देशको अर्थतन्त्र समस्यामा रहेका वेला उत्पादन र उत्पादकत्व बढाउन वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने विज्ञहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न देशका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनले बताए । सरकारका सुरक्षा परिषद् सल्लाहकार शंकरदास वैरागीले नेपाली नियोगहरूले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
मुख्यसचिव वैकुण्ठ अर्यालले आर्थिक कूटनीतिक विस्तारका लागि बहुपक्षीय निकायसँगको सहकार्य आवश्यक रहेको औँल्याए । यस्तै, निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने बताए । श्रमसचिव केवल भण्डारीले आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए ।
अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने आश्वासन दिए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए । यस्तै, अतिकम विकसित देशबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित देशबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्वपूर्ण रहने बताए । पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरूले सकारात्मक मात्र भए पनि निकै सहज हुने बताए । ‘नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने, ‘धेरै उदीयमान र विकसित अर्थतन्त्रहरूमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरूको मूल्यांकन हुने गरेको छ, यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार छ ।’
नवनियुक्त राजदूतहरूको तर्फबाट बोल्दै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गर्नुपर्ने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरूको निरन्तर सहकार्य रहनेमा आश्वस्त पारे । सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डमा धनबहादुर वली, युएईमा तेजबहादुर क्षेत्री, ओमानमा घनश्याम लम्साल, स्विट्जरल्यान्डमा रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्रसंघ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।