सुर्खेतमा समाजवादी मोर्चाको सभा
प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चारदलीय समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने र आफ्नो–अर्को भनेर पक्षपात पनि नहुने बताएका हुन् ।
सभामा उनले भने, ‘भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिनेवाला छैन । नेपाली जनताको समर्थनमा यो नयाँ अभियान हो । यसले दायाँबायाँ, तेरोमेरो हेर्नेछैन ।’
सुशासनको अभियान सञ्चालन गरिएको र भ्रष्टाचारमा जोडिएको कसैलाई पनि नछोडिने उनले बताए । ‘मलाई दिनु केही छैन । सरकार कति दिन चल्छ–चल्दैन, त्यो मेरो कुनै चासो छैन,’ उनले भने, ‘राम्रो काम गर्छु । कसले हटाउँछ, हेर्छु । केही मानिसले आफ्ना मान्छे बचाउँछ, अरू मात्रै फसाउँछ भनियो । कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो, त्यो होइन । सिआइबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु ।’
सरकारले सुशासनको काम गरेको छ : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले सुशासनका लागि काम गरिरहेको बताए । ‘भ्रष्टाचारी आफ्ना पार्टीका हुन् वा अरू हुन्, उहाँ (प्रधानमन्त्री) सबै भ्रष्टाचारविरुद्ध लडिरहनुभएको छ,’ नेपालले भने, ‘यो अभियानमा सबैले साथ दिन जरुरी छ ।’
दलाली, भ्रष्टाचारी र जनताको रगत–पसिना चुसिरहेकाहरू सरकारसँग डराएको उल्लेख गर्दै नेपालले भने, ‘देशभक्त र इमानदार खुसी भएका छन्, लुटेरा डराएका छन् ।’ कम्युनिस्ट मिलेमा देश बलियो बनाउन सकिने नेपालले बताए । ‘एक्लाएक्लै भएर कुनै पार लाग्दैन, एकतामा बल हुन्छ,’ उनले भने । समाजवादी मोर्चा गठनले कांग्रेस डराउनुपर्ने अवस्था नरहेको नेपालले बताए । ‘कांग्रेसलाई समाजवादी मोर्चा गठनले चिसो पसेको हल्ला चलाइयो । तर, यो मोर्चा गठनले कांग्रेसलाई राहत भएको छ,’ उनले भने, ‘यो मोर्चाले कांग्रेस फाइदा नै गर्छ ।’
देशलाई स्वाधीन बनाउनसमाजवादी मोर्चा : विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक उपलब्धिको रक्षा र मुलुकलाई स्वाधीन बनाउन समाजवादी मोर्चा गठन भएको बताए । ‘गणतन्त्र छ, संघीयता छ । जेसुकै नाम भए पनि पूर्णता छैन,’ उनले भने, ‘यसमाथि घेराबन्दी गरिएको छ । नेपाललाई पश्चगमनमा फर्काउने तत्व सलबलाइराखेका छन् ।’
समाजवादी मोर्चा दुईवटा लक्ष्यका लागि गठन गरिएको चन्दले बताए । ‘समाजवादी मोर्चा देशलाई स्वाधीन बनाउनका लागि बनाएका हौँ,’ उनले भने, ‘राजनीतिक उपलब्धिको रक्षा गर्ने र अर्को हाम्रो देश स्वाधीन बनाउने लक्ष्य रहेको छ । जनताका सपना अझै पूरा नभएका कारण अहिले समाजवादी मोर्चा रहेको छ ।’