कपिलवस्तुमा एउटै ट्रकमा फरक–फरक नम्बर प्लेट राखेर तस्करी गर्दै गरेको अवस्थामा चिनी र मिनीट्रकलाई कपिलवस्तु प्रहरीले बरामद गरेको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी छिमेकी जिल्ला अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुईवटा नम्बर प्लेट राखी तस्करी गरेको अवस्थामा चिनी बरामद भएको हो।
तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत बुद्धभूमि नगरपालिका– १० रामघाट पुलनजिकै प्रहरीले ६४ बोरा चिनी बोकेको मिनीट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिइन्।
प्रहरीले जाँच गर्ने क्रममा अगाडि रातो नम्बर प्लेटको लु.१क ५४५२ र पछाडि कालो नम्बर प्लेटको लु.२ख ५४८६ नम्बरको मिनीट्रकमा ६४ बाेरा चिनीसहित बरामद गरिएको बोहोराले बताइन्।
चिनी र गाडी बरामद र तस्करहरूले एउटै गाडीको दुईवटा नम्बर प्लेट राखी यस्तो अवैध कारोबार गरेको कपिलवस्तुका लागि यो पहिलो घटना भएको बताएको छ।
मिनीट्रकका चालकसमेत प्रहरी नियन्त्रणमा रहेको र भारतबाट भन्सार छली चोरी गरी ल्याएको अवैध ६४ बोरा चिनी र मिनीट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान कार्य पूरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाेहोराले बताइन्।
कपिलवस्तुमा ९३ किलो मिटर क्षेत्र भारत संघको खुला सिमाना जोडिएको छ। खुला सीमाका कारण अवैध सामान तस्करी गर्न सजिलो हुने गरेको प्रहरीको भनाइ छ।