सिआइबीको अनुसन्धान निष्कर्षतिर, तीन सयभन्दा धेरैविरुद्ध मुद्दा दायर हुने

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण
सिआइबीको अनुसन्धान निष्कर्षतिर, तीन सयभन्दा धेरैविरुद्ध मुद्दा दायर हुने

फाइल तस्बिर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । केही दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पठाउने उसको तयारी छ । 

सिआइबीले पक्राउ परेका २० अभियुक्तलाई अनुसन्धानका लागि भनेर बुधबार अन्तिमपटक म्याद थप्दै छ । संगठित अपराधसम्बन्धी कसुरमा बढीमा ६० दिनसम्म हिरासतमा राख्न पाइने प्रावधान छ । सिआइबीले अभियुक्तलाई थुनामा राखेको मंगलबार ५० दिन भएको छ । 

सरकारी वकिलले अभियोजनका लागि करिब एक साताको समय माग गरेको छ । जसअनुसार सकेसम्म शुक्रबार नत्र आइतबारसम्म रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन सिआइबी तयारी छ । 

सिआइबीले तीन सयभन्दा धेरैलाई प्रतिवादी बनाई मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । जसमध्ये २० जना मात्र सिआइबी थुनामा छन् । प्रतिवादी पक्राउ पर्न थालेलगत्तै धेरैजना भागेकाले प्रहरीले पक्राउ गर्न सकेन । कतिपय विदेशमा भागेकाले नेपाल ल्याउन समस्या भएको सिआइबी स्रोत बताउँछ । 

सिआइबीको छानबिन लगभग पूरा भएपछि मन्त्रिपरिषद्का पदाधिकारीमाथि अनुसन्धानका लागि सर्वाेच्च अदालतले आदेश दिएकाले सो विषयले अनुसन्धान लम्बिएको हो । गत २१ साउनमा सर्वाेच्चले नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन भनेको थियो । 

जसअनुसार त्यससम्बन्धी निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि कसरी अनुसन्धान गर्ने भन्नेमा अझै अन्योल छ । उनीहरूलाई बयानमा बोलाउने निर्णय सिआइबीबाट भइसकेको छैन । 

पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलगायत विरुद्ध भने पक्राउ पुर्जी नै जारी भइसकेको छ । अहिलेसम्मको सिआइबीको अनुसन्धानमा तत्कालीन मन्त्रीसम्मलाई प्रतिवादी बनाउनुपर्ने राय छ । सिआइबीले संगठित अपराध तथा किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलसँग छलफल भइरहेको बताउँछिन् । मन्त्रिपरिषद्का पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने अदालतको आदेशका विषयमा पनि परामर्श भइरहेको उनको भनाइ छ । 

(*यसअघि प्रकाशित समाचारमा माधवकुमार नेपालसँग बयान लिएको तथ्य गलत पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ – सम्पादक)
 

सुझावित समाचार