कोसी प्रदेश सभाको बैठक १ भदौदेखि सुरु हुने

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेश सभाको बर्खे अधिवेशनको बैठक भदौदेखि सुरु हुने भएको छ।

प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार सभामुखको आदेशअनुसार १५ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेश सभाको अधिवेशन १ भदौदेखि सुरु हुने भएको हो। १५ असारमा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

स्थगित भएको बर्खे अधिवेशनको बैठक सञ्चालन भएपछि गठबन्धनबाट दोस्रोपटक मुख्यमन्त्री नियुक्त कांग्रेसका उद्धव थापाले विश्वासको मत लिने र एमाले नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराएर पारित गर्ने सरकारको योजना छ।मुख्यमन्त्री थापाले १० भदौभित्र प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पारित भइसक्ने र आफूले विश्वासको मत पनि लिइसक्ने बताएका छन्।

१ भदौदेखि सुरु हुने सभाको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्नेछिन्। कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएर वर्तमान गठबन्धन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन्। बहुमतको संसदीय अंकगणितले गर्दा कोसी प्रदेश सभामा दलहरूले सभामुख चयन गराउन चासो दिइरहेका छैनन् । प्रदेश सभा सचिवालