बारम्बार सुरक्षा त्रुटि भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सुधारका लागि पहल अघि बढाएको छ । सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । सोमबार पहिलो बैठक बसेर कार्यदलले काम सुरु गरेको छ । प्रतिवेदन बुझाउन कार्यदललाई १५ दिनको समय दिइएको छ ।
कार्यदलमा अर्थ, गृह, रक्षा र पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्य छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, अध्यागमन विभाग र भन्सार विभागका महानिर्देशकहरू तथा नेपाल प्रहरीका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक पनि सदस्य छन् ।
ठूलो मात्रामा सुन तस्करी भएपछि पछिल्लो समय विमानस्थलको सुरक्षा प्रणालीमा प्रश्न उठेको थियो । गत ३१ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थलको सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीले कार्यदल गठन गरिने र त्यसको प्रतिवेदनका आधारमा विमानस्थलको सुरक्षा प्रबन्धहरूमा हेरफेर गर्ने जानकारी दिएका थिए ।
विमानस्थलमा सरकारी निकायबीच नै राम्रो समन्वय नहुँदा पटक–पटक त्रुटि हुँदै आएको छ । विगतदेखि नै भन्सारको जाँचपासमा प्रहरीलाई सहभागी गराउन माग हुँदै आएको छ । तर, अर्थ मन्त्रालयको असहमतिले रोकिने गरेको छ । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको प्रतिनिधित्व गराउन मन्त्रिपरिषद्मा प्रस्ताव राखेका छन् । कार्यदलको प्रतिवेदनका अधारमा यस विषयमा निर्णय हुने सम्भावना रहेको स्रोत बताउँछ । विमानस्थलमा केही निकायको जिम्मेवारी थपघट गर्ने तयारी भइरहेको छ ।