जब समाज विभाजित हुन्छ, तब सही तर्कको पछि लाग्नभन्दा गलत तर्कको प्रतिरोध गर्न अधिक बल चाहिन्छ
जब कुनै देशको सामाजिक सम्झौता खल्बलिन्छ, त्यहाँ अफवाह र अनर्गल प्रसारबाजीका निमित्त परिस्थिति परिपक्व भएको ठान्नुपर्ने हुन्छ । तर, यस्ता अफवाह र अनर्गल बयानबाजी जतिसुकै हुल्याहा र बेतुका किन नहुन्, तिनले मानिसहरूको गहिरो त्रास र पूर्वाग्रहलाई अभिव्यक्त गराएका हुन्छन् ।
आज रुसमा यस्तै अवस्था छ । राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्गेई मार्खाेभ युक्रेनले रुसविरुद्ध युद्ध लड्न ‘समलिंगी सुपर–सैनिकहरू’ खडा गरिरहेको चेतावनी दिन्छन् । ‘सैन्य सिद्धान्तकार एवं इतिहासकारलाई थाहा नै छ, ग्रिसमा कुन सेना सबैभन्दा बलियो थियो सम्झनुस् त ? निःसन्देह स्पार्टाहरूको फौज, ती समलिंगी भ्रातृत्वद्वारा एकताबद्ध थिए । उनीहरू सबै समलिंगी थिए । यो तिनका नेतृत्वको राजनीति हुने गथ्र्याे । मलाई लाग्छ, उनीहरूले युक्रेनको फौजका लागि पनि यस्तै योजना बनाइरहेका छन्,’ उनी पुटिनलाई चेताउँछन् ।
निःसन्देह, होमोफोबिया (समलिंगीसँगको भय), भ्रामक इतिहास र अमेरिकास्थित केटाकेटीका लागि सचित्र कथाका किताब छाप्ने मार्बल प्रकाशनका कमिक्सबाट अभिपे्ररित सुपर–सैनिकको अवधारणाको समिश्रण पस्किएर मार्खाेभले आफूमा आलोचनात्मक सोच र तर्कसंगत विश्लेषणलाई प्रोत्साहित गर्न रुचि नरहेको संकेत गरेका छन् । तर, यसले कुनै फरक पार्दैन किनभने रुसी समाजको केही महत्वपूर्ण खेमा यस्ता मूर्खतापूर्ण तर्कहरूलाई मनपराँउछ र तिनलाई सही भएको ठान्छ ।
रुसका प्रमुख राष्ट्रिय संकट एवं विपत्हरूलाई सम्झाउने ऐतिहासिक दिवसमा पनि यस्ता बहुलठ्ठीपन बढ्दो रूपमा देखिन थालेको छ । हालैमा रुसको पेस्कोभ क्षेत्रको भिलिकिए लुकीमा आयोजित एक समारोहमा ‘फादर एन्थोनी’का नामले चिनिने एक पादरीले स्टालिनको २६ फिट अग्लो मूर्तिलाई ‘पवित्र जल(होली वाटर)’ले अभिषेक गरे । उनको भनाइ थियो, ‘हिजो स्टालिनको शासनकालमा ‘यो चर्च’ले निकै सास्ती व्यहोरेकै हो । तर, ‘अनगिनत नयाँ रुसी सहिद र कन्फेसरहरूले हाम्रो यस मातृभूमिको पुनरुत्थानमा योगदान गरिरहेका छन् ।’ हामी आजका यी रुसीप्रति कृतज्ञ हुनैपर्छ र यसर्थ, हामी अहिले उनीहरूका लागि प्रार्थना गर्छाैं ।’
यो विकृत तर्क हिटलरप्रति यहुदीहरू इजरायल राज्यका लागि बाटो खोलिदिएकोमा कृतज्ञ हुनुपर्छ भन्ने तर्कबाट एक कदम मात्र पछाडि छ । वास्तवमा, ठ्याक्कै यस्तै कुराहरू भइरहेका छन् । इजरायलको च्यानल–१३ ले सन् २०१९ मा गरेको एउटा अनुसन्धानअनुसार सरकारी अनुदानमा सञ्चालित ‘बेनी डेभिड मिलिटरी प्रिपेरेसन स्कुल’मा इजरायली सेनाका भविष्यका अधिकारीलाई रब्बी(धर्मगुरू)ले यसो भनेर पढाउँछन् :
‘होलोकास्ट (आमसंहार) यहुदीहरूलाई मार्नका लागि थिएन । र, यो सुव्यवस्थित र वैचारिक थियो, जसका कारण यो यादृच्छिक (र्यान्डम) अथवा जथाभावी गरिने हत्याभन्दा नैतिक थियो । खासमा मानवतावाद, धर्मनिरपेक्ष संस्कृतिचाहिँ होलोकास्ट हुन् । खास होलोकास्ट बहुलवाद हो । नाजीका तर्क आन्तरिक रूपमा सुसंगत थिए । हिटलर समाजको एउटा निश्चित समूह संसारका सबै दुष्टताको कारण हो, त्यसैले यसलाई निर्मूल पार्नुपर्छ भन्थे ।... परमेश्वर वर्षाैंदेखि डायास्पोरा समाप्त भइसक्यो भनेर चिच्याइरहनुभएको छ, तर यहुदीहरूले सुनिरहेका छैनन् (उहाँको आज्ञापालन गरिरहेका छैनन्) । उनीहरूको यो रोगलाई होलोकास्टले निको पार्नुपर्छ । ...हिटलर सबैभन्दा धार्मिक थिए । निःसन्देह, आफूले बोलेका हरेक शब्दमा उनी सही थिए । उनको विचारधारा सही थियो । ... नाजीहरूकोे एक मात्र गल्ती, उनले आफ्नो पक्ष चिन्न सकेनन् (को कुन पक्षको भन्ने छुट्याउन सकेनन्) ।’
