फिर्के खोला मिचेर १४७ संरचना निर्माण

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

पर्यटकीय नगरी पोखराको विभिन्न भाग भएर बग्ने फिर्के खोला (खोलाघर)को संरक्षणका लागि सुरु गरिएको सीमांकन र रेखांकनको काम सम्पन्न भएको छ। पोखरा महानगरपालिकाले ३ साउन ०८० देखि खोलाघर छुट्याउन सुरु गरेको सीमांकन र रेखांकनको काम ३२ दिनमा सम्पन्न भएको हो।

महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा रहेको टोलीमा अमिन र सर्वेक्षक गरी १८ जना, एक इन्जिनियर, दुई ओभरसियर, सातजना नगर प्रहरी र आठ कामदारसँगै नेपाल प्रहरीका गरी ४० जनाको टोली खटिएको थियो।

पोखरा– १८ सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएको फिर्के खेला महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचोल्दै करिब नाै किलोमिटरको यात्रा तय गर्दै पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइडनजिकैको गाईघाटबाट सीधै तालमा मिसिन्छ। १८ नम्बरबाट सुरु भएको फिर्के २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा  हुँदै फेवातालसम्म पुगेको छ। 

अँधेरीकुनाबाट लगभग सात किलोमिटर अघि गएपछि मालपोत कार्यालय कास्कीभन्दा केहीमाथि गैरी खेत भन्ने स्थानमा लगभग दुई किलोमिटर लामो बुलौदी खोला मिसिन आएको छ। सीमांकन र रेखांकनको काम पोखरा ६ र १७ को बीचमा रहेको खेलाको अन्तिम बिन्दु गाईघाटबाट सुरु गरेर अँधेरीकुनामा गएर सकिएको थियो।

खोलाघरको चौडाइ चारदेखि ४० मिटरसम्म
करिब नौ किलोमिटर लामो खोलाको चौडाइ विभिन्न स्थानमा फरकफरक रहेको छ। खेला कतै चार मिटर त कतै ४० मिटरसम्म फैलिएको टोली प्रमुख सर्वेक्षक पौडेलले जानकारी दिए।

०३२ सालको नापीअनुसार खोलाघर छुट्याउने काम भएको उनले बताए। खोला सुरु भएको स्थान अँधेरीकुनाबाट कहीँ बढी, कहीँ कम हुँदै अन्तिम बिन्दु गाईघाटमा पुगेर ४० मिटर क्षेत्रमा फैलिएको छ। खोलाको कुल लम्बाइमध्ये करिब ६ मिटर मुख्य सहरी भाग हुँदै बगेको छ।

खोलाघरभित्र १४७ संरचना
सीमांकनका क्रममा खोलाघर मिचेर एक सय ४७ वटा भौतिक संरचनाहरू निर्माण भएको भेटिएको पौडेलले जानकारी दिए। तीमध्ये सरकारी,  सामाजिक संघसंस्था, आमा समूह, समाजघरलगायतका गरी २५ र व्यक्तिगत एक सय २२ वटा संरचना रहेका छन्।

व्यक्तिगत संरचनाहरूमध्ये ८७ बटा कच्ची र ३५ बटा पक्की संरचना छन्। खोलाघर मिचेर बनाइएका ती संरचनामध्ये पनि पाँचदेखि ८० प्रतिशत खोलाघरभित्रै रहेका टोली प्रमुख पौडेलले जानकारी दिए। खोलाको सिमाना अतिक्रमणसँगै खोलाको वरिपरि निर्माण गरिएका घरको फोहोर शौचालय, नाला र फोहाेरपानी फाल्ने पाइपसमेत सीधै खोलामा मिसाइएको भेटिएको थियो।

पोखराका विभिन्न भागमा रहेका मानव बस्तीको बीचबाट बग्ने फिर्केमा फोहोर मिसाउँदा देशकै पर्यटकीय केन्द्र फेवातालमा प्रदूषण बढ्दै गएको छ। खोलाको किनारमा रहेका बस्तीबाट फालिएका फोहाेरहरू बगेर सीधै तालमा गएर मिसिने भएकाले तालमा प्लास्टिकलगायतका अन्य फोहाेरले प्रदूषण बढेको हो।

बगेर गएका प्लास्टिकजन्य फोहोरमैलाका कारण फेवातालको ड्यामसाइडस्थित गाईघाटमा करिब १० रोपनी पानीको भूभाग टापुमा परिणत भइसकेको छ। फिर्केबाट बगेर गएका फोहाेरहरूका कारण तालको अस्तित्व नै संकटमा परेपछि ताल जोगाउने उद्देश्यसहित ६५ वटा संघसंस्था मिलेर फिर्के बुलौदीखोला सरसफाइ अभियानसमेत सञ्चालन हुँदै आएको थियो। यद्यपि, सो अभियान भने कोरोना संक्रमणपछि रोकिएको छ।

५८४ स्थान पिलर गाडियो, २३९ स्थानमा चिह्न लगाइयो
सीमांकन र रेखांकनका क्रममा पाँच सय ८४ स्थानमा पिलर गाडिएको छ। जमिनको बनाबटसँगै संरचना बनेको स्थानहरूमा पिलर गाड्न सम्भव नभएपछि त्यस्ता दुई सय ३९ स्थानमा भने चिह्न लगाइएको छ।

फिर्केको सीमांकन र रेखांकनको काम यो पहिलोपटक भने होइन। यसअघि फागुन ०७५ मा  महानगरले इन्जिनियर महेन्द्र गोदारको नेतृत्वमा एक टोली गठन गरी खोलाको सीमांकनको काम सम्पन्न गरेको थियो। त्यस समय खोलाघरसँगै खोला किनारबाट दायाँबायाँ पाँच–पाँच मिटर मापदण्ड कायम गरी सीमांकन गरिएको थियो।

त्यसवेला एक सय ९२ स्थानमा खोला मिचेर संरचना निर्माण गरेको भेटिएको थियो भने खोलाको किनारबाट वारि–पारि पाँच–पाँच मिटर मापदण्ड लगाएर जग्गा छुट्याउने कामसमेत भएको थियो। ०७५ सालमा भएको सीमांकनलाई वास्ता नगरी महानगरले हाल पुनः मापदण्ड यकिन नगरी खोलाघर छुट्याउने काम मात्र गरेको छ। खोलाघर छुट्याउने काम सम्पन्न भए पनि महानगरले दायाँ–बायाँ मापदण्ड कति गर्ने भन्नेमा केही निर्णय गरेको छैन। 

महानगरपालिका प्रवक्ता मोतीलाल तिमिल्सिनाले खोलाघर छुटयाउने काम भएकाले सुरुमा त्यसलाई क्लियर गर्ने जानकारी दिए। खोलाघर क्लियर गरेपछि यसअघि रहेको खोलाको १० मिटरको मापदण्ड त्यत्ति नै गर्ने कि के गर्ने भन्नेमा छलफल गरेर निर्णय गर्ने जानकारी दिए।

सुझावित समाचार