ऊर्जा विकास मार्गचित्रमा निजी क्षेत्रका अपेक्षा

मार्गचित्र ल्याउँदा विद्युत् उत्पादनको लक्ष्यअनुसार अधिकतम बजेट र प्रसारण लाइन तथा सबस्टेसनलाई समेत बजेट व्यवस्था गरी समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुपर्छ

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

यति वेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ऊर्जा विकाससम्बन्धी नयाँ मार्गचित्र (रणनीति) ल्याउने तयारीमा छ । यसअघि पनि पटक–पटक ऊर्जा विकाससम्बन्धी विभिन्न नीति आएका थिए । तर, त्यसको कार्यान्वयन भने राम्रो भएन । अहिले सरकारले सन् २०३५ लाई लक्षित वर्ष  मानेर ऊर्जा क्षेत्रको विकासका लागि नयाँ मार्गचित्र बनाउँदै छ । यो क्षेत्रको विकासका लागि सरकारले केही प्रभावकारी नीति ल्याउनुपर्छ भन्ने माग निजी क्षेत्रको पनि थियो । त्यो मार्गचित्र ल्याउने प्रक्रियामा सरकार गएको छ । यो स्वागतयोग्य विषय हो । साथै, यसको सफल कार्यान्वयन हुनेमा आशावादी पनि छौँ । 

निजी क्षेत्रले उठाउँदै आएका केही मुद्दा उक्त मार्गचित्रले सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो माग छ । नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । जलविद्युत् उत्पादनमा त निजी क्षेत्रको हिस्सा आधाभन्दा बढी छ । समग्रमा निजी क्षेत्रको उपस्थिति विनाऊर्जा क्षेत्रको विकास सोचेअनुरूप गर्न सम्भव छैन । तर, ऊर्जा विकासमा ठूलो योगदान गर्दै आएको निजी क्षेत्रले भने विभिन्न समस्या झेल्दै आएको छ । मन्त्रालयले बनाउन लागेको उक्त मार्गचित्रले त्यस्ता समस्यालाई समाधान गर्ने गरी विभिन्न नीतिगत व्यवस्था गर्छ भन्नेमा निजी क्षेत्र आशावादी छ । 

ऊर्जा क्षेत्रका समस्या :  अहिले लगानी अभाव, स्थानीयको अवरोधलगायतका कारण जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसन निर्माणमै समस्या छ । आयोजनासम्म पहुँच मार्ग बनाउन पनि समस्या छ । त्यसमाथि जग्गा खरिदमा हुने हदबन्दीका कारणले पनि हामीलाई काम गर्न गाह्रो भएको छ । प्रोबाबिलिटी अफ एक्सिडेन्स अर्थात् पिओई आधारमा विद्युत् खरिद बिक्रीको दररेट निर्धारणमा नीतिगत व्यवस्था पनि छैन । 

यस्तै, १०० मेगावाटभन्दा माथिका आयोजनाहरूमा १७ प्रतिशतको रिर्टन अन इक्युटीको प्रावधानले बैंक ऋण तथा स्वलगानीमा समस्या भइरहेको छ । साथै, अहिले विद्युत् खपत नहुने समस्या पनि देखिएको छ  । उत्पादन भएको विद्युत् खेर गइरहेका छन् । बजार खोजी गर्ने विषयमा उचित कदम उठाउन सकिएको छैन । विद्युत्को बजार विस्तार भएको छैन । निजी क्षेत्रले विद्युत् व्यापार गर्छु भन्दा पनि नदिएको अवस्था छ । समय सापेक्ष विद्युत् ऐन जारी गर्न सकिएको छैन । 

अहिले एउटा आयोजना बनाउनुपरे सरकारी प्रक्रिया पूरा गर्न सात मन्त्रालय, २३ विभाग र सयौँ टेबल धाउनुपर्ने बाध्यता छ । ऊर्जा, वन, भूमिसुधार, अर्थ, गृह, उद्योग र रक्षाजस्ता सरोकारवाला मन्त्रालयबीच समन्वय हुन सकेको छैन । वन तथा वातावरणसम्बन्धी नीतिनियम तथा ऐन कानुन विद्युत् विकासमैत्री छैनन् । यस्तै, सरकारी जग्गा प्राप्ति तथा रुख कटानका लागि मन्त्रिपरिषद्बाट पारित भएपछि पनि कार्यान्वयनमा समस्या आइरहेको छ । एकातिर ०७६ सालदेखि आरओआर आयोजनाको पिपिए रोकिएको छ । बीचमा कोटा थप गरेर १५ सय मेगावाटको पिपिए खुलाइएको छ । तर, अझै  १२ हजार मेगावाट क्षमताका आयोजनाको पिपिए हुन सकेको छैन । भएकै पिपिए र ग्रिड कनेक्सन सम्झौता पनि राम्रोसँग कार्यान्वयन भएको छैन । 

