आयातित प्रविधि र प्राविधिक परनिर्भरता

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

प्राविधिक परनिर्भरतालाई हटाउन नसके पनि कम गर्न सकिन्छ, यसका लागि सरकारले देशमै प्रविधि विकास गरी दक्ष जनशक्ति उत्पादन बढाउनुपर्छ 

प्रसिद्ध अमेरिकी  इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनी आर्कको २०२३ आर्क इन्भेस्ट रिपोर्टअनुसार  एआई, ब्लकचेन, डिजिटल वालेट, इन्टरनेट अफ थिंग्स, मोबाइल यन्त्र, ब्याट्री प्रविधि, स्वायत्त गतिशीलता, क्लाउड कम्प्युटिङलगायतका १४ प्रविधि विश्व अर्थतन्त्रमा प्रचलनमा छन् । तर, नेपालमा प्रविधिको विकास नहुँदा र आयात गरी नेपालले उपयोगमा ल्याउँदा धेरै विदेशी मुद्रा बाहिरिएको छ । नेपालले जलविद्युत् प्रविधि, विद्युतीय सवारीसाधन, शिक्षा, सौर्य ऊर्जा, चिकित्सा, रोग नियन्त्रण तथा उपचार तत्व, कृषि र पशुपालन प्रविधि, पर्यटन र आवासन प्रविधिजस्ता  आयातित प्रविधि प्रयोग गर्दा र प्राविधिक परनिर्भरताले बर्सेनि अर्बांै रकम बाहिरिएको छ । 

आधुनिक विज्ञान र प्रविधि क्षेत्रमा ढिलो  सुरुवात हुँदा नेपाल विश्वमा धेरै पछाडि छ ।  आठ हजार मिटर अग्ला विश्वका ६० प्रतिशत हिमाल, जलस्रोतमा धनी, युरेनियमसहित बहुमूल्य खानी, प्राकृतिक विविधताको अनौठो संगम, पर्यटनको अपार सम्भावना, जडीबुटीसहितका थुप्रै सम्भावना बोकेको हाम्रो देश आर्थिक विकासमा विश्व र दक्षिण एसियामा समेत पछि परेको छ । वर्ल्ड हेरिटेज फाउन्डेसन संस्थाका अनुसार आर्थिक समृद्धिको हिसाबले २०२३ को अर्थतन्त्र सूचकांकमा नेपाल १४२औँ स्थानमा छ र एसिया–प्यासिफिक क्षेत्रका ३९ देशमा ३०औँ स्थानमा छ ।

यसले नाजुक अर्थव्यवस्थालाई संकेत गर्छ । २०१८ देखि २०२३ सम्म आइपुग्दा नेपालको स्थान खस्कनु र आर्थिक विकास क्रम घटेर आर्थिक मन्दी छाउनुमा प्रविधिको सिजना गर्न नसक्नु हो । भएको विशेषज्ञ तथा विज्ञ पनि उपयुक्त अवसरको खोजीमा बिदेसिने प्रवृत्तिले देशले नवीन उत्पादन, खोज अनुसन्धान र आवश्यक पर्ने परामर्श, विशेषज्ञ सेवा, प्राविधिक तथा अनुसन्धानकर्ताको खोजी गर्दा विदेशीको भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

आयातित प्रविधि र प्राविधिक परनिर्भरता रहँदा समृद्धिमा धेरै योगदान गर्न सक्ने क्षेत्र खनिज तथा खानीजन्य पदार्थ हो । यसबाट कुल गार्हस्थ्य उत्पादनमा २०१० को ८,५२४ मिलियन बाट २०२२ मा आइपुग्दा १६,८५३ मिलियन नेपाली रुपैयाँ पुगेको छ । एक दशकयता दोब्बर बढ्दा पनि कुल गार्हस्थ्य उत्पादनमा खानीको योगदान १ प्रतिशतभन्दा कम हुनु चिन्ताजनक विषय हो । नेपालमा फलाम, तामा, सिसा, अभ्रख, म्याग्नेसाइट, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, युरेनियमलगायत बहुमूल्य खनिज पदार्थ भए पनि प्रविधि र प्राविधिकको कमीले गर्दा र यसको निम्ति अरू देशमा भर पर्नुपर्ने बाध्यताले  यसको विकास हुन सकेको छैन । 

