बागमतीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेशका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न न्यायिक सहजकर्ता नियुक्त गर्ने भएको छ।

यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकाहरूमा न्यायिक सहजकर्ता नियुक्तिका लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ।

प्रदेशको ११ वटा जिल्लाका ७१ वटा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सचिव ध्रुव गैँडाले जानकारी दिए। सचिव गैँडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिका लागि मंगलबार सूचना प्रकाशन गरेको हो।

मन्त्रालयले न्यायिक सहजकर्ताहरूलाई करारमा नियुक्त गर्न लागेको सचिव गैँडाको जानकारी दिए। उनले सम्बन्धित गाउँपालिकाहरूको समन्वयमा प्रतिपालिका एकजना सहजकर्ता नियुक्त गर्ने गरी सूचना जारी गरिएको बताए।

गाउँपालिकाहरूमा रिक्त रहेका सहायकस्तर पाँचौँ तहमा न्यायिक सहजकर्ताको पद पूर्तिका लागि ०८१ असार मसान्तसम्मका लागि करारमा पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाइ छ। 

स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको हो।

तर, प्रदेशका तीनवटा गाउँपालिकाहरूले भने प्रदेश सरकारमार्फत न्यायिक सहजकर्ता नियुक्त नगर्ने जनाएका छन्। सचिव गैँडाका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन्। 

उनले ती गाउँपालिकाहरूले आफ्नै स्रोतबाट न्यायिक सहजकर्ता नियुक्त गर्ने गरी प्रदेश सरकारमार्फत माग नगरेको बताए।

सचिव गैँडाका अनुसार उक्त पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरूलाई प्राथमिकता दिइनेछ। उक्त पदका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिन सक्ने बताइएको छ।
 

सुझावित समाचार