आउटरिच नेपालका संस्थापक उजय शाक्य ‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजना भएको सिएमओ एसिया अवार्डको १४औँ संस्करणमा शाक्यलाई सम्मान गरिएको हो ।
वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सिएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको आउटरिचले जनाएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको जनाइएको छ ।
अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिँदै मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्वपूर्ण हुने बताएको उल्लेख छ ।
शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्रान्डलाई नेपालमा सफलतापूर्वक स्थापित गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको कम्पनीको दाबी छ । सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्रान्ड सूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ ।