फुकुसिमाको दूषित पानी फाल्ने कदम सही छ ?

बाहिर चर्चामा नआईकन पनि विश्वका धेरै आणविक केन्द्रले ट्रिटियम मिसिएको आणविक केन्द्रका दूषित पानीलाई नियमित रूपमा समुद्रमा छाडिरहेका हुन्छन्

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

जापानले अगस्ट २४ बाट फुकुसिमा आणविक ऊर्जा केन्द्रका आणविक विकिरणयुक्त दूषित पानीलाई प्रशान्त महासागरमा फाल्न थाल्यो र यसलाई आगामी ३० वर्षसम्म निरन्तरता दिनेछ । यस कदमप्रति बेइजिङ, हङकङ, दक्षिण कोरिया र जापानभित्रै पनि केही तप्काबाट विरोध भइरहेको छ । तिनले जापानी कार्यलाई वातावरणीय हिसाबमा अति गैरजिम्मेवारपूर्ण निर्णय भन्दै आलोचना गरेका छन् । ठूलो चर्चाका कारण यी देशमा सार्वजनिक बहसमा जापानका आयातित समुद्री खानामा रेडियोधर्मी अंश हुने डरले डेरा जमाउन पुगेको छ । 

तर, जापानी दूषित पानीको निकासप्रति उब्जिएको प्रतिक्रिया भ्रामक छन्, किनकि फुकुसीमाबाट फालिएको दूषित पानीले चीन र दक्षिण कोरियाका मानिसमा खतरा निम्त्याउँदैन । यसले खासमा समाजमा आणविक प्रविधिप्रति कायम उच्च अविश्वास र दीर्घकालीन रेडियोधर्मी प्रदूषणसम्बन्धी आवश्यक छलफलमा अवरोध पुर्याइरहेको छ । सन् २०११ को आणविक दुर्घटनापछि जापानले फुकुसिमा दाइचीस्थित आणविक ऊर्जा केन्द्रका तातिएको भट्टी चिस्याउन पानी प्रयोग गरिरहेको छ । सो दुर्घटनामा रेडियोधर्मी भट्टीको मुख्य केन्द्र उच्च तापक्रमले पग्लिएको थियो, जुन अझै सेलाइसकेको छैन । यी केन्द्रलाई चिस्याउने क्रममा तिनको सम्पर्कमा आएका चिसो पानी विभिन्न रेडियोधर्मी तत्व दूषित भए ।

हालसम्म जम्मा भएको लगभग १३ लाख टन दूषित पानी १००० वटा ट्यांकीमा भण्डारण गरिएको छ ।जापान भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले यी रेडियोधर्मी पानी राखिएका ट्यांकीमा उच्च जोखिमपूर्ण छन् । भूकम्पले यी ट्यांकीलाई क्षति पु¥याउने हो भने यसले वरपरको स्थल वातावरणलाई दूषित गर्न सक्छ ।

जापानी अधिकारीहरूले यस जोखिमलाई रोक्न र नयाँ परिमाणका दूषित पानीका लागि भण्डारण ठाउँ खाली गर्न दूषित पानीलाई समुद्रमा फाल्ने निर्णय गर्यो । जापानले दूषित पानीलाई महासागरमा निकास दिनुअघि तिनमा रहेको रेडियोधर्मी अंशलाई हटाउन जटिल प्रणाली अवलम्बन गरेको छ । तथापि, यस प्रणालीबाट पनि हाइड्रोजनको एक रेडियोधर्मी वर्ग ट्रिटियम भने छानिँदैन र त्यो पानीमै रहन्छ । अन्तमा पानीलाई समुद्रमा छोड्नुअघि प्रशोधित पानीमा थप शुद्ध पानी हालेर यसको रेडियोधर्मीको स्तरलाई विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको पिउनेपानीको सुरक्षा मापदण्डभन्दा तल ल्याइएको जापानले बताएको छ ।

 जापानको दूषित पानी फाल्ने निर्णयको अल्पकालीन प्रभावहरू नगण्य भए पनि यसको दीर्घकालीन र प्रतीकात्मक प्रभाव छन् । आणविक उद्योगले हाम्रो पर्यावरणलाई जति पनि रेडियोधर्मी फोहोर विसर्जन गर्न सकिने ठाउँको रूपमा हेर्ने गरेका छन् । यद्यपि, पर्यावरण ती उद्योगले सोचेजस्तो न अथाह छ न त निष्क्रिय छ । 

रेडियोधर्मी तत्वबाट प्रदूषित पानी प्रशान्त महासागरमा फालेपछि विभिन्न विरोधका बाबजुद मूलभूमि चीन र हङकङले जापानी समुद्री खानाको आयातमै प्रतिबन्ध लगाएको छ । तर, जापानको योजनाको प्राविधिक पक्ष र आणविक उद्योगले पालना गर्ने नियमित प्रोटोकलमा नजिर लाउँदा यी डर निराधार देखिन्छन् । संयुक्त राष्ट्र संघको आणविक निगरानी संस्था ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)’ले दूषित पानीको स्वतन्त्र नमुना र विश्लेषणसहित योजनाको विस्तृत समीक्षा गरेको छ । सम्पूर्ण पानी नफालिएसम्म आइएइएले यसको निगरानी जारी राख्नेछ । एजेन्सीले उसको पछिल्लो प्रतिवेदनमा, महासागरमा फालिएको फुकुसिमाको दूषित पानीले ‘मानिस र वातावरणमा नगण्य रेडियोधर्मी प्रभाव पार्ने’ निष्कर्ष निकालेको छ । 

