अर्ब लगानीमा दसैँअघि खुल्दै ‘सिद्धार्थ भिलासा बन्बास’

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दसैँअघि नै सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो । यो ब्रान्डमा भैरहवामा पाँचतारे होटेल सञ्चालनमा आइसकेको छ । स्थानीय व्यवसायी वासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ हस्पिटालिटीले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । 

रिसोर्टमा रहेका २२ भिल्लामा ३४ कोठा छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा पाहुनाले रिसोर्टपरिसरमै रहेको तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसारनजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायतका गतिविधि पनि गराउनेछ । रिसोर्टमा स्विमिङ पुल, मसाजसहितको स्पा पनि रहनेछ । 

न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टीकापुरमा सानो व्यवसायबाट सुरु गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ । यसअघि २५औँ वर्षगाँठ पारेर भैरहवामा साढे दुई अर्ब लगानीमा ग्रुपकै पहिलो पाँचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा आइसकेको छ । भैरहवाको अञ्चलपुरमा रहेको होटेल करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ’एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारीसमेत गरिरहेको छ । ग्रुपले नेपालगन्ज, सुर्खेत, कपिलवस्तुको चन्द्रौटा, चिसापानी, पृथ्वी राजमार्गको चुम्लिङटार, काठमाडौंको बौद्ध, बिर्तामोड, नुवाकोट, टीकापुर, सुन्धारालगायत स्थानमा विभिन्न श्रेणीका होटेल तथा रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

यस्तै, बुटवल, नेपालगन्ज, तिनकुने, धोबीघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगन्जमा दुईवटा तथा तिनकुने र नेपालगन्जमा एक–एकवटा गरी चारवटा एस क्याफेको आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । ग्रुपअन्तर्गत दुई हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको सिइओ न्यौपानेले बताए ।

सुझावित समाचार