अर्थतन्त्रमा प्रविधिसहितको प्राविधिक परनिर्भरता के हो ? : अर्थतन्त्रमा प्रविधि र प्राविधिक परनिर्भरता भन्नाले विकास निर्माणदेखि  योजनामा क्षमतावान् मानिस तथा मेसिन औजार प्रयोग गर्दा वा योजना सञ्चालनार्थ प्रणाली जडानमा, विदेशी वा तेस्रो पक्षमा भर पर्नुपर्ने अवस्थालाई बुझाउँछ । परनिर्भरता भनेको व्यापार, उत्पादन, वितरण, वित्तीय, औद्योगिक तथा सामाजिक क्षेत्रमा नयाँ तथा उन्नत प्राविधिक उत्पादन, तथा प्रवद्र्धन गर्दा स्वयं सक्षम हुन नसक्नु हो । प्राविधिक परनिर्भरताले देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विकासमा असर गर्छ । प्रायः संवेदनशील, संरचनात्मक र प्रवृत्तिगत परनिर्भरता गरी तीन किसिमका प्रविधिसहितको प्राविधिक परनिर्भरता प्रचलनमा आएको देखिन्छ ।

संरचनात्मक प्राविधिक परनिर्भरता : यो भनेको आर्थिक क्रियाकलापमा निश्चित कार्य वा प्रक्रियाका लागि प्रविधिमा हुने निर्भरतालाई बुझाउँछ । व्यावसायिक गतिविधिलाई  व्यवसायी र उद्योगले व्यवस्थित गर्न कम्प्युटर प्रणाली, क्लाउड सेवा वा विशेष सफ्टवेयर सञ्चालन, सञ्चार र तथ्यांक विश्लेषण व्यवस्थापन आदिमध्ये कुनै एकको अनुपस्थितिमा यसले व्यवसायिक तथा प्रवद्र्धनात्मक क्षमतालाई उल्लेखनीय रूपमा बाधा पुर्याउन सक्छ ।

संवेदनशील प्राविधिक निर्भरता : यसले आर्थिक प्रणालीका प्रविधिबीचको विशिष्ट र महत्वपूर्ण सम्बन्धलाई जनाउँछ । यसले स्थिरता र प्रणालीको कार्यक्षमतामा महत्वपूर्ण प्रभाव पार्ने हुँदा प्रणालीबीच उद्देश्य प्राप्त गर्न एक–अर्कोमा निर्भर रहन्छ । जटिल प्रणालीको विश्वसनीयता र मजबुती सुनिश्चित गर्न यो निर्भरताको व्यवस्थापन गर्नु महत्वपूर्ण छ । 

प्रवृत्ति प्राविधिक निर्भरता : यसले आधुनिक जीवनमा प्रविधिमा निर्भरताको प्रचलित झुकाव वा ढाँचा जुन समयको साथसाथै सबै क्षेत्रका कार्यहरू प्रविधिमा निर्भर हुँदै गएको संकेत गर्छ । यो निर्भरता आजको संसारमा एक सामान्य प्रवृत्ति हो । तर, यसले  सुरक्षा, गोपनीयता र प्रविधिमा अत्यधिक निर्भरताको सम्भावित जोखिमसँग सम्बन्धित चुनौती खडा गरेको छ । 

अर्थतन्त्रमा किन प्राविधिक परनिर्भरता हानिकारक छ ?
प्राविधिक निर्भरता आत्मनिर्भरताको विपरीत मान्न सकिन्छ । उपभोग्य वस्तु तथा सेवा आयात गर्नुपर्ने अवस्थामा प्राविधिक निर्भरता धेरै उच्च हुन्छ ।  वैज्ञानिक विज्ञहरूको संख्या, अनुसन्धान र विकास खर्च, सम्भावना भएका क्षेत्रको प्रविधि र यसको सञ्चालनार्थ चाहिने प्राविधिक नहुँदा वा कम हुँदा प्राविधिक निर्भरताको अवस्था रहन्छ । द्रुत गतिको विकासमा बाहिरी प्रविधि र प्राविधिक प्रयोग स्वाभाविक भए पनि अर्थतन्त्रमा प्राविधिक परनिर्भरता अनेक कारणबाट हानिकारक छ । यसले अर्थतन्त्रलाई अस्थिर बनाई समस्या खडा गरी अर्थतन्त्रको दीर्घकालीन समृद्धिमा असर पुर्याउन सक्छ ।

