विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको अनुशासन कमिटीले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसलाई तीन महिना निलम्बन गरेको छ । ऐतिहासिक महिला फिफा विश्वकप उपाधि विजेता खेलाडीलाई ओठमा चुम्बन गरेपछि रुबिलेस विवादमा तानिएका थिए । उनले अन्जानमा घटना घटेको भन्दै माफी मागे पनि फिफाले ९० दिन निलम्बन गर्दै अनुशासनको कारबाही गर्ने बताएको छ । ‘९० दिन रुबिलेसले फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन पाउनेछैनन्,’ फिफाले भनेको छ ।
यसअघि रुबिलेसले महिला विश्वकप फुटबल च्याम्पियन खेलाडीलाई चुम्बन गरेकोप्रति माफी मागेका छन् । अस्ट्रेलियाको सिड्नीमा आइतबार इंग्ल्यान्डलाई १–० ले हराएपछि खुसीयाली मनाउने क्रममा च्याम्पियन स्पेनिस खेलाडी जेनी हेर्मोसोलाई रुबिलेसले ओठमा चुम्बन गरेका थिए । जसको चर्काे आलोचना भएको थियो ।
रुबिलेसले जितको खुसीमा आफूललाई नियन्त्रण राख्न नसक्दा खेलाडीमाथि अशोभनीय व्यवहार भएको प्रतिक्रिया दिएका छन् । यसअघि स्पेनका प्रधानमन्त्रीले पनि रुबिलेसको यो कार्य ठीक नभएको र माफी गर्न नसकिने बताएका थिए । यद्यपि, शुक्रबार बसेको महासंघको साधारणसभामा रुबिलेसले चौतर्फी विवाद भए पनि अध्यक्ष पदबाट राजीनामा नदिने बताएका हुन् ।
स्पेनिस फुटबल हेर्माेसोविरुद्ध कानुनी प्रक्रियामा जाने
अध्यक्षविरुद्ध लागेको भन्दै स्पेनिस महासंघले ३३ वर्षीया हेर्माेसोलाई कानुनी कारबाही गर्ने बताएको छ । महासंघले हेर्माेसोको यो कार्यबाट आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
नवौँ संस्करणको फाइनल हेर्न रुविलेस सिड्नी पुगेका थिए । भिभिआइपी बक्समा बसेर फाइनल हेरेका लुइस पुरस्कार वितरण समारोहमा मैदानमा पुगेका थिए । जहाँ उनले खेलाडीलाई अंकमाल गर्दै चुम्बन गरेका थिए । जसको विरोध हेर्माेसोले सामाजिक सञ्जालमा गरेकी थिइन् ।
यसअघि पनि खेलाडी र महासंघबीच विवाद उत्कर्षमा थियो । प्रशिक्षक जर्ज भिल्डालाई हटाउन १५ सिनियर खेलाडी लागिपरेका थिए । उनीहरूले बर्खास्तीको मागसहित रुविलेसलाई उजुरी गरेका थिए । खेलाडीको उजुरीलाई महासंघले खारेज गरेको थियो । जसको बदला खेलाडीले अध्यक्षमाथि लिएको आरोप छ ।