चिनियाँ अर्थतन्त्रको भविष्य कस्तो ?

आइएमएफका अनुसार आगामी वर्ष चीनको जिडिपी वृद्धिदर चार प्रतिशतभन्दा कम हुन सक्छ, यो विकास दर पछिल्लो चार दशकको तुलनामा आधाभन्दा बढी हो

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

चिनियाँ अर्थतन्त्रबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । तर, पछिल्लो एक रिपोर्टले देशकै ठूलो रियल इस्टेट कम्पनी कन्ट्री गार्डनले तीन लाखजनालाई रोजगारी दिँदै आइरहेको थियो । कम्पनीका अनुसार पहिलो ६ महिनामा ७.६ अर्ब डलर नोक्सान हुन सक्छ । कम्पनीले हङकङ स्टक एक्स्चेन्ज फाइलिङमा लगानीकर्तालाई चेतावनी दिँदै ६ महिनामा ६.२ अर्ब अमेरिकी डलर नोक्सानी हुने आकलन गरेको छ ।

गत वर्ष यही अवधिमा कम्पनीले करिब २६ करोड ५० लाख डलर कमाएको थियो । यो खुलासाले कन्ट्री गार्डनको आर्थिक संकटलाई उजागर गरेको छ । र, यसको तुलना विश्वकै ठूलो ऋणी रियल इस्टेट कम्पनी एभरग्रान्डेसँग गरिएको छ । यो कम्पनी लगभग हरिकंगाल भइसकेको छ । 

वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारअनुसार चीन आर्थिक गतिविधि निकै सुस्त हुने समयमा प्रवेश गरेको छ । अर्थशास्त्रीहरूका अनुसार चीनले वैदेशिक लगानी र व्यापारलाई खतराको खाडलमा धकेल्दै छ । र, यो संकटको प्रभाव दीर्घकालसम्म रहन सक्छ । कारण, चीनको विकास मोडेल अहिले भताभुंग अवस्थामा छ ।

बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सको तथ्यांकअनुसार सरकार र सरकारी स्वामित्वका कम्पनीका विभिन्न स्तरसहित कुल कर्जा सन् २०२२ सम्म चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब तीन सय प्रतिशत पुगेको छ । यो कर्जाले अमेरिकालाई पनि उछिनेको छ । अमेरिकाको कुल कर्जा सन् २०१२ मा जिडिपीको दुई सय प्रतिशतभन्दा तल थियो । 

देशको राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)का अनुसार २०२३ को दोस्रो त्रैमाससम्म चीनको जिडिपी ५.५ प्रतिशत वृद्धि भएको छ । दोस्रो त्रैमासमा त्यहाँको जिडिपी ८.३ ट्रिलियन डलरम्म पुग्यो, तर त्यहाँको सरकारी मिडियाले भने दोस्रो त्रैमाससम्म कुल जिडिपी ६.३ प्रतिशत बढेको बताएको छ । यसैबीच, चीनले पनि यो वर्ष दोस्रोपटक एलपिआर कर्जा प्रदान दर १० आधार अंकले घटाएर ३.५५ प्रतिशतबाट ३.४५ प्रतिशत पुर्याएको छ । साथसाथै, अर्थतन्त्रमा आर्थिक वृद्धिलाई पुनर्जीवित गर्न पाँचवर्षे दरमा कुनै परिवर्तन गरेको छैन । यस्तो दर अहिले ४.२० प्रतिशत छ । 

चीन आर्थिक गतिविधि निकै सुस्त हुने समयमा प्रवेश गरेको छ । अर्थशास्त्रीहरूका अनुसार चीनले वैदेशिक लगानी र व्यापारलाई खतराको खाडलमा धकेल्दै छ । र, यो संकटको प्रभाव दीर्घकालसम्म रहन सक्छ । कारण, चीनको विकास मोडेल अहिले भताभुंग अवस्थामा छ ।

दशकौँसम्म चीनले कलकारखाना, गगनचुम्बी भवन र सडकमा लगानी गरी आफ्नो अर्थतन्त्र सञ्चालन गर्यो । यो मोडेलले विकासको असाधारण यात्रा तय गर्दै चीनलाई गरिबीबाट बाहिर निकालेर वैश्विक अग्रणी कम्पनीमा परिवर्तन गरिदियो । निर्यात विश्वभर फैलियो । तर, दुर्भाग्य नै भन्नुपर्छ, चीनको यो मोडेल अहिले छरपस्ट भएको छ । 