सिर्जनशीलता र अभियान्त्रीकरणमा कमी : अर्थतन्त्रमा प्राविधिक परनिर्भरता भएमा नवीन प्रविधि प्रणालीको विकास र विस्तारमा कमी आउनुका साथै प्रविधिमा अवसर खोज्ने प्रवृत्तिमा कमी आई आपूर्ति बढ्छ ।

अर्थव्यवस्थामा परिवर्तनशीलताको कमी : परनिर्भरता भएको देशको अर्थव्यवस्था सुधार्न बढी समय लाग्छ । साथै, विदेशी उपकरण, सेवा तथा प्रविधि उपयोगमा भुक्तानी  गर्दा विदेशी मुद्रा सञ्चितिमा कमी आई बजार असन्तुलित हुन्छ । नेपालमा अधिक परनिर्भरता भएकाले संरचनात्मक परिवर्तन कठिन छ, जसले समग्र अर्थतन्त्रलाई नै दूषित बनाएको छ ।

यस्तै, लैंगिक, जातीय, भाषा र सांस्कृतिक संरक्षणको खतरा पुर्याउँछ ।  विदेशी तथा आयातित प्राविधिक संस्थाहरूले स्थानीय सांस्कृतिक परम्परालाई तोड्ने वा खलल पुर्याउने काम पनि गरेका छन् । सम्बन्धित सेवाको सुरक्षा र गोपनीयतामा पनि यसले समस्या पैदा गर्न सक्छ । सञ्चार, बैंकिङ, व्यापारजस्ता क्षेत्रमा साइबर अपराधको खतरासमेत बढ्छ । यसरी प्राविधिक परनिर्भरताले  अर्थतन्त्रको समृद्धि र विकासमा असर गरी उद्योग, व्यवसाय, नवप्रवर्तन, आविष्कार, सिर्जनशीलता र यान्त्रिकीकरणमा नकरात्मक असर पुग्छ । 

परनिर्भरता निम्त्याउने कारण र समाधानका उपाय : देशले विविध वस्तु तथा सेवा उत्पादन गर्दा, कुनै आयोजनामा विशेष क्षमताको विज्ञ सेवा लिँदा वा नयाँ कामकाजी प्रविधि बजारमा आउँदा नयाँ प्रविधि प्रयोगमा ल्याउनुपर्ने अवस्थामा चाहिने प्रविधि र प्राविधिक विदेशमा निर्भर रहनु स्वाभाविकै हो । समग्र आर्थिक विकासका लागि प्रविधिको प्रयोगविना सम्भव नहुने भए पनि प्रविधि र प्राविधिकको व्यवस्थापन मुलुकमा सम्भव नहुनाले परनिर्भरता बढेको छ ।

यसरी भएको परनिर्भरतालाई स्वदेशी प्रविधिको प्रोत्साहन, प्रविधिको अनुसन्धान र नवीन सिर्जनशीलतामा जोड, सरकारी नीति र नियमको प्रोत्साहन, अध्यन अनुसन्धानमा जोड, प्राविधिक नेतृत्वको विकास गर्न र जनचेतना संरक्षण सचेतनाजस्ता प्रक्रिया अपनाई कम गर्न सकिन्छ । प्राविधिक परनिर्भरतालाई पूर्ण रूपमा हटाउन कठिन भए पनि कमी गर्न सरकारले प्रविधिलाई देशमै विकास गर्ने, आवश्यक प्राविधिक दक्ष जनशक्ति उत्पादन बढाउनुपर्छ ।

(थापा अर्थशास्त्रका प्राध्यापक हुन्)

सुझावित समाचार