एकीकृत समाजवादीका दुई वर्ष : सत्ता राजनीतिमा सफलता, संगठनमा धक्का

शनिबार, ९ भदौ, २०८०
डिजिटल संस्करण

केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा सफलता प्राप्त गरे पनि एकीकृत समाजवादी संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा कमजोर, पार्टी सरकारमा हुँदा पनि भविष्यप्रति आश्वस्त हुन नसकेका नेता–कार्यकर्ताको दल त्याग गर्ने क्रम जारी

एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी शनिबार दुई वर्षको भयो । विभिन्न उतारचढावबीच एमालेलाई सत्ता राजनीतिबाट विमुख गर्न र आफू केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा जोडिन सफल भए पनि संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा भने समाजवादी असफलजस्तै देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच राजनीतिक–वैचारिक र संगठनात्मक मतभेद छताछुल्ल भएका छन् । 

९ भदौ ०७८ मा निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएको एकीकृत समाजवादीले शनिबार ‘पार्टी पुनर्गठन दिवस’ मनाउँदै छ । अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको बताउँदै आए पनि खुम्चिँदो संगठन चुनौती बन्दै गएको छ । पार्टी सरकारमा छ, तर पार्टीको भविष्यप्रति आश्वस्त हुन नसकेका नेता–कार्यकर्ताको पार्टी परित्याग गर्ने क्रम जारी छ । 

एमालेबाट विद्रोह गरेर संसद् पुनस्र्थापना र स्थायित्वको राजनीतिक एजेन्डा पूरा गराउन भूमिका निर्वाह गरे पनि कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने काममा एकीकृत समाजवादीलाई अपेक्षाकृत सफलता हात लागेको छैन । पार्टीमा ‘संगठनात्मक, विचारधारात्मक, आचरणात्मक र शैलीको पुनर्गठन’ बाँकी नै रहेको अध्यक्ष नेपाल आफैँले स्विकारेका छन् । 

‘नेपाली कम्युनिस्ट आन्दोलनमा भित्रिएका अनेकन् विकृति र विसंगतिका विरुद्ध मात्रै नभई आफैँभित्रका नकारात्मक पक्षविरुद्ध समेत लामो समय कठोर संघर्ष चलाएर पूरा गर्नुपर्नेछ,’ बिहीबार मात्रै सकिएको केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालले भनेका छन्, ‘नथाकीकन गर्नुपर्दछ । हामीले आँट गर्‍यौँ भने पक्कै पनि यो काम पूरा गर्न सकिन्छ ।’

दुई वर्षको बीचमा विद्रोहको राजनीतिक रूपमा पुष्टि भए पनि संगठनात्मक रूपमा धेरै काम गर्न बाँकी रहेको नेताहरू बताउँछन् । एकीकृत समाजवादीको अंकगणितले पनि उसको असफलताको मापन देखाउँछ । त्यति मात्र होइन, पार्टी गठनपछि तीनवटै तहको निर्वाचन सामना गरेको एकीकृत समाजवादीभित्र विद्रोहको औचित्य पुष्टि भयो कि भएन भन्ने बहस छ । अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै आएका छन् । तर, सम्मानित नेता खनालले औचित्य पुष्टि हुन बाँकी नै रहेको औँल्याएका छन् । 

‘हाम्रो विद्रोहकै कारण संविधान जोगियो । संसद् जोगियो । तीनवटै तहको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक रूपमा विद्रोह पुष्टि भएको छ । प्राविधिक रूपमा केही कमजोरी रहे । त्यसलाई सच्याउँदै अगाडि बढ्छौँ । सत्य, कानुन र संविधान रक्षाका निम्ति हामीले लडेको हो । समाजवादीले हीनताबोध गर्नुपर्दैन,’ नेपालको तर्क छ । 

खनालले भने पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो र तल सुकेको विश्लेषण गरेका छन् । ‘जतिवेला विद्रोह भएको थियो, त्यसवेला पार्टीपंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, तर आज त्यो छैन । विद्रोह गर्दा हामीसँग जुन शक्ति थियो आज त्यो पनि छैन,’ खनालले भनेका छन्, ‘हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)बीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन ।’

पार्टीभित्रका कमीकमजोरी हटाउँदै अगाडि बढ्नुपर्नेमा खनालको जोड छ । ‘क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ,’ खनालले भनेका छन्, ‘प्रधान अन्तर्विरोध र प्रधान प्रतिद्वन्द्वीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ । तब मात्र पार्टीपंक्तिमा नयाँ उत्साह, उमंग र जोसको सञ्चार हुनेछ ।’

