संसदीय समितिका लागि सोमबार निर्वाचन : १२ वटा समितिमा कुन दलबाट को उम्मेदवार ?

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समितिको नेतृत्व लिने सहमतिअनुसार उम्मेदवार तय

संसदीय समितिको सभापतिका लागि आगामी सोमबार निर्वाचन हुँदै छ । समिति गठन भएको झन्डै चार महिनामा सभापति निर्वाचन घोषणासँगै दलहरूले उम्मेदवार पनि टुंग्याएका छन् । 

बिहीबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले ११ भदौ दिउँसो ३ बजे चुनाव तोकेको हो । सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिको निर्वाचनबारे सभामा जानकारी गराएका छन् । प्रमुख प्रतिपक्षी एमाले र सत्तारूढ पाँच दलबीच समितिको बाँडफाँट यसअघि नै भइसकेको छ । कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समितिको नेतृत्व लिने सहमतिअनुसार दलहरूले उम्मेदवार तय गरेका हुन् ।

चार समितिको नेतृत्व पाएको कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडालाई उम्मेवार बनाउने भएको छ । यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवालाई अघि सार्ने भएको छ । 

संसदीय सुनुवाइ समितिमा ज्ञानेन्द्र कार्की, ईश्वरी न्यौपाने र जीवन परियारको नाम चर्चामा छ । अर्थ समितिमा विनोद चौधरी र सन्तोष चालिसेमध्ये एकजना हुनेछन् । 

कांग्रेसका एक सांसद भन्छन्, ‘यी दुई समितिमा एउटाको नेतृत्व शेखर कोइराला समूहलाई दिनुपर्छ । सुनुवाइ दिने कि भन्ने छ । यो भयो भने जीवन परियार बन्नुहुन्छ । अर्थमा विनोद चौधरी आउनुहुन्छ । सुनुवाइ समिति संस्थापनतिरै भयो भने ज्ञानेन्द्र कार्कीको बढी सम्भावना छ । अर्थमा सन्तोष आउनुहुन्छ ।’ तीन समिति पाएको एमालेले सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेललाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

 राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई उम्मेदवार तोकेको छ । महिला तथा सामाजिक समितिमा किरणकुमार साहलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले एक नेताले जानकारी दिए । 

दुई समिति पाएको माओवादीले कानुन, न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदी र पूर्वाधार विकास समितिमा माधव सापकोटालाई उम्मेदवार बनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको जसपाले राजकिशोर यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले भानुभक्त जोशी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति पाएको जनमतले अब्दुल खानलाई सभापतिको उम्मेदवार बनाएको छ । सभापतिको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ । 

सुझावित समाचार