हामी सबै नर्कमा जानेछौँ । तर, नर्कमा हामी सबैभन्दा राम्रो स्थानमा हुनेछौँ,’ वाग्नर समर्थित ग्रे जोन टेलिग्राम च्यानलमा २२ अगस्टको राति प्रकाशित एक अन्तर्वार्तामा मृत्युप्रति आफ्नो धारण राख्ने क्रममा येवगेनी प्रिगोजिनको टिप्पणी यस्तो थियो ।कुनै उल्लेखनीय परिघटना देखा परेन भने रुसी रिपोर्टअनुसार येवगेनी गत बुधबार दिउँसो मस्कोबाट सेन्ट पिटर्सबर्ग जाने क्रममा रुसी क्षेत्र टिभरको एक विमान दुर्घटनामा मरिसके । करिब एक वर्षपहिले जब उनको निजी सैन्य कम्पनी वाग्नरले युक्रेनमा लड्न रुसी जेलका कैदीलाई भर्ती गरिरहेको भिडियो बाहिरियो । त्यसले उनलाई युक्रेन युद्धको एउटा महत्वपूर्ण रुसी खेलाडीको रूपमा स्थापित गर्यो साथै उनको कुख्याति पनि अन्तर्राष्ट्रिय रूपमा नै स्थापित भयो ।
उनको कुख्याति जब वाग्नरले नौ महिनाको रक्तपातपूर्ण लडाइँपछि पूर्वी युक्रेनको बाख्मुत सहरलाई गत मेमा प्रतीकात्मक कब्जा गर्दा शिखरमा चुलियो । बाख्मुत युद्धको क्रममा प्रिगोजिन रुसका शीर्ष सैन्य नेतृत्वको आलोचनामा मुखर रहे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत परोक्ष रूपमा आलोचना गर्न भ्याए ।
त्यसपछि त्यहाँ असफल विद्रोह भयो । जुनको अन्त्यमा प्रिगोजिन नेतृत्वको सशस्त्र विद्रोह रुसको दक्षिणी सहर रोस्तोभ–अन–डोन स्थित रुसी सेनाको मुख्यालयलाई कब्जामा लिएर रसियाका रक्षामन्त्री सर्गेई सोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई अपदस्त गर्न माग गर्दै मस्कोतर्फ अघि बढ्दा सारा विश्वले उनको कदमलाई सास रोकेर हेरेको थियो । प्रिगोजिनले आफ्नो विद्रोहलाई मस्कोबाट करिव २०० किलोमिटर वरै रोके र राष्ट्रपति पुटिनले उनलाई माफी दिएको बताइयो (जसले एकदिन पहिले मात्रै सबै राष्ट्रघातीलाई दण्डित गरिने अभिव्यक्ति दिएका थिए) । तर, कुन परिस्थितिमा उनले विद्रोह रोकेका थिए, त्योचाहिँ अझै प्रस्ट भइसकेको छैन । प्रिगोजिनलाई बेलारुस जाने सुरक्षित मार्ग उपलब्ध गराइयो । माफीको संकेत गर्ने गरी उनीविरुद्ध लगाइएका आपराधिक आरोप पनि फिर्ता गरिए ।
रुसी समाचार रिपोर्टका अनुसार दुर्घटनास्थलमा १० वटा शव फेला परेका छन् र यात्रुहरूको सूचीले प्रिगोजिनका साथै वाग्नर संस्थापक दिमित्री उत्किन पनि विमानमा सवार रहेको देखाउँछ । अन्य मृतकमा वाग्नर समूहका अन्य शीर्ष व्यक्ति छन् । प्रिगोजिनले कथं आफ्नो मृत्यु भएको अवस्थामा समूहको नेतृत्व कसले गर्ने भन्नेबारे आकस्मिक योजना बनाएका थिए भनिन्छ । तर, दुर्घटनाग्रस्त विमानमा अन्य प्रमुख वाग्नर सदस्यहरू पनि देखिँदा (उनीहरूको मृत्युले) यो संगठन नेतृत्वविहीन बनेको संकेत गर्छ । चाखलाग्दो विषय के भने प्रिगोजिन, उत्किन र अन्य वरिष्ठ वाग्नर कमान्डरहरूले कुनै पनि महत्वपूर्ण संगठनका सबै सदस्यले एउटै विमानमा यात्रा गर्नु नहुने नियमलाई बेवास्ता गर्नुले उनीहरू रुसमा आफ्नो सुरक्षालाई लिएर एकदमै विश्वस्त थिए भन्ने देखिन्छ ।
