विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा चलिरहेको ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीमाथिको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । थाइल्यान्डका बालान्कन पठानसिरावत तेस्रो स्थानमा रहे । याक एन्ड यती होटेलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुला विधातर्फ सनमले स्वर्ण जितिन् ।
उनले हङकङ चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेस्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फी भुसँग पराजित भए । मलेसियाका अज्री विन अस्मत सेफ्रीले कांस्य पाए । नेपालले ६० केजी तौलमा अर्को पदक हात पा¥यो । अस्मिनबाबु गुरुङले रजत र कमल भण्डारीले कांस्य पाए । यस विधामा थाइल्यान्डका जिराफन पोङकामले स्वर्ण जिते ।
४५ विधामा प्रतिस्पर्धा
च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजीमाथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष र मुनि, महिला फिटनेस फिजिक १६५ सेमिसम्म, १६५ सेमिमाथि, महिला टिनेज एथलेट फिजिक १५–१८ वर्ष र महिला स्विम सुट खुला प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । यसैगरी, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्षमाथि गरी १५ विधामा प्र्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ चाइना, भारत, कजाखस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ । शारीरिक सुगठन खेलको विकासमा योगदान गरेबापत विभिन्न व्यक्तित्वहरूलाई स्वर्ण, रजत र कांस्य पदकले सम्मान गरिएको थियो ।ज्ञानेन्द्र नकर्मी, अजय बज्राचार्य, रुजेश शाही, ननिता बज्राचार्य, निर्मला महर्जन, राजेश उपाध्याय, महेश्वर महर्जन, राजन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए । राजेशबहादुर श्रेष्ठ, ईश्वर श्रेष्ठ, शंकरमान उदास, बाबुकाजी मानन्धर, प्रतापकाजी बरिया, दिनेश श्रेष्ठ, अनिललाल श्रेष्ठले रजत जिते । सुरेश सुवेदी, रेणुका श्रेष्ठ, बिनिता राई, सूर्यप्रसाद जोशी, विजयत्तमरत्न बज्राचार्यले कांस्य पदक प्राप्त गरेका थिए ।