त्यसमाथि लामो समयदेखि पिपिएदर परिवर्तन भएको छैन । पिपिएदर स्थिर हुँदा स्वाभाविक रूपमा आयाजनाहरूको आम्दानी पनि फिक्स्ड नै हुन्छ । तर, बैंकको ब्याजदर भने परिवर्तनशील छ । यस्तै, स्थानीयस्तरबाट आयोजनामा हुने आक्रमणका घटनाले पनि निजी क्षेत्र निरुत्साहित भएको छ । यस्ता समस्याले जलविद्युत्को विकास गर्न बाधा भइरहेको छ । यस्ता समस्यालाई समाधान गर्ने गरी ऊर्जा विकासको मार्गचित्र ल्याउनुपर्छ । 

के हो त समाधान ? :  ऊर्जा विकासमा देखिएका यस्ता समस्यालाई समाधान गर्न सरकारले ऊर्जा संकटकाल नै घोषणा गर्नुपर्छ । जलविद्युत्को विकासमा वन, वातावरण, भूमिसम्बन्धी कानुनले बाधा पु¥याउँदै आएको छ । अब ऊर्जा संकटकाल लगाएर उक्त कानुनमा भएका बुँदा खारेज गरी निजी क्षेत्रका प्रवद्र्धकहरूलाई केही समय निर्वाध रूपमा काम गर्न दिनुपर्छ । यो विषय संसद्बाट नै अनुमोदन गर्नुपर्छ । साथै, तत्काल विद्युत् ऐन जारी गरेर समय सान्दर्भिक बनाउनुपर्छ । त्यसमार्फत निजी क्षेत्रलाई आन्तरिक तथा बाह्य विद्युत् व्यापार गर्न अनुमति दिने व्यवस्था गर्नुपर्छ । 

वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ लाई संशोधन गर्न बनेका केही नेपाल ऐन संशोधन प्रस्तावलााई संशोधन गर्नुपर्छ । त्यसले ल्याएका नीतिका कारण हामीले ऊर्जा क्षेत्रबाट हात झिक्नुपर्ने अवस्था आउन सक्छ । यसमा सरकारको ध्यान जान आवश्यक छ । यसैगरी, सात मन्त्रालय, २३ विभाग र सयौँ टेबुल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न एकद्वार प्रणालीको व्यवस्था गर्नुपर्छ । यस्तै, वन क्षेत्रको जग्गा उपयोग र रुख कटानको स्वीकृत आइइई र इआइएअनुसार जिल्ला वन कार्यालयले स्वीकृति दिने व्यवस्था गर्नुपर्छ । आइइई र इआइएमा उल्लेख भएअनुसार रुख कटानी गर्न पुनः स्वीकृति लिने व्यवस्था र यसमा भएका झन्झटिला प्रक्रिया पनि हटाउनुपर्छ । अहिले परियोजना निर्माणमा आउने ठूलो बाधा वन र वातावरणसम्बन्धी पनि हो । तसर्थ, यसबारे सरकारले गम्भीर रूपमा सोच्न आवश्यक छ । 

निजी क्षेत्रलाई जलविद्युतमा प्रोत्साहन गर्न आयोेजना निर्माण सम्पन्न भएको १० वर्षसम्म शतप्रतिशत र बाँकी १० वर्ष ५० प्रतिशत कर छुट दिने नीति ल्याउनुपर्छ । साथै, आयोजनाका अनुमति–पत्रको समयावधि ५० वर्ष बनाउनुपर्छ । अहिले ३० वर्षको लाइसेन्स अवधि हुँदा प्रवद्र्धकहरूले उचित प्रतिफल लिन सकेका छैनन् । तसर्थ, लाइसेन्सको समयावधि बढाउनुपर्छ । सम्पूर्ण विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता पनि तत्काल खुलाउनुपर्छ । यति मात्र होइन, विद्युत् खपत वृद्धिका लागि गुणस्तरीय तथा सर्वसुलभ विद्युत् वितरण प्रणाली बनाउने, विद्युत् आयोजनाहरूमा विशेष सुरक्षा व्यवस्था गरिदिने, सेयरको लकिङ पिरियड हटाउने र आयोजनाको अवधिपछि सर्वसाधारणको लगानी स्पष्ट पार्ने विषय पनि ऊर्जा विकास मार्गचित्रमा आउनुपर्छ । 