रुसी राष्ट्रपतिले जोखिम बढाएका छन्, किनकि उनको सत्तालाई हाँक दिनेसँग अब अन्तिमसम्म लड्नुको विकल्प हुनेछैन
रुसले यो दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ । केही रुसी टिप्पणीकार विमानमाथि आतंकवादी हमला गरिएको टिप्पणी गर्दै छन् । वाग्नर आबद्ध टेलिग्राम च्यानलचाहिँ जमिनबाट हावामा प्रहार गर्ने रुसी मिसाइलले विमानलाई खसालेको दाबी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अपराधका पछाडि कसको हात हुन सक्छ भन्ने प्रश्नमा ‘रुसमा पुटिनको हात नभएको घटना बिरलै हुन्छ । तर, यसबारे मलाई पर्याप्त जानकारी छैन’ भनेर प्रतिक्रिया दिइसकेका छन् ।
प्रिगोजिन मारिएको यो विमान दुर्घटना परित्यक्त असफल विद्रोहको दुई महिना पुगेको भोलिपल्ट भएको छ ।
वार्षिकोत्सव र अन्य महत्वपूर्ण तिथिमितिप्रतिको पुटिनको आसक्तिलाई हेर्दा यो विमान खसाल्नुको पछाडि उनको संलग्नता नरहेको विश्वास गर्न कठिन हुन्छ । प्रिगोजिन त्यसै दिन मारिए, जुन दिन असफल विद्रोहपछि बेपत्ता रहेका सर्गेई सुरोभिकिनलाई आधिकारिक रूपमा वायुसेना कमान्डरको जिम्मेवारीबाट मुक्त गरिएको थियो । यसले पुटिनले प्रिगोजिनसँग निपट्नुअघि सुरोभिकिनसँग निपटेर अधुरा उद्देश्य पूरा गरेको देखाउँछ । यो सुरोभिकिनमार्फत प्रिगोजिनले अझै पनि सेनाबाट सहयोग पाउन सक्ने पुटिनको डरसँग जोडिएको हुन सक्छ ।
वाग्नर समर्थित टेलिग्राम च्यानलहरूको मनस्थिति राम्रो छैन । ग्रे जोन च्यानलले जसले प्रिगोजिनको हत्या गरे, ती ‘रुसका गद्दार’ हुन् भनेको छ । रुसी सैन्य ब्लगर रोमन सपोनकोभ लेख्छन्, ‘प्रिगोजिन हत्याको परिणाम विनाशकारी हुनेछ । आदेश दिनेहरूले सेनाको मनस्थिति बुझेका छैनन् ।’ वाग्नरसम्बद्ध अन्य च्यानलले दोस्रो विद्रोहको धम्की दिइरहेका छन् ।
प्रिगोजिनको अवसानपछि पुटिनको स्थिति बलियो हुन्छ कि हुँदैन भन्ने कुराको निर्धारण गर्नमा आगामी केही दिन महŒवपूर्ण हुनेछन् । उनको अवज्ञा गर्न खोज्ने जोकोहीलाई एउटा स्पष्ट सन्देश सम्प्रेष गरिएको छ : उनीहरू जतिसुकै शक्तिशाली हुन्, तिनको अवसान हुनेछ, ती मारिनेछन् । तर, बाँचेका वाग्नरियनहरू लुकासेन्को र पुटिनले प्रिगोजिनसँग गरेका वाचा तोडेको रूपमा व्याख्या गर्न रुचाउँछन् । ‘यदि कसैले विद्रोह गर्न खोज्छ भने उसले विद्रोहलाई अन्तिम निष्कर्षमा नै पु¥याउने गरी सोच्नुपर्छ । यसको पाठ यही हो,’ प्रो–वाग्नर टेलिग्राम च्यानल डिएसएचआरजी लेख्छ । यसले भविष्यका कुनै पनि विद्रोहीसँग रुसी नेताको वार्ताको विश्वसनीयतालाई राम्रो गर्दैन । विडम्बना त के भने पुटिनको सबैभन्दा गम्भीर खतरा त टरेको छ, तर रुस भने पहिलेभन्दा अझ बढी अस्थिर हुन सक्ने खतराचाहिँ बढेको छ ।
(समन्था चाथम हाउसमा रुस र युरेसिया कार्यक्रमकी सहायक फेलो रहेकी छिन्)– द गार्जियनबाट