उलेखनीय कुरा के छ भने, जापानको घटनाजस्तो बाहिर चर्चामा नआईकन पनि विश्वका धेरै आणविक केन्द्रले ट्रिटियम मिसिएको आणविक केन्द्रका दूषित पानीलाई नियमित रूपमा समुद्रमा छाडिरहेका हुन्छन् । उदाहरणका लागि, दक्षिण कोरियाको कोरी आणविक ऊर्जा केन्द्रले वार्षिक रूपमा फुकुसिमा आणविक केन्द्रले अहिले फालेको पानीको भन्दा चार गुणा बढी ट्रिटियमयुक्त दूषित पानी समुद्रमा फाल्दै आएको छ । फ्रान्सको ‘ला हेग आणविक केन्द्र’ले बर्सेनि इंग्लिस च्यानलमा फुकुसिमाले अहिले फालेको भन्दा ५०० गुणा बढी ट्रिटियम मिसिएको पानी फाल्ने गरेको छ । चीन र हङकङले दूषित पानीको डरले समुद्री खाद्यान्न आयात प्रतिबन्ध गर्ने कार्यले अरू नै महत्वपूर्ण तथ्यमा प्रकाश पारेको छ ।

समुद्रमा दूषित पानी फाल्ने निर्णयमा केही हदसम्म भूराजनीतिको पनि हात छ । चीन र जापानबीच राजनीतिक तनाव रहेकाले चीनले यस कदममा चर्को विरोध जनाएको हो भन्ने बुझ्न सकिन्छ । जापानसँग सुमधुर सम्बन्ध रहेका पश्चिमी देशहरूले यस कार्यको सहमति जनाएका छन् । तर, आइएइएको अनुमोदनका बाबजुद चिनियाँविज्ञसमेत जापानी योजनाप्रति शंकालु रहिरहेको तथ्यले भने राजनीतिबाहेक अरू पक्षमा पनि प्रकाश पार्छ ।

विद्वान्हरूले वर्णन गरेझैँ, साँच्चै नै पश्चिम र चीनबीच तथ्यगत यथार्थलाई हेर्ने नजरमा समेत फरकपन आउन थालेको छ । यो कुरा दुवै पक्षका विज्ञ सहमत हुने अपेक्षा गरिने विज्ञान सम्बन्धित घटनामा समेत देखिँदै छ । कोभिड– १९ भाइरसको उत्पत्तिदेखि अमेरिकाको आकाशमा देखिएको चिनियाँ बेलुनले निम्त्याएको संकटसम्मले चीन र पश्चिमबीचको बढ्दो दृष्टिकोणको खाडललाई चिह्नित गर्छ । फुकुसिमा आणविक केन्द्रको पानी फाल्ने निर्णयप्रति विरोधाभासपूर्ण धारणा यही चिन्ताजनक प्रवृत्तिको पछिल्लो उदाहरण मात्र हो ।

जापानी समुद्री खाद्यान्न आयातमा प्रतिबन्ध लगाउने हङकङ सरकारको निर्णय आइएइएको वैज्ञानिक निष्कर्षसँग बाझिएको छ । सम्भवतः मानिसहरूको मनमा आणविक प्रविधिजत्तिको डर विरलै अन्य प्रविधिले सिर्जना गर्छ । अधिकारीहरूले वैज्ञानिक तथ्य देखाएर यो प्रविधि सुरक्षित रहेको सुनिश्चित गर्दा पनि डर पूरै हटेको देखिँदैन । हङकङमा रेडियोधर्मी विकिरण पहिचान गर्ने उपकरणको खरिदमा भएको नाटकीय वृद्धिले यसैको संकेत गर्छ । तर, आयातित आणविक बिजुलीको अंश बढाउन विचार गरिरहेको हङकङका लागि यो चिन्ताजनक अवस्था हो । हङकङ आफैँ 
कैयौँ आणविक उर्जा केन्द्रले घेरिएको छ, जसले नियमित रूपमा ट्रिटियमयुक्त दूषित पानी निकाल्छन् । सरकारले आणविक प्रविधिको आमस्वीकारोक्तिका लागि सार्वजनिक बहस सुरु गर्न आवश्यक छ । 

अन्तमा, जापानको दूषित पानी फाल्ने निर्णयको अल्पकालीन प्रभाव नगण्य भए पनि यसको दीर्घकालीन र प्रतीकात्मक प्रभाव छन् । आणविक उद्योगले हाम्रो पर्यावरणलाई जति पनि रेडियोधर्मी फोहोर विसर्जन गर्न सकिने ठाउँको रूपमा हेर्ने गरेका छन् । यद्यपि, पर्यावरण ती उद्योगले सोचेजस्तो न अथाह छ न त निष्क्रिय नै छ । बढ्दो संख्यामा विशेषज्ञहरू ट्रिटियमजस्ता रेडियोधर्मी तत्वको पर्यावरणमा विशाल सञ्चयलाई लिएर चिन्तित छन् । ट्रिटियम आधुनिक थर्मोन्युक्लियर हतियारको एक मुख्य तत्व हो भने यो आणविक विद्युत् उत्सर्जनको सहउत्पादन पनि हो । आणविक उद्योगले धेरैभन्दा धेरै ट्रिटियम उत्पादन गर्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले ट्रिटियम प्रदूषण नियन्त्रण गर्ने नीति र प्राविधिक समाधान पहिल्याउनैपर्छ । तत्काल हानि नगरे पनि १३ लाख टन रेडियोधर्मी दूषित पानी महासागरमा फाल्ने जापानको निर्णयले पर्यावरण अथाह छ र यसले आणविक प्रदूषणप्रति निष्क्रिय छ भन्ने खतरनाक भ्रम फैलाउँछ ।
– साउथ चाइना मर्निङ पोस्टबाट
 

सुझावित समाचार