निजी क्षेत्रमा पनि गिरावट :  हङकङको हाङ सेङ (एचएसआई) मन्दीको चपेटामा छ । गत शुक्रबार जनवरीको उच्चतम स्तरबाट २० प्रतिशतभन्दा बढीले गिरावट आयो । यस्तै, चिनियाँ मुद्रा युआन पनि पछिल्लो १६ वर्षयताकै तल्लो स्तरमा पुग्यो । यो वर्षको सुरुवातमा चीनले कोभिड लकडाउन पूर्ण रूपमा हटाएपछि आर्थिक गतिविधि हुन थाले पनि विकास भने रोकिएको छ । उपभोक्ता मूल्यमा गिरावट आएको छ, रियल इस्टेट संकट गहिरिँदो छ । यस्तै, निर्यातमा पनि गिरावट आएको छ भने बेरोजगारी दर पनि भयावह छ । यही भयले सरकारले तथ्यांक प्रकाशित गर्न बन्द गरेको छ । नोमुरा मोर्गन स्टेनली र बार्कलेजका शोधकर्ताले पहिले गरेको अनुमानमा कटौती गरेका थिए । यसको अर्थ हो, चीन ५.५ प्रतिशतको आफ्नो विकास लक्ष्यबाट चुक्न सक्छ । 

रियल इस्टेट क्षेत्रमा बढ्दो घाटा :  चीनको अर्थतन्त्र अप्रिलयता मन्दीमा छ । तर, यो महिना देशकै ठूलो रियल इस्टेट (घरजग्गा) कम्पनी कन्ट्री गार्डन र शीर्ष ट्रस्ट कम्पनी झोङरोङ डिफल्ट भएपछि चिन्ता बढ्न थालेको छ । कन्ट्री गार्डनले दुई अमेरिकी डलर अनुदानको ब्याज भुक्तानी गर्न सकेको छैन । यसले लगानीकर्तालाई थप तनाव दिएको छ । चीनले रियल इस्टेट बजारलाई पुनर्जीवित गर्न कैयौँ उपाय सुरु गरेको त छ, तर यही क्षेत्रका ठूला कम्पनी पनि अब डिफल्टको स्थितिमा पुगेका छन् । 

स्थानीय सरकारको कर्जा :  चीनलाई अर्को ठूलो चिन्ता भनेको स्थानीय सरकारको कर्जा हो । घरजग्गा कारोबारमा गिरावट आउँदा भूमि बिक्रीबाट आउने राजस्व कम भएको छ । लामो समयसम्म जारी लकडाउनको नकारात्मक प्रभाव पनि चीनमाथि परेको छ । यी र यस्तै कारणले स्थानीय सरकारको कर्जा संकटलाई थप बढाएको छ । यो संकटले चिनियाँ बैंकलाई मात्रै जोखिम पैदा गर्दैन, विकासलाई गति दिने र सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि प्रभावित पार्छ । सरकारले यो क्षेत्रलाई राहत मिल्ने कुनै कदम उठाउन सकेको छैन । अर्थशास्त्री एवं विश्लेषकका अनुसार वैश्विक वित्तीय संकटका वेला चीन आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन खोज्दा कर्जाको बोझले थङथिलो भएको छ । 

जनसंख्या गिरावट पनि चिन्ता :  चीनले केही दीर्घकालीन चुनौतीको सामना गरिरहेको छ । यसमा जनसंख्या संकट, अमेरिका र युरोपजस्ता प्रमुख व्यापारिक साझेदारको तनावपूर्ण सम्बन्धलगायत पर्छन् । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले गरेको एक अध्ययनमा कुल प्रजनन दर गत वर्ष घटेर ऐतिहासिक तल्लो स्तरमा आएको छ । गत वर्ष १.०९ रहेको प्रजनन दर दुई वर्षअघि १.३० थियो । यसरी हेर्दा चीनको प्रजनन दर जापानको भन्दा पनि कम छ । यस्तै, वृद्धहरूको संख्या पनि उच्च छ ।

 मुडिज इन्भेस्टर्स सर्भिसले गरेको एक शोधअनुसार चीनको पुरानो जनसांख्यिकी आर्थिक विकासका लागि चुनौती बनेको छ । श्रम आपूर्तिमा गिरावट तथा सामाजिक खर्च बढ्दा राज्यकोष घाटा हुनेछ र यसले देशको कर्जाबोझ थप बढाउनेछ । 
त्यसो भए चिनियाँ अर्थतन्त्रको भविष्य के त ? : अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार आगामी वर्ष चीनको जिडिपी वृद्धिदर चार प्रतिशतभन्दा कम हुन सक्नेछ । यो विकास दर पछिल्लो चार दशकको अधिकांश समयको तुलनामा आधाभन्दा बढी हो ।

बेलायतस्थित शोध कम्पनी क्यापिटल इकोनोमिक्सका अनुसार चीनको ‘ट्रेण्ड ग्रोथ’ सन् २०१९ मा पाँच प्रतिशतले घटेर तीन प्रतिशत पुग्यो र यो सन् २०३० सम्म घटेर दुई प्रतिशत पुग्नेछ ।माथि उल्लिखित दरमा चीन २०३५ सम्म अर्थतन्त्रको आकारलाई दोब्बर गर्ने उद्देश्यमा चुक्नेछ । यसको अर्थ, विश्वकै ठूलो अर्थतन्त्र अमेरिकालाई चीनले आफ्नो दीर्घकालीन महात्वाकांक्षाअनुरूप उछिन्न सक्दैन । 

सुझावित समाचार