खुला दिसामुक्त क्षेत्र घोषणा भएको रौतहटमा छैनन् सार्वजनिक शौचालय

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण
खुला दिसामुक्त क्षेत्र घोषणा भएको रौतहटमा छैनन् सार्वजनिक शौचालय

चन्द्रपुर नगरपालिकामा रहेको घुम्ती शौचालय लामो समयदेखि प्रयोगविहीन छ

जिल्लाका कुनै पनि नगरपालिकाले आफ्ना बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाएका छैनन्, यसबाट नागरिकले सास्ती त पाएकै छन्, जथाभावी शौच गर्दा वातावरणसमेत दुर्गन्धित हुन थालेको छ

रौतहटका चन्द्रपुर, गरुडा र गौर सहरका रूपमा विस्तार भइरहेका छन् । यी नगरपालिकाका मुख्य बजार क्षेत्रमा जनघनत्व बढ्दै छ । स्थानीय पालिकाले यी स्थानलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका छन् । तर, सार्वजनिक शौचालय निर्माणमा भने स्थानीय सरकारहरूले कुनै चासो देखाएका छैनन् । जसका कारण यी क्षेत्रमा सार्वजनिक शौचालय भेट्न मुस्किल छ ।

शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटेल, खाजा घर छिरेर केही न केही उपभोग गर्न बाध्य हुने गरेका छन् । कुनै पनि नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक शौचालय नबनाउँदा नागरिकले सास्ती त पाएका छन् नै, जथाभावी शौच गर्दा वातावरणसमेत दुर्गन्धित हुन थालेको छ । सहरीकरण विस्तार भइरहँदा सार्वजनिक शौचालय निर्माणमा कुनै स्थानीय तहले योजना बनाएका छैनन् ।

जिल्लामा १८ वटा पालिका छन् । तीमध्ये दुई पालिकामा घुम्ती शौचालय छन् । अन्य दुई पालिकाले केही स्थानमा सार्वजनिक शौचालय बनाएका छन् । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । चन्द्रपुर नगरपालिकामा रहेका दुईवटा घुम्ती शौचालयसमेत विगत लामो समयदेखि प्रयोगविहीन छन् । स्थानीय बासिन्दाले नगरपालिकाले घुम्ती शौचालय प्रयोगमा ल्याउन माग गरेका छन् ।

संघले सरसफाइको जिम्मेवारी पालिकाहरूलाई दिएकाले पालिकाले स्पष्ट नीति बनाएर सार्वजनिक शौचालयको समस्या समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, सार्वजनिक शौचालय स्थानीय सरकारको कम प्राथमिकतामा पर्ने गरेका छन् । सार्वजनिक शौचालय निर्माणमा कार्यविधि र इच्छाशक्ति नहुँदा बजेट पचाउन हतारमा गरिएको खुला दिसामुक्त क्षेत्र घोषणाको प्रभावकारिता देखिएको छैन । अधिकांश पालिका जग्गा अभाव देखाएर शौचालय बनाउने जिम्मेवारीबाट पन्छिएका छन् ।

See More On

सुझावित समाचार