सामाजिक सद्भाव कायम राख्न धरानवासीले निकाले र्‍याली

शनिबार, ९ भदौ, २०८०
डिजिटल संस्करण

सामाजिक सद्भाव कायम राख्न शुक्रबार धरानमा सर्वदलीय–सर्वपक्षिय र्याली निकालिएको छ । साम्प्रदायिक तथा धार्मिक सद्भाव खलल हुन नदिई संवादबाटै समाधान खोज्न धरानका राजनीतिक दल तथा संघसंस्थाले आह्वान पनि गरेका छन् । 

कांग्रेस, एमाले, माओवादीसहित १३ राजनीतिक दल, धरान उपमहानगरपालिकाका मेयर र उपमेयर तथा पूर्वमेयरहरूसँगै विभिन्न संघ–संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ता र छलफलबाट समाधान खोज्न आह्वान गरेका हुन् । धरानका पूर्वमेयरहरूको अगुवाइमा सद्भाव र्याली निकालिएको हो । सदियौँदेखिको सद्भाव कायम राख्न र भड्किन नदिन सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना गरिएको धरानका पूर्वमेयर तिलक राईले बताए ।

धरानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिने अवस्था आएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेकी हुन् । यो अवधिमा धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइनेछैन । 

हिन्दू समर्थकले शनिबार र्याली आयोजना गरेको र पहिचानवादीले प्रतिकार गर्ने चेतावनी दिएका वेला धरानका २० वटै वडामा निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेले धरानमा सामाजिक सद्भाव भड्कन नदिन निषेधाज्ञा जारी गरिएको बताइन् । उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सद्भाव भड्काउने जो–कोहीलाई पक्राउ गरी कारबाही गरिने बताइन् । प्रशासनले धार्मिक साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 

See More On

सुझावित समाचार