नेपालगन्ज उपमहानगरभित्रका घरको जोखिम बिमा गरिने भएको छ । उपमहानगरपालिकाले पहिलो चरणमा वडा नं. ३ र ७ का आवासीय घरको जोखिम बिमा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए । बाक्लो र घना बस्ती भएकाले पहिलो चरणमा उक्त वडाका आवासीय घरको जोखिम बिमा गर्न लागिएको उनको भनाइ छ । यी दुई वडा नेपालगन्जका सबैभन्दा पुरानो बस्ती भएकाले अत्यधिक घना बस्ती, साँघुरा सडक र अव्यवस्थित बसोवास छ । ‘यी वडाका बस्ती विपद्को उच्च जोखिममा भएकाले पाइलट प्रोजेक्टको रूपमा यहाँका आवासीय घरको जोखिम बिमा गर्न थालिएको हो,’ रिजालले स्पष्ट पारे ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विपद्बाट हुने जोखिम न्यूनीकरण र सर्वसाधारणलाई आर्थिक भार कम गर्न आवास जोखिम बिमा लागू गरिएको बताए । उनले आवासीय घरको विपद् जोखिम बिमा गर्ने नेपालगन्ज उपमहानगरपालिका देशकै पहिलो भएको दाबी गरे । उनले भने, ‘नागरिकलाई सेवा, सुविधा र सुरक्षा प्रदान गर्न आवास जोखिम बिमा सुरु गरिएको छ ।’
१५ लाख रुपैयाँ बिमाको प्रिमियम शुल्क उपमहानगरले तिरिदिने भएको छ । ‘न्यूनतम १५ लाख रुपैयाँबापतको प्रिमियम शुल्क उपमहानगरले व्यहोर्नेछ । त्योभन्दा माथिको बिमा बनाउनुपर्ने भए थप रकम सम्बन्धित घरधनीले तिर्नुपर्नेछ,’ प्रमुख विष्टले भने, ‘व्यापारिक प्रयोजनका घरको बिमा गराउन प्रोत्साहन गरिनेछ ।’ उपप्रमुख करुद्धिन राईले नेपालगन्ज उपमहानगरपालिकाका अन्य वडामा क्रमशः लागू गरिँदै लगिने बताए । उनले आवासीय घरको जोखिम बिमासँगै स्वास्थ्य बिमा पनि गरिने बताए । ‘आमनागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न बिमा कार्यक्रम लागू गरिनेछ,’ उनले भने । जोखिम बिमा कार्यक्रमका लागि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर)ले प्राविधिक सहयोग गर्दै आएको छ । वडा नं. ३ र ७ को अध्ययन गरी जोखिमपूर्ण घरको पहिचान, खुला ठाउँ तथा दमकल पुग्ने सडकलगायतको नक्सांकन गरिएको छ । नेपालगन्जका साँघुरा गल्लीमा पस्नका लागि मोटरसाइकल दमकलको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए ।
कार्यक्रममा युनिसेफका अधिकृत नरेश निदालले लुम्बिनी प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताउँदै नेपालगन्ज पनि उच्च जोखिममा रहेको बताए । ‘भूकम्पको अवस्थालाई अनुसन्धान गरेर नेपालगन्जका केही वडालाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘विपद्बाट हुने नोक्सानीलाई कम गर्ने बिमा कार्यक्रमको मुख्य उद्देश्य हो ।’ यस्तै, नेपालगन्ज उपमहानगरपालिका विपद् सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पनि विपद्बाट हुने क्षतिको जनतामा प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले जोखिम बिमा कार्यक्रम लागू गरिएको बताए ।