सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भएको बताएकी छिन्।
बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विभिन्न स्वार्थ समूहका कारण साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक अहिलेसम्म टुंगाे लाग्न नसकेको बताइन्।
‘सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरू हुँदा रहेछन् । एउटा कानुन बनाउन थाल्यो भने त्यो कानुनले कसैलाई छोइहाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानुनलाई अपव्याख्या गरेर अर्कै ढंगले प्रहार हुन्छ,’ उनले भनिन्।
मन्त्री शर्माले सरकारले ल्याउन लागेको सूचनासम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन पनि समेटिएकाले ‘सबैको फोन ट्यापिङ भइसक्यो’ जसरी बाहिर हल्ला गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।