रुपन्देहीको कोटिहवास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेबापत लाग्ने सम्पूर्ण कर राज्यलाई तिर्न तयार रहेको नयाँ सञ्चालकले बताएका छन् । अस्ट्रेलियन बहुराष्ट्रिय कम्पनी सिलभर हेरिटेज ग्रुपको लगानी रहेको रिसोर्ट गैरआवासीय नेपालीहरूले खरिद गरेका हुन् ।
सिलभर हेरिटेज लिमिटेडमा रहेको अस्ट्रेलियन कम्पनीको सबै सेयर गैरआवासीय नेपालीद्वारा अमेरिकामा स्थापना गरिएको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । टाइगर प्यालेस रिसोर्ट खरिद–बिक्रीको सम्पूर्ण डिल विदेशमा गरिए पनि नेपालको कानुनअनुसार सरकारलाई बुझाउर्ने कर तिर्न तयार रहेको उनले बताए ।
अस्ट्रेलियन सिलभर हेरिटेज ग्रुपले करिब पाँच अर्ब लगानीमा ठूलो क्यासिनोसहितको पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर, कोभिड महामारी र चरम आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन ।
अस्ट्रेलियन कम्पनीले गरेको लगानी र नेपालको व्यवसायलाई समेत हेरेर १५ मिलियन अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ)मा सबै सेयर गरिद गरेको अध्यक्ष सुवेदीले बताए । रिसोर्ट १४ जुलाई २०२३ मा किनबेच भएको उनको भनाइ छ । लामो समयदेखि पूर्ण सञ्चालनमा आउन नसक्दा रिसोर्ट धराशयी भई बन्द हुने अवस्थामा पुगेको थियो । उनले भने, ‘रिसोर्टमा भएको बैंक ऋणको दायित्व, अन्य व्यावसायिक दायित्व र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रूपमा जर्जर भएको रिसोर्ट सञ्चालनका लागि सेयर खरिद कारोबार रकमसमेतलाई जोड्दा करिब चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।’
गैरआवासीय नेपालीहरूले अमेरिकामा खडा गरेको कम्पनीमार्फत अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सिर्जना भए प्रचलित कानुनबमोजिम लाग्ने सबै कर कानुनले तोकेको म्यादभित्र तिर्ने अध्यक्ष सुवेदीले घोषणा गरे । ‘रिसोर्ट किनबेच भएको भर्खर एक महिना भएको छ, कर तिर्न अझै पर्याप्त समय छ,’ उनले भने, हामीले कर तिर्न हिसाब गरिरहेका छौँ, हामी कर दायित्व तिर्न आउँछौँ भनेर सम्बन्धित कार्यालयलाई पनि जानकारी गराइसकेका छौँ ।’
अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै कसरी रिसोर्ट खरिद गर्नुभयो भन्ने प्रश्नमा नयाँ व्यवस्थापनले अदालतको आदेश मनन गरेर कारोबार गरेको बताए । घाटामा रहेको रिसोर्ट खरिद गरेर सफल रूपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरूमा लगानी गर्ने विश्वास पैदा नहुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने अध्यक्ष सुवेदीले विश्वास व्यक्त गरे । टाइगर प्यालेस रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन नसक्दा धेरैले रोजगारी गुमाउनुका साथै सरकारले करोडौँ राजस्व गुमाइरहेको थियो । रिसोर्टले नेपाल बैंकलाई तिर्नुपर्ने साँवा–ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।