पाठ यहीँ समाप्त हुँदैन । विद्यार्थीलाई यो पनि पढाइन्छ : ‘परमेश्वरको सहायताले दासत्व फर्कनेछ । गैरयहुदीहरू हाम्रा दास हुनेछन् । हामीवरपरका (अन्य) मानिसमा वंशाणुगत समस्या छन् । एक सामान्य अरबलाई ऊ के चाहन्छ, सोधी हेर त । ऊ आफ्नो पेसामा रहन चाहन्छ । ...उनीहरूलाई देश वा अरू कुरा कसरी चलाउने केही पनि थाहा छैन । ...हो, हामी जातिवादी हौँ । हामी जातिवादमा विश्वास गर्छाैं । जातिका आनुवंशिक विशेषता हुन्छन् । त्यसैले उनीहरूलाई कसरी मद्दत गर्ने भनेर हामीले विचार गर्नुपर्छ ।’
निश्चय नै केवल एउटा सानो, कट्टर धार्मिक अल्पसंख्यकले मात्र यो उग्र रेटोरिक(बयानबाजी)लाई खुलेआम समर्थन गर्छ । तथापि, यसले वेष्ट बैंकको वर्तमान उग्रदक्षिणपन्थी सरकारका नीति पछाडि अन्तर्निहित आधारहरूतर्फ संकेत गर्छ । इजरायल र उसबाट कब्जा गरिएका क्षेत्रहरूको स्थितिलाई नाजी जर्मनीसँग तुलना गर्नु हास्यास्पद अतिशयोक्ति लाग्न सक्छ ।
अझ यस्तो तुलना कुनै गैरयहुदीले गर्छ भने उसलाई तुरुन्त यहुदीविरोधीको रूपमा खारेज गरिन्छ । तर, यहुदीका प्रमुख व्यक्तिले नै यस्तो तुलना गर्छन् भने त उनीहरूको कुरा सुन्नु नै पर्ने हुन्छ । जब कुनै समाजले आफूलाई स्व–पुष्टीकरणको सप्कोले लपेटेर लुकाएको हुन्छ, तब त्यो सप्को खुस्काउन सोही समाजकै भित्रिया व्यक्ति चाहिन्छ ।
इजरायली रक्षाबलको उत्तरी कमान्डका भूतपूर्व प्रमुख अमिराम लेभिनलाई नै लिऔँ । उनले हालैमा इजरायलको सार्वजनिक प्रसारण स्टेसनसँग वेस्ट बैंकको अवस्थाबारे कुरा गर्दै भने, ‘त्यहाँ ५७ वर्षदेखि प्रजातन्त्र छैन, पूर्ण रूपमा रंगभेद छ । ...त्यहाँ सार्वभौमसत्ता लागू गर्न खटाइएको आइडिएफ भित्रभित्रै कुहिँदै गएको छ । यो त्यहाँका दंगाईहरूलाई टुलुटुलु हेरिबस्छ र युद्ध अपराधको साझेदार बन्दै जान थालेको छ ।
स्पष्टीकरण माग्दा लेभिनले नाजी जर्मनीको उल्लेख गर्छन्, ‘यो उच्चारण गर्न हामीलाई गाह्रो छ, तर सत्य यही हो । हेब्रोन वरपर हिँड्नुस् र त्यहाँका सडक हेर्नुहोस् । त्यहाँका सडकमा अरबीलाई अनुमति छैन, त्यहाँ केवल यहुदीहरू देखिन्छन् । नाजी जर्मनीमा पनि ठ्याक्कै यस्तै थियो ।’
एउटा सेवानिवृत्त आइडिएफ जनरल यस्तो निष्कर्षमा पुग्न सक्छ भने यो कुराले उनको असाधारण नैतिक अडानलाई मात्र प्रमाणित गर्दैन, त्यहाँ चिजहरू कति खराब भइसकेको छ भन्ने कुराको पनि प्रमाण दिन्छ । तर, जबसम्म लेभिनजस्ता इजरायली हुन्छन्, आशाको दियो बाँकी रहन्छ । किनकि उनीजस्ता मानिसको ऐक्यबद्धता र समर्थनले मात्र वेस्ट बैंकका प्यालेस्टाइनीले मौका पाउँछन् ।
आज रुस र इजरायल दुवैमा उपनिवेशवाद र आधारभूत सिद्धान्तबारेका असहमतिको भारले च्यापिएर सामाजिक सम्झौता टुट्दै गएको छ । यी अवस्थाले अतिवादी तर्क र बयानबाजीतर्फ डोर्याउँदै लगेको छ । जब समाजहरू विभाजित हुन्छन्, तब सही तर्कको पछि लाग्नभन्दा गलत तर्कहरूको प्रतिरोध गर्न अधिक बल चाहिन्छ ।
(युरोपियन ग्य्राजुएट स्कुलमा दर्शनशास्त्रका प्राध्यापक रहेका स्लाभोज जिजेक लन्डन विश्वविद्यालयमा बर्कबेक इन्स्टिच्युट फर द ह्युमानिटिजका अन्तर्राष्ट्रिय निर्देशक हुन् ।)
– प्रोजेक्ट सिन्डिकेट