पासाङ ल्हामु राजमार्गको रानीपौवा–पिपलटार खण्ड यही वर्ष सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

शनिबार, १६ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासाङ ल्हामु राजमार्गअन्तर्गतको रानीपौवा–पिपलटार सडकखण्ड आन्तरिक स्रोत जुटाएर भए पनि यही वर्ष सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार नुवाकोट जिल्लाका सांसदहरूको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। पासाङ ल्हामु राजमार्गअन्तर्गत तीनपिप्ले–पिपलटार सडकखण्डको तीनपिप्ले–रानीपौवा खण्डको लागि मात्र बजेट निकासा भएको विषयमा नुवाकोटका प्रतिनिधिहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यही वर्ष नै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म कालोपत्र गर्न/गराउन उनीहरूले प्रधानमन्त्रीसँग माग गरेका थिए। टोलीले बन्चरेडाँडा ल्यान्डफिल साइटले पारेको समस्या र पटक-पटक भएका सम्झौताको बेवास्ताप्रतिसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद अर्जुननरसिंह केसीको सचिवालयले जनाएको छ।

भेटका क्रममा सांसद केसीले पासाङ ल्हामु राजमार्ग र बन्चरेडाँडा ल्यान्डफिल साइटको बारेमा सरकार गम्भीर नभए संसद् भवनभित्रै आमरण अनशन बस्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री प्रचण्डले त्यस्तो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्दैै अविलम्ब सम्बन्धित निकायसँग छलफल गरी दीर्घकालीन समस्या समाधानको उपाय खाेज्ने आश्वासन दिए।

सुझावित समाचार