११ खेलपछि अमेरिकी लिगमा मियामीको जित

अमेरिकाको शीर्ष डिभिजन मेजर सकर लिगमा लियोनल मेसीले रेड बुल्सविरुद्ध ६०औँ मिनेटमा डेब्यु गरे, उनले खेलको ८९औँ मिनेटमा गोल गर्दै मियामीलाई ११ खेलपछि जित दिलाए

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

इन्टर मियामीले अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस)मा ११ खेलपछि जित निकालेको छ । शनिबार राति भएको लिगमा मियामीले एनवाई रेड बुल्सलाई २–० ले पराजित गरेको हो । रेड बुल्सविरुद्ध लियोनल मेसीले एमएलएस लिगमा डेब्यु गरे । उनी डेब्यु खेलको ८९औँ मिनेटमा गोल गर्न सफल भए । यसअघि मियामी लगातार ११ खेलमा पराजित भएको थियो । गत महिना मेसीलाई अनुबन्ध गरेलगत्तै मियामीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनी खेलाडीको आगमनपछि मियामीले हारको सामना गरेको छैन । 

गत साता मात्रै मियामीले लिग्स कप उपाधि पहिलोपटक जितेको थियो । मियामीले युएस ओपन कपको फाइनल स्थान पक्का गरिसक्यो । रेड बुल्सविरुद्ध मेसी मध्यान्तरपछि मात्र मैदानमा छिरेका थिए । उनी खेलको ६०औँ मिनेटमा मैदान भित्रिँदै अमेरिकी शीर्ष श्रेणीको लिगमा आफ्नो डेब्यु गरे । ३० मिनेट मैदानमा बिताउँदा मेसीले प्रभावशाली प्रदर्शन गरे । प्रशिक्षक जेरार्डो मार्टिनोले उनलाई विश्राम दिएका थिए । पहिलो हाफमा मियामीले राम्रो खेल्यो । 

मेसीले मेजर लिग सकरमा डेब्यु गोल गर्दा उत्कृष्ट फिनिसिङ गरेका थिए । उनले सुरुवातीमा रेड बुल्सका चार डिफेन्डरलाई कटाएर बल डिबक्सभित्र लगे । त्यसपछि चलाखीपूर्ण रूपमा उनले बायाँ साइडमा रहेका बेन्जामिन क्रेमासीलाई पास दिए । क्रेमासीले पुनः क्रस निकालेको बललाई मेसीले खाली पोस्टमा सहजै गोल गर्न सफल भए । उनको यो अमेरिकामा मियामीका लागि नौ खेलमा ११औँ गोल हो ।

मियामी १४औँ स्थानमा
प्रशिक्षक मार्टिनोले दोस्रो हाफमा मेसीसँगै सर्जियो बुस्केट्सलाई मैदानमा प्रवेश गराएका थिए । ‘उनी अद्भुत खेलाडी हुन्, खेलमा उनले केही न केही नयाँ प्रयोग गरिरहेका हुन्छन्,’ मियामीमा १९ वर्षीय डिफेन्डर नोआह एलनले भने । सातपटकको बालोन डि’अर विजेता मेसी र बार्सिलोनाका पूर्वसहकर्मी जोर्डी अल्बासँग उत्कृष्ट तालमेल मिलाएका थिए । खेलमा डिएगो गोमेजले मियामीलाई ३७औँ मिनेटमा १–० को अग्रता दिलाए । लिगको वेस्टर्नतर्फको तालिकामा मियामी १५ क्लबमध्ये १४ औँ स्थानमा छ । रेड बुल्सलाई हराएपछि मियामी १४औँ स्थानमा उक्लेको हो । 

मियामीले २३ खेलबाट २१ अंक जोडेको छ । एमएलसमा २९ टोलीको सहभागिता छ । मियामी पुछारबाट तेस्रो स्थानमा छ । अमेरिकी लिगमा रहेका क्लबहरू दुई कन्फरेन्समा विभाजित रहेर लिग खेल्ने गर्छन् । हरेक कन्फरेन्सबाट नौ क्लब प्लेअफमा प्रवेश गर्नेछन् । उनले यसअघि लिग्स कप र युएस ओपन कपमा आफ्नो सहभागिता जनाइसकेका छन् । उनकै नेतृत्वमा मियामीले पहिलो उपाधिसमेत जितेको थियो ।

सुझावित समाचार