कर्णाली पर्यटन उद्यमी समाजले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दुर्गम क्षेत्रको (स्टल) उडानमा गरिएको कडाइ खुलाउनका लागि पहलकदमी गरिदिन आग्रह गरेका छन् । यता नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने मनसुनमा खराब मौसमका कारण हुने हवाई दुर्घटना कम गर्न दुर्गम क्षेत्रको भिज्युअल फ्लाइट रुल्स (भिएफआर) उडानमा कडाइ गरेको दाबी गरेको छ ।
कर्णाली प्रदेशका सांसद तथा नेताहरूसमेत सहभागी भएको भेटवार्तामा प्रधानमन्त्रीले दाहालले उडान खुलाउने विषयमा क्यानका महानिर्देशक प्रदीप अधिकारीसँग कुराकानी गर्ने आश्वासन दिएका छन् । ‘प्रधानमन्त्रीले आजै एयरपोर्ट जाँदा क्यानका महानिर्देशकसँग कुरा गर्छु भन्नुभएको छ,’ कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायले भने, ‘क्यानले रोकेको उडान खुलाउने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ ।’
प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष रोकायले हवाई उडान खुलाउनेदेखि हिल्सानाकाबाट भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान दिनका लागि चीनसँग कूटनीतिक पहल गर्न, हवाई टिकटमा लगाएको १३ प्रतिशत भ्याट हटाउन, कर्णालीका हिमालहरू पर्यटकलाई आरोहणका लागि खुला गर्न, कर्णाली राजमार्ग र विमानस्थलहरू सुधार तथा स्तरोन्नति गर्न, कर्णाली प्रदेशमा सहुलियतपूर्ण हवाई भाडा कायम गर्न, कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धन एवं विकासका लागि पर्यटन बोर्डमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गराउनेलगायत दर्जभन्दा बढी माग पेस गरेका छन् ।
प्रधानमन्त्रीले आजै एयरपोर्ट जाँदा क्यानका महानिर्देशकसँग कुरा गर्छु भन्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणले रोकेको उडान खुलाउने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ ।
देवीकृष्ण रोकाय, अध्यक्ष, कर्णाली पर्यटन उद्यमी समाज
क्यानले मनसुन अवधिभर दुर्गम उडानमा कडाइ गरेपछि कर्णालीका व्यवसायी, सांसद, नेतादेखि सर्वसाधारणसम्म आन्दोलित छन् । ‘हामीले प्रधानमन्त्रीसँग दुर्गम क्षेत्रमा उडानको अप्रेसन आवर खारेज गरेर पुरानै कायम गर्न भनेका छौँ,’ रोकायले भने, ‘रेस्क्यु उडान दिनभरि नै खुला गर्ने, तर कमर्सियल उडान किन रोक्ने, मौसम बिगिँ्रदा रेस्क्यु उडान जोखिममा पर्दैन ?’ हेलिकोप्टर र जहाजको व्यावसायिक उडानमा टाइम कार्ड लगाउन नहुने कर्णालीका पर्यटन उद्यमीहरूको माग छ ।
‘अप्रेसन आवर हटाएर मौसम खुल्दा दिनभरि नै उडान गर्न पाउने व्यवस्था गरिनुपर्छ, तर यसको मतलब मौसम बिगिँ्रदा पनि जोखिम मोलेर उडान गर्नुपर्छ भन्ने हाम्रो माग होइन,’ रोकायले भने, ‘मौसम सफा छ भने दिउँसोको उडान किन रोक्नुपर्यो ?’ सरकारले उडानमा कडाइ गर्दा समयमै अस्पताल पुग्न नसकेर हुम्लालगायत जिल्लामा धेरैले ज्यान गुमाउनुपरेको गुनासो छ । उनले भने, ‘अहिले हामीले सांकेतिक विरोध एवं दबाब दिइरहेका छौँ, यदि माग पूरा नभए सिंगो कर्णाली आन्दोलनमै उत्रिन्छ ।’
क्यानले ९० प्रतिशतभन्दा बढी हवाई दुर्घटना जहाज बादलभित्र छिरेकै कारण भएको बताएको छ । भिएफआर उडानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्डविपरीत पाइलटले इनरुटमा मौसम बिग्रिँदा पनि जोखिम मोलेर उडान गर्दा दुर्घटना बढेको क्यानको जिकिर छ । दबाबकै भरमा उडान खुलाउने पक्षमा नियामक निकाय देखिँदैन । मौसम सफा हुँदा उद्दार उडान, इमर्जेन्सी उडान, ढुवानीलगायत विशेष प्रकृतिका उडानलाई नरोकेको क्यानको भनाइ छ ।