एमाले लुम्बिनीको अधिवेशनमा पौडेल र पोखरेलको शक्ति परीक्षण

अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालको उम्मेदवारी दर्ता

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले आइतबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् । हाल प्रदेश अध्यक्ष कँडेल उपाध्यक्ष विष्णु पौडेल र केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् । 

एमाले अध्यक्ष केपी ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै निर्देशन दिए पनि दुई पक्षको अघोषित प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । त्यसैले लुम्बिनी प्रदेश अधिवेशनमा एमालेका दुई शीर्ष नेता पौडेल र पोखरेलको शक्ति परीक्षण हुँदै छ । लुम्बिनी दुवै नेताको गृहप्रदेश हो । 

हुन त एमालेको केन्द्रीय सचिवालयले प्यानल प्रतिस्पर्धामा रोक लगाएको छ । तर, प्रतिस्पर्धामा रहेका कँडेल र रिजाल समूहले आन्तरिक रूपमा पदाधिकारीसहित टिम निर्माणको गृहकार्य गरिरहेका छन् । तर, कँडेल र रिजालले आफूहरू कुनै गुटबन्दीमा नरहेको दाबी गर्दै आएका छन् । सोमबार उम्मेदवारी टुंगिएपछि दुवै पक्षका नेताहरू खुल्नेछन् । 

कार्यवाहक महासचिव प्रदीप ज्ञवाली र सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल अध्यक्षका प्रत्याशी कँडेल र रिजालबीच सहमति जुटाउने प्रयासमा छन् । आइतबार रातिसम्म प्रयास गर्ने र उम्मेदवार तयार नभए प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले बताए । ‘अध्यक्षका दुवै उम्मेदवारलाई कार्यवाहक महासचिव र इन्चार्जले रातिसम्म सँगै राखेर सहमति गर्नुस् भनेर अन्तिम कोसिस गर्नुहुन्छ । तर, उहाँहरू एकले अर्कोलाई छाडेर सहमति गर्न मान्नुभएन भने सोमबार चुनावी प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । 

आइतबार नै एक उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ, जसमा दुईजना रुपन्देहीका छन । त्यस्तै, सचिवमा दुई र उपसचिवमा भने पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा बाँकेका तीनजनाको उम्मेदवारी छ ।
उम्मेदवारी दर्ताको समय सोमबार बिहानसम्म छ । आइतबार स्थगित गरिएको निर्वाचनसम्बन्धी कार्यक्रम सोमबार बिहान ७ बजेबाट सुरु हुने एमाले लुम्बिनीका प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए । उनका अनुसार बिहान ७ बजेबाट १० बजेसम्म उम्मेदवारी दर्ताको समय छ । त्यसैले उम्मेदवारहरूको संख्या अझ बढ्न सक्ने देखिएको छ ।

लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी बनाउनेछ । दुई सय पाँच सदस्यीय प्रदेश कमिटी चयनका लागि जिल्ला–जिल्लाबाट चयन हुने सदस्यमा केही जिल्लामा सहमति जुटेको र केहीमा सहमतिको प्रयास जारी रहेको प्रचार विभाग प्रमुख घिमिरेले बताए । अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि सहभागी छन् ।

सबैभन्दा धेरै प्रतिनिधि रूपन्देहीबाट
रूपन्देही– १६४, कपिलवस्तु– ७२, दाङ– १३१, बाँके– ५४, बर्दिया– ७४, रुकुम पूर्व– १२, रोल्पा– २७, प्युठान– ५७, अर्घाखाँची– ८२, गुल्मी– १११, पाल्पा– ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि रहेका छन । त्यस्तै, जनसंगठनबाट ८३ गरी जम्मा एक हजार चारजना रहेका छन् ।

यस्तो छ एमाले लुम्बिनी प्रदेश कमिटीको विगत

  •   १४ कात्तिक ०७३ (साबिक प्रदेश ५) मा विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ८३ सदस्यीय प्रदेश संगठन कमिटीको गठन ।
  •  ३ जेठ ०७५ मा एमाले र माओवादीबीच एकता भई नेकपा गठनपछि साबिकका दुवै पार्टी कमिटी एक बनाउन गठित कार्यदलको निर्णय सिफारिस र केन्द्रको निर्णयपछि ओनसरी घर्तीको नेतृत्वमा दुई सय ६ सदस्य प्रदेश संगठन कमिटी गठन ।
  •    २३ फागुन ०७७ मा सर्वोच्च अदालतले ०७५ जेठ २ कै अवस्थामा अर्थात् साबिकको आ–आफ्ना पार्टी स्थापित हुने गरी भएको फैसलापश्चात् एमाले लुम्बिनी प्रदेश संगठन कमिटी लीला गिरीको नेतृत्वमा पुनर्गठन ।
  • १०–१२ मंसिर ०७८ चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटीको पहिलो बैठकबाट एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्ष, सचिव र उपसचिवहरूमा क्रमशः भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गाप्रसाद थारू रहेको पाँच सय ७६ सदस्यीय कमिटी गठन । 

सुझावित समाचार