लम्पी स्किनबाट मरेका पशुको राहत दिन कार्यविधि बन्दै छ : कृषिमन्त्री

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुहरूको सबै क्षतिपूर्ति गर्न सकिनेमा आशंका व्यक्त गरेका छन्। किसानलाई सम्पूर्ण क्षतिपूर्ति दिन नसकिए पनि राहत दिने गरी कार्यविधि बनाउने प्रक्रिया अघि बढेकाे उनले प्रस्ट पारे।

बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले भने, ‘लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भयो। किसानहरूलाई ठूलो क्षति भयो। क्षतिपूर्ति नै त गर्न सक्दैनौँ होला। अरू सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ। कमसेकम सरकारको तर्फबाट राहत दिनुपर्छ भन्ने हिसाबले प्रधानमन्त्रीज्यूकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधिलगायतका प्रक्रियालाई अगाडि बढाएका छौँ। कार्यविधि पास हुनेबित्तिकै राहत दिन्छौँ।’

लम्पी स्किनबाट अहिलेसम्म कुल १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएकाे मन्त्री भुसालले जानकारी दिए। चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको उल्लेख गर्दै उनले एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेका बताए।

‘उपचारका लागि टोली खटाउनेदेखि तथ्यांकहरू लिने काम गर्यौँ। सचेतनाका लागि ब्रोसरहरू बनाएर वितरण गर्ने काम पनि गर्यौँ। लम्पी स्किनविरुद्ध भ्याक्सिन तान्जानिया, टर्की र जोर्डनबाट आयातको काम पनि गर्यौँ। अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ। ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ,’ उनले भने।

सुझावित समाचार