एउटा आयोजना बनाउनुपरे सरकारी प्रक्रिया पूरा गर्न सात मन्त्रालय, २३ विभाग र सयौँ टेबल धाउनुपर्ने बाध्यता छ । ऊर्जा, वन, भूमिसुधार, अर्थ, गृह, उद्योग र रक्षा मन्त्रालयबीच समन्वयन पनि छैन ।
 

कस्तो आउनुपर्छ मार्गचित्र ? :  सरकारले ऊर्जा विकासको मार्गचित्र ल्याउने भएमा त्यसलाई सफल रूपमा कार्यान्वयन गर्न उचित बजेटको पनि व्यवस्था गर्नुपर्छ । सरकारले अब जति विद्युत् उत्पादन गर्ने लक्ष्य लिन्छ, सोहीअनुसार अधिकतम बजेटको व्यवस्था गर्नुपर्छ । साथै, आवश्यकताअनुसार प्रसारण लाइन तथा सबस्टेसनमा पनि चाहिने बजेट व्यवस्था गरी समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ । 

यसैगरी, आगामी दिनमा निजी क्षेत्रलाई विद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई प्रसारण लाइन र सबस्टेसनजस्ता पूर्वाधार निर्माणमा प्रोत्साहन गर्नुपर्छ । जलविद्युत् विकासको जिम्मेवारी निजी कम्पनीलाई नै दिँदा राम्रो हुन्छ । निजी क्षेत्रले काम गर्दा कम लागतमा छिटो आयोजना बनाउन सक्छन् । त्यसले लागत कम पर्न जान्छ । प्रसारण लाइन निर्माणमा प्राधिकरणसँग अनुभव पनि छ । तसर्थ, यसमा प्राधिकरण नै बढी अग्रसर हुनुपर्छ । 

अहिले प्रसारण लाइनलगायतका पूर्वाधार पर्याप्त नहुँदा धेरै ट्रिपिङ, विद्युत् जाने समस्या छन् । तसर्थ, यसलाई बेवास्ता गर्नुहुँदैन । उत्पादन र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाउनुपर्छ । साथै, जलविद्युत् र प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सहज रूपमा स्वीकृति गर्ने नीति ल्याउनुपर्छ । 

आयोजनाको स्थायी तथा अस्थायी संरचना निर्माणका लागि आवश्यक जग्गा कम्पनीले यकिन गरेपछि सरकारले उचित मुआब्जा तोकेर जग्गा अधिग्रहणमा पहल गरिदिनुपर्ने हुन्छ । स्थानीय जनतालाई प्रत्यक्ष रूपमा सेवा पुग्ने गरी पहुँच सडक मार्गको छनोट गर्नुपर्ने र सो निर्माणको क्रममा स्थानीय, प्रदेश तथा संघीय सरकारकोसमेत सहलगानीमा निर्माण गर्नुपर्ने नीति मार्गचित्रमा आउनुपर्छ । 

यस्तै, सरकारले विद्युत् खपतका लागि ठूला उद्योगहरू (जस्तै सिमेन्ट, फर्टिलाइजर, मल, फलाम र डन्डी आदि) स्थापनामा विशेष जोड दिनुपर्छ । साथै, त्यहाँ विद्युतीय पूर्वाधार पनि बनाइदिनुपर्छ । विद्युत् खपतको वृद्धिसँगै ग्रार्हस्थ तथा ठूला उद्योगहरूले तिर्नुपर्ने विद्युत् महसुलदर पनि घटाउनुपर्ने आवश्यकता पनि देखिएको छ । यसैगरी, सरकारले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी बैंक तथा वित्तीय संस्थाहरूले ऊर्जा क्षेत्रमा गर्नुपर्ने न्यूनतम लगानीको प्रतिशतमा वृद्धि गर्नुपर्ने व्यवस्था पनि यसैमार्फत ल्याउनुपर्छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गरेका सबस्टेसनलाई नेपाल विद्युत् प्राधिकरणले समन्वय गरी आयोजनाबाट उत्पादित विद्युत् कनेक्सन विन्दुमा नै मिटरिङको व्यवस्था गर्नुपर्ने नीति ल्याउनुपर्छ ।
(डाँगी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष हुन्)

सुझावित समाचार