विद्रोहको अग्रमोर्चामा रहेकी सचिव रामकुमार झाँक्री र राजेन्द्र राईलगायत नेता असन्तुष्ट छन् । पूर्वमा पहिचानको आन्दोलनमा नेतृत्वले साथ नदिएको गुनासो राईको छ । विद्रोहको स्पिरिटमा पार्टी चल्न नसकेको झाँक्रीको ठम्याइ छ । 

सचिव झाँक्रीले केन्द्रीय कमिटी बैठकमै जिम्मेवारी नदिएको गुनासो गरेकी थिइन् । ‘केन्द्रीय सचिवलाई नै ठोस जिम्मेवार छैन । काम गर्ने वातावरण बनाइएको छैन । अनि कसरी राष्ट्रिय दल बन्छ ?,’ झाँक्रीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । नेतृत्वले दक्षता र क्षमताअनुसार जिम्मेवारी दिन नसकेको झाँक्रीको दाबी छ । मन्त्रीबाट हट्दा पनि झाँक्रीको तीव्र असन्तुष्टि थियो । राजीनामा दिँदा भावुक बनेर रोएकी थिइन् । 

ती सदस्यका अनुसार सम्मानित नेता खनालले सचिवले जिम्मेवारी नपाउने अवस्थामा पार्टी कसरी चल्छ भन्ने प्रश्न बैठकमा उठाएका थिए । उनले बृहत् छलफल गरेर सबैले अपनत्व गर्ने गरी पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले ‘जिम्मेवारी दिँदा भेदभाव नगरेको’ बताएका थिए । उनले पार्टीको सर्कुलर हेर्न आग्रह गरेका थिए ।

नेता–कार्यकर्ताको पलायन यो पार्टीको सबैभन्दा ठूलो समस्या बनेको छ । दुई वर्षको बीचमा एकीकृत समाजवादीमा नेता–कार्यकर्ताको व्यापक पलायन भएको छ । कतिपय नेता–कार्यकर्ता एमालेमै फर्किएका छन् । तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी एमालेमा फर्किएका छन् । पूर्वराज्यमन्त्री हिरा केसी पनि एमालेमा फर्किएका छन् । प्रेम महर्जन र तारा लामा पनि एमालेमा फर्किएका छन् ।

मिठाराम केसी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाईं, चूडामणि जंगली, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोज यादव, शारदा स्वर्णकार, विना बुढाथोकी, चन्द्रलाल बुढा, कुलवीर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, कुर्मराज शाही, रिता रावललगायत नेता एमालेमा फर्किएका छन् । 

जिल्ला अध्यक्षहरू रामेछापका रमेश बस्नेत, मकवानपुरका श्रीधर पोखरेल र सूर्यचन्द्र न्यौपाने, रुकुम पश्चिमका हरिप्रसाद शर्मा, दाङका शूरमणि बेलबासे, तनहुँका श्रीराम कार्की, गुल्मीका नरेश भण्डारी, रसुवाका विष्णु देवकोटा, बाराका सुन्दर विश्वकर्मा, डोल्पाका नन्दसिंह बुढा, अछामका हिरण्ड भट्टराई, बाजुराका गगन रावल, जुम्लाका आदिप्रसाद न्यौपाने, सुर्खेतका मोहन बडुवाल एमालेका फर्किएका छन् ।

यसलाई सैद्धान्तीकरण गर्दै पार्टीभित्र आलस्यता, निराशा, निष्क्रियता, पलायनताजस्ता समस्या देखिएको राजनीतिक प्रतिवेदन भएको नेताहरूको अभिव्यक्ति छ । ‘पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्नु अनुशासनहीन र अराजक कार्य हो,’ अध्यक्ष नेपालको विश्लेषण छ, ‘त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि, कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनुपर्दछ ।’ त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन नसकिने नेपालले चेतावनी छ ।

सम्मानित नेता खनालको बुझाइमा एमालेमा भन्दा वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर पार्टीबाट पलायनको अवस्था आएको छ । ‘हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबजकै धङधङी छ,’ खनालको भनाइ छ, ‘त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ता वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।’

तर, नेपालको नजरमा एकीकृत समाजवादी र एमालेका सात भिन्नता छन् । नेपालले आफ्नो दस्ताबेजमा दुई वर्षअघि विद्रोह गरेको एमालेसँग मुख्यतः सात भिन्नता रहेको औँल्याइएको छ । अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा एमालेसँगको भिन्नताबारे भनेका छन्, ‘हामी ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन ।’

