खेलाडीसँग नयाँ सम्झौता गर्न पिसिबी तयार

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) राष्ट्रिय खेलाडीसँग सम्झौता गर्न तयार भएको छ । खेलाडी र बोर्डबीच दुई महिनादेखिको विवाद अन्त्य भएको एजेन्सीले जनाएको छ । पिसिबी एसिया कपअगाडि नै खेलाडीसँग नयाँ सम्झौताका साथ अगाडि बढ्ने मनस्थितिमा छ । यसअघि खेलाडीले अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध हुन पिसिबीले एनओसी पत्र सहजै उपलब्ध गराउनुपर्ने माग राखेका थिए । पिसिबीले एनओसी पत्र समयमै नदिँदा खेलाडीले केही फ्रेन्चाइज लिग गुमाएको अवस्था थियो । 

घरेलु क्रिकेटबाट खासै आम्दानी नहुँदा पाकिस्तानी खेलाडी विश्वका अन्य फ्रेन्चाइज लिगबाट राम्रो कमाइ गर्छन् । तर, पिसिबीले उनीहरूलाई ती फ्रेन्चाइज लिग खेल्न अनुमति पत्र समयमै दिने गरेको छैन । यसपटकको नयाँ सम्झौतामा सहिन अफ्रिदी पहिलो श्रेणीमा रहने पक्का छ । पिसिबीले सम्झौता गरेका खेलाडीलाई कम्तीमा दुई वर्ष पाकिस्तान क्रिकेट लिगमा आबद्ध हुनुपर्ने जनाएको छ । 

उनीहरूले अनिवार्य रूपमा पिएसएल लिग खेल्नुपर्नेछ । केन्द्रीय सम्झौता नभएका खेलाडीले सहजै रूपमा अन्य विदेशी लिगमा खेल्न पाउने भएका छन् । उनीहरूलाई ड्राफ्टमा पिसिबीले सहजीकरण गर्नेछ । पिसिबीका अध्यक्ष नजम सेठीले खेलाडीलाई फाइदा हुने गरी सम्झौता हुन लागेको जनाएका छन् । पहिलो श्रेणीमा रहेकाले कम्तीमा वार्षिक बोर्डबाट १५ हजार नौ सय ९० अमेरिकन डलर पाउनेछन् । 
 

See More On

सुझावित समाचार