धादिङ दुर्घटना : चारकाे सनाखत, घाइते १३ जनालाई उपचारका लागि काठमाडाैं लगियाे [अपडेट]

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ चालिसेमा यात्रुवाहक बस त्रिशूलीमा खस्दा आठजनाको ज्यान गएको छ। 

काठमाडाैंबाट पर्वत-म्याग्दी बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

डिएसपी जैसवारका अनुसार दुर्घटनामा ज्यान गुमाउने आठमध्ये दुईजना महिला ६ जना पुरुष छन्। यीमध्ये चारजनाको सनाखत भएको छ।  

मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका– ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका– १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, गजुरी गाउँपालिका– ८ धादिङका २४–२५ वर्षीय सुशील रम्तेल र कास्की फुलबारी- ११ का अन्दाजी २४ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ। 

मृतक चारजनाको सनाखत हुन बाँकी रहेको डिएसपी जैसवारले बताए। दुर्घटनामा १७ जना घाइते भएका छन्। तीमध्ये पाँचजनाकाे अवस्था गम्भीर छ। 

गम्भीर घाइते हुनेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका– ३ की २२ वर्षीया अञ्जु रानामगर, म्याग्दी गरुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रवीण पुन छन्। अन्य तीनजनाको नाम बतन खुलेको छैन। घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
 
मोदी गाउँपालिका– १ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, म्याग्दी बेनी नगरपालिका– ६ का ३० वर्षीय  दीपक थापा, म्याग्दी बेनी नगरपालिका– ३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, म्याग्दी मंगला गाउँपालिका– २ की १६ वर्षीया गीता जंजाली मगर, बागलुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वत फलेवास नगरपालिकाका ६३ वर्षीया हरिकला गौडेल, म्याग्दी रघुगंगा– ६ की २३ वर्षीया रिना रानामगर, काठमाडौं कृतिपुर नगरपालिका– ९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर, बंगलादेश बस्ने ३२ वर्षीय मोहमद हजिरहुल  घाइते बनेका छन्।

बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरी प्रहरीले नियन्त्रणमा लिएको डिएसपी जैसवारले बताए।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टरबाट र दुईजनाले इसेवाबाट टिकट काटेका थिए। कलंकीबाट दुईजना र धादिङको आदमघाटबाट दुईजना पुरुष चढेका थिए। सहचालक तामाङ सकुशल छन्। 

१३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ भने एकजनाको राजमार्ग अस्पताल मलेखु र एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। 

सहचालक तामाङ र बागलुङ गलकोटकी ज्ञानु बुढामगरको अवस्था सामान्य छ। बस नदीमा डुबेकाले गोताखोरको टोलीले एकजना यात्रु हराइरहेको आशंकामा खोजी गरिरहेको छ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।
 

सुझावित समाचार