रिलायबल लाइफ इन्स्योरेन्सले जीवन बिमा कारोबार सुरु गरेको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले रक्तदान, आर्थिक सहयोग, सरसफाइलगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
सातौँ स्थापना दिवसको अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरूमा रक्तदान, समता गुठीलाई नगद सहयोग, सरसफाइ, विभिन्न वृद्धाश्रममा खाद्य सामग्री वितरण, विद्यालयमा स्टेसनरी सामान वितरण तथा वृक्षरोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको जनाएको छ । यस कार्यमा कर्मचारी एवं बिमा अभिकर्ताको सक्रिय सहभागिता रहेको कम्पनीले उल्लेख गरेको छ ।
हालसम्म ७० लाख बिमितको संख्या पुगिसकेको कम्पनीले दाबी गरेको छ । यस अवसरमा कम्पनीको पहुँचलाई दूर–दराजसम्म पुर्याउन सहयोग गर्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरू, लगानीकर्ता, कर्मचारीलागायतप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।