हिमालयन म्युचुअल फन्डको पहिलो बन्दमुखी योजना निष्कासन हुने

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्कासन हुने भएको छ । योजना हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेड लगानी व्यवस्थापनमा हुन लागेको हो । 

कोष व्यवस्थापक हिमालयन क्यापिटलले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीबजारको नवीनतम तथा उत्तम अभ्यास अपनाई गर्ने जनाएको छ । 

योजनाको प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरले १० करोड एकाइले हुन आउने कुल एक अर्ब रुपैयाँबराबरको हुने जनाइएको छ । जसमध्ये न्यूनतम एक करोड ५० लाख एकाइ वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइ स्वीकृत विवरण पुस्तिकाको सर्तअनुसार बिक्री गर्ने जनाइएको छ । साउन ३२ गतेदेखि छिटोमा भदौ चार र ढिलोमा भदौ १५ गतेसम्म बिक्री खुला गर्ने उल्लेख छ । 

योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ प्रतिफलसहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने क्यापिटलको भनाइ छ । 

सुझावित समाचार