नेपालले अरू भिन्नता खुलाएका छन्, ‘हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन, हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन, हामी माक्र्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।’

यसबाहेक नेपालले थपेका छन्, ‘हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन, हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन, हामी प्रतिगामी पुनरुत्थानवादी तत्वका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ ।’

नेपालको बुझाइमा पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने, तर वहन नगर्ने प्रवृत्ति, आत्मविश्वासको कमी, पार्टी सानो छ भन्ने लघुताभास, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि, विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभावले पार्टीभित्र समस्या पैदा गरेको छ । 

यद्यपि, यसबीचमा केही पार्टी, समूह र व्यक्ति एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एकीकृत, संयुक्त समाजवादी मोर्चा, राष्ट्रिय जागरण परिषद्, नेकपा (जनवादी) लगायत पार्टी एकीकृत समाजवादीमा समाहित भएका छन् । घनश्याम भुसाल, रामचन्द्र झा, साध्यबहादुर भण्डारी, आलोक रायमाझी, भविश्वर पराजुलीलगायत नेता एकीकृत समाजवादीमा भित्रिएका छन् । 

तर, पार्टी यतिसम्म अव्यवस्थित छ कि संगठनको अवस्था पनि चुस्तदुरुस्त छैन । एकीकृत समाजवादीले देशव्यापी संगठन विस्तार गरेको छ । तर, यकिन सदस्यको विवरण पार्टीसँग छैन । संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरी १० मंसिरसम्म प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउन पार्टीले निर्देशन गरेको छ । त्यसपछि मात्रै पार्टीका संगठित सदस्यको यकिन विवरण आउने नेताहरू बताउँछन् । हाल एकीकृत समाजवादीले पार्टी कमिटी र जनसंगठनमा अबद्धलाई नै पार्टी सदस्यका रूपमा लिँदै आएको छ ।

शक्तिको क्षयीकरण
संघीय संसद्मा उसको शक्तिमा व्यापक क्षयीकरण भएको छ । पार्टी गठन गर्दा एकीकृत समाजवादी संसद्को चौथो दल थियो । प्रतिनिधिसभामा १३ प्रत्यक्ष निर्वाचित र १० समानुपातिक सांसद थिए । राष्ट्रिय सभामा एक स्वतन्त्र हैसियतसहित ९ सांसद थिए । 

राष्ट्रिय सभामा अहिले पनि एकीकृत समाजवादीको हैसियत घटेको छैन । तर, प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न नसक्दा प्रत्यक्ष निर्वाचित १० सांसद मात्रै छन् । राष्ट्रिय दल बन्न तीन प्रतिशत मत चाहिन्थ्यो, तर एकीकृत समाजवादीले गत मंसिरको निर्वाचनमा करिब १८ हजार कम मत ल्याएको थियो ।

त्यसैगरी प्रदेशमा पनि एकीकृत समाजवादीको शक्ति निकै घटेको छ । हाल कोसीमा चार, मधेसमा सात, बागमतीमा सात, लुम्बिनीमा एक, गण्डकीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा चार सांसद छन् । जब कि पार्टी गठन हुँदा प्रदेश सभामा एकीकृत समाजवादीका ५४ सांसद थिए । सुदूरपश्चिममा त प्रदेश सभाकै ठूलो र मधेस प्रदेशमा एमालेभन्दा समाजवादी ठूलो दल थियो । गण्डकी प्रदेश सभामा मात्रै एकीकृत समाजवादीका सांसद थिएनन् । समाजवादीका प्रदेश १ मा १०, मधेसमा १३, बागमतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा तीन र सुदूरपश्चिममा १४ सांसद थिए ।

प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीसहित ६ प्रदेश सरकारमा एकीकृत समाजवादीको प्रतिनिधित्व थियो । प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए । गण्डकीमा प्रदेश सांसद नभएकाले मात्रै समाजवादी सरकारमा थिएन । 

लुम्बिनीकी एकीकृत समाजवादीकी एक्ली सांसद पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थिइन् । यसबीचमा एमालेले भने चारवटै मुख्यमन्त्री गुमाएको थियो । हाल एकीकृत समाजवादीबाट बागमतीमा दुई, सुदूरपश्चिम, मधेस र कोसीमा एक–एक मन्त्री छन् । एमाले केन्द्र र प्रदेश सरकारमा सत्ताबाहिर छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद् विघटन गरेपछि उत्पन्न टकराव बढ्दै गएपछि नेपाल र झलनाथ खनालसहितका नेताहरूले एमालेबाट विद्रोह गरेका थिए । नेपाल र खनालको विद्रोहकै बलमा एमाले संघ र प्रदेश सत्ताबाट बाहिर धकेलिएको थियो, एकीकृत समाजवादी सत्तामा रहेको थियो ।

