्रीय सचिवालयले प्यानल प्रतिस्पर्धामा रोक लगाएको भए पनि यहाँ प्रतिस्पर्धामा रहेका कँडेल र रिजाल समूह आन्तरिक रूपमा केही पदमा टिम निर्माण गरेर चुनावी मैदानमा उत्रिएका थिए । अधिवेशनको उद्घाटन समारोहमा नेताहरू पौडल र पोखरेलले आफूहरू गुटबन्दीमा नरहेको दाबी गरेका थिए । 

त्यस्तै, अन्य नेताहरूले समेत पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै  गुटबन्दी गर्न नहुनेमा जोड दिएका थिए । लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी बनाएको छ । 

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि सहभागी थिए ।
 

सुझावित समाचार