एसिया कपको नेपाल र पाकिस्तानबीचको खेलका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजे नै विद्यालयमा बिदा दियो । सामुदायिक विद्यालयका शिक्षक, संस्थागत विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सनसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन तथा खेलप्रति विद्यार्थीको भावना जागृत गराउने उद्देश्यले विद्यालयमा चाँडै बिदा दिइएको मेयर मनोजकुमार साहले बताए । उनले नेपाल पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु गौरवको विषय रहेको बताए ।
‘विद्यार्थीमा पनि खेलकुदप्रति रुचि बढोस् भन्ने उद्देश्यले २ बजेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो,’ उनले भने । सामान्यतः विद्यालयमा दिउँसो ४ बजे बिदा हुन्छ । जनकपुरधाम उपमहानगरपालिकामा ५२ सामुदायिक र करिब एक सय संस्थागत विद्यालय छन् ।
क्रिकेटप्रेमीले जनकपुरधामका विभिन्न चोकमा प्रोजेक्टर राखेर ठूलो स्क्रिनमा नेपाल र पाकिस्तानबीचको म्याचको प्रत्यक्ष प्रसारण हेरेका थिए । गिरिजा सिनेमा हल, रामजानकी सिनेमा हलले पनि खेलको प्रत्यक्ष प्रसारण गरेका थिए ।