ओली नेतृत्वको सरकार विस्थापन गरेर बनेको शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका पाँच मन्त्री र एक राज्यमन्त्री थिए । कानुनमन्त्री गोविन्द बन्दी एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रस्तावमा मन्त्री बने । बन्दीसहित समाजवादीबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्री शेरबहादुर कुँवर, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी थिए । 

यसअघि, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसन श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमार झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ थिए । हाल, संघीय सरकारमा कृषिमन्त्री डा. बेदुराम भुसाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं छन् । 

प्रदेशतर्फ सुदूरपश्चिमा नरेश शाही, बागमतीमा लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ, मधेसमा गोविन्द न्यौपाने र कोसीमा कमल जबेगू मन्त्री छन् । अरू प्रदेश सरकारमा पनि सहभागिताबारे छलफल चलिरहेको अध्यक्ष नेपालले बताएका छन् । 

गत वर्षको स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष आठ, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९०, महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ जना स्थानीय जनप्रतिनिधि छन् । 

महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख पाँच, गाउँपालिका अध्यक्ष पाँच, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गठबन्धनबाट निर्वाचित भएका थिए भने बाँकी एक्लै प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । वडाध्यक्ष र सदस्यहरू प्रायः एक्लै निर्वाचन लडेर जितेका थिए । जिल्ला समन्वय समितिमा प्रमुख पाँच, उपप्रमुखमा आठ र सदस्यमा २८ जना छन् ।

शक्ति आर्जनको प्रयास र भविष्य 
एक्लै निर्वाचन लड्न सक्ने हैसियत बनाइनसकेकाले एकीकृत समाजवादीको भविष्य के होला ? पार्टीभित्र र बाहिर प्रश्न छ । भविष्य सुनिश्चत गर्ने प्रयासमा लागेको एकीकृत समाजवादीले विभिन्न रणनीतिअन्तर्गत काम गरेको छ । 

समाजवादी मोर्चादेखि वामपन्थी शक्तिहरूसँगको एकतालाई उसले महत्व दिएको छ । पार्टीलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्ने नेताहरूको योजना छ । आगामी माघमा हुने महाधिवेशनबाट स्पष्ट नीति तथा कार्यक्रमका साथ संगठन विस्तारमा लाग्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

‘मूलतः हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । केही कमजोरी पक्कै भएका छन् । ती सबै विषयमा गहन छलफल गरेर ठोस नीति तथा कार्यक्रम र योजनाका साथ अगाडि बढ्छौँ । एकीकृत समाजवादीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित हुन अब कसैले रोक्न सक्दैन,’ उनले भने । 

शक्ति आर्जनको प्रयासस्वरूप ऊ वाम समाजवादी शक्तिलाई एकत्रित गर्ने भन्दै समाजवादी मोर्चामा आबद्ध भएको छ । समाजवादी ध्येय भएका राजनीतिक दलहरूका बीच सहमति र सहकार्यको आधार मोर्चाले तयार पार्ने दाबी नेताहरूको छ । 

‘वामपन्थी तथा समाजवादी शक्तिहरूबीचको सहकार्यले संविधानको रक्षा र विकास गर्दै पुनरुत्थानवादी तथा दक्षिणपन्थी शक्तिहरूका विरुद्ध एउटा शक्तिका रूपमा काम गर्छ । भविष्यमा समाजवादी कार्यक्रम निर्माण गर्न र मुलुकलाई त्यसतर्फ अगाडि बढाउन मोर्चाले योगदान गर्नेछ,’ समाजवादीको निष्कर्ष छ । पार्टीलाई बलियो बनाउन मोर्चाले सहयोग पुर्‍याउने विश्वास एकीकृत समाजवादीको छ । 

क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरूको ध्रुवीकरणमा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने दाबी अध्यक्ष नेपालले गरेका छन् । यसका साथै तत्कालीन कार्यनीतिअन्तर्गत सत्तारूढ गठबन्धनमा एकीकृत समाजवादी छ । सत्तारूढ गठबन्धन दीर्घकालीन नभएकोमा एकीकृत समाजवादी स्पष्ट छ ।

केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा अध्यक्ष नेपालले सम्मानित नेता खनालले प्रस्तुत गरेका धारणा पार्टीले आत्मसात् गरेको, पार्टीलाई राजनीतिक तथा वैचारिक रूपले समृद्ध गर्न वैचारिक तथा राजनीतिक बहस अनिवार्य हुने तथा बहस र संवादहरूले नै पार्टीलाई जीवन्त बनाउने धारणा राख्दै पार्टीले सबै खाले विचारको स्वागत गर्ने बताएको महासचिव घनश्याम भुसालले बताएका छन् । 

कमी–कमजोरीलाई हटाउँदै निराशालाई चिर्ने, आशा र उत्साह जगाउने, प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र पार्टीलाई असल क्रान्तिकारी कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउने ठोस योजना र दृढ अठोट लिएर अगाडि बढ्ने प्रतिबद्धता एकीकृत समाजवादीको छ । 

कतिपय नेताको चरित्र र व्यवहारले पनि राष्ट्रिय दल बन्न सकिएन : केशवलाल श्रेष्ठ, उपाध्यक्ष, एकीकृत समाजवादी
मुलुक र नेपालको कम्युनिस्ट आन्दोलनको जुन अवस्था छ । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुको विकल्प छैन । कम्युनिस्ट, देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । राष्ट्रिय दल बन्न नसक्नुको पछाडि हामीले जनताको मन जित्न सकेनौँ भन्ने नै हो । त्यसमा आन्तरिक र बाह्य कारण छन् । आन्तरिक कारण भनेको हामी सुढृढ हुन सकेनौँ । हाम्रो संगठन कमजोर भयो । हामी निरन्तर जनतामा जान सकेनौँ । पार्टी संगठनलाई जनताको बीचमा स्थापित गर्न सकेनौँ । हाम्रा कतिपय नेताहरूको चरित्र र व्यवहारको कारणले पनि काम गरेको छ । सबै ठाउँमा हाम्रो उम्मेदवार उठाएको भए पनि राष्ट्रिय दल बन्न सक्थ्यौँ होला । बाह्य कारण कम्युनिस्टविरोधीहरूले अनेक षड्यन्त्र गरे । हामीले त्यसको चिरफार गर्न सकेनौँ । अब नयाँ शिराबाट अगाडि बढ्नुपर्छ । जीवन्त पार्टीमा बहस, छलफल हुन्छ । विचार–विमर्शबाट नै कम्युनिस्ट पार्टी सशक्त बन्छ । महाधिवेशनको मिति पनि घोषणा भएको छ । महाधिवेशनबाट विचार, सिद्धान्त र कार्यक्रम स्पष्ट पार्दै पार्टीलाई गतिशील बनाउनुपर्छ ।

अब सांगठनिक रूपमा पार्टीलाई सशक्त बनाएर अगाडि बढ्छौँ  : नागेन्द्र चौधरी, सचिव, एकीकृत समाजवादी
संविधानको उल्लंघन, संसद् विघटनलगायत प्रतिगामी कदमविरुद्ध विद्रोह गरेका हौँ । एमालेमा जुन रोग देखेका थियौँ, त्यो आज पनि यथावत् नै छ । विधि, प्रक्रिया र सिद्धान्त, नीति, कार्यक्रमका आधारमा मुलुक चलाउन विद्रोह गरेका हौँ । सर्वोच्च अदालतले ओलीको कदमलाई असंवैधानिक भन्दै संसद् पुनस्र्थापना गरिदिएपछि यो विद्रोहको पुष्टि त्यतिवेलै भइसकेको हो । विद्रोह गर्नु भनेकै पार्टी पुनर्गठन गर्नु हो । केपी ओलीको दक्षिणपन्थी अवसरवादसँग नतमस्तक भएर बस्नु, निष्क्रिय बस्नु वा विद्रोह गरेर पार्टी पुनर्गठन गर्नुबाहेक अर्को विकल्प थिएन । हामीले विद्रोह गरेर पार्टी पुनर्गठन गरेका हौँ । कम्युनिस्ट आन्दोलनलाई पुनव्र्यवस्थित गरेर अगाडि बढेका छौँ । हामी मात्रै होइनौँ, अन्य कतिपय दल पनि राष्ट्रिय हुन सकेनन् । समानुपातिकमा प्राविधिक कारणले थोरै मत नपुगेर राष्ट्रिय दल बन्न सकेनौँ । प्रत्यक्षतर्फ १९ उम्मेदवारमध्ये १० मा जित्यौँ । राष्ट्रिय पार्टी नहुँदैमा औचित्य पुष्टि भएन भन्नु सही मूल्यांकन होइन । विद्रोहकै कारण संसद्ले पाँचवर्षे पूरा कार्यकाल पूरा गरी तीनवटै तहको निर्वाचन सम्पन्न भएको, प्रतिगामी कदम चाल्ने एमाले सत्ताच्युत भएको, संविधान र व्यवस्था जोगिएको तथ्य भुल्नुहुँदैन । विद्रोहको औचित्य पुष्टि भइसकेको छ । अब सांगठनिक रूपमा पार्टीलाई सशक्त बनाएर अगाडि बढ्छौँ । पार्टीमा ठूलो विवाद छैन । 

औचित्य पुष्टि गर्ने अवसर अझै बाँकी छ : झलक सुवेदी, विश्लेषक

अन्तर्वार्ता

एकीकृत समाजवादीले आफ्नो औचित्य पुष्टि गर्‍यो कि गरेन ? 
नेपालमा दलहरू विभाजित भएर शक्ति आर्जन गरेको प्रायः देखिँदैन । माधव नेपालले शक्ति आर्जन गर्नुभयो कि गर्नुभएन भन्दा पनि विभाजित हुँदा संसद्मा कति संख्या थियो र अहिले कति छ भन्ने पनि हेर्नुपर्छ । अहिले राष्ट्रिय पार्टी बन्न सकेन । एमालेको मतदाताले स्वीकार नगरेको भन्ने देखिन्छ । राजनीतिमा धेरै ‘मेजरमेन्ट’ले औचित्य पुष्टि हुने–नहुने भन्ने हुन्छ । त्यो देखाउने ठाउँ अझै पनि छ । 

एमालेभन्दा कति फरक देखियो ? 
एमालेको राजनीतिक कार्यदिशाभन्दा एकीकृत समाजवादीको कार्यदिशाको भिन्नता के हो भन्ने तर्क, सिद्धान्त, विचार र व्यवहार सबै हिसाबले पुष्टि हुनुपर्छ । एमालेभन्दा भिन्न राजनीतिक पाटोमा एकीकृत समाजवादी हिँडेको छ भन्ने दस्ताबेजको हिसाबले खासै देखिएको छैन । नेपालमा जनवादी क्रान्ति पूरा भयो । कम्युनिस्टका केही ‘क्लासिकल’ भाषा हुन्छन्, उनीहरूकै भाषामा भन्दा पुँजीवादी जनवादी क्रान्तिको चरण पूरा भयो । अब समाजवादतिर जाने हो भन्नेमा एउटा लाइन एकीकृत समाजवादीको छ । एमालेले अहिलेसम्म त्यसरी प्रस्ट व्याख्या गरेजस्तो लागेको छैन । 

एकीकृत समाजवादीको भविष्य कस्तो देख्नुहुन्छ ?
नीति, कार्यक्रम, संगठन र नेतृत्वको विशेषतामा पार्टीको भविष्य निर्भर रहन्छ । गठबन्धनमा कोसँग जाने, कोसँग नजाने, राजनीतिमा के नीति लिने, जनतालाई के दिने भन्नेमा विश्वसनीयता हासिल गर्ने गरी अगाडि बढ्न सक्नुपर्छ । नेतृत्वप्रतिको विश्वसनीयता स्थापित नभएको हो कि भन्ने भएको छ । संसद्मा ‘रेडिकल’ वामपन्थीको विचार लियो र देखिने गरी दैनिक कार्यव्यवहारमा भिन्नता देखायो भने जनताले विश्वास गर्ने हुन् । जनताले विश्वास नगरेको पार्टीले अरू त केही गर्न सक्दैन । जनताले भोट दिएर ठूलो शक्ति बनाए भन्दैमा त्यो असल हुन्छ भन्ने पनि होइन । तर, गतिलो छ, जनताको मन जित्यो भने ढिलोचाँडो शक्ति आर्जन गर्छ । त्यो बाटोमा हिँड्ने कि नहिँड्ने भन्ने उहाँहरूले निर्णय गर्नुपर्छ । माधव नेपाल, झलनाथ खनालको पुस्ताबाट अर्को पुस्तामा उहाँहरू आफैँले प्रस्ताव गरेर नयाँ पुस्ताको नेतालाई नेता मान्ने गरी महाधिवेशनबाट अगाडि बढ्नुभयो भने नयाँ अनुभूति हुन्छ कि जस्तो लाग्छ । 

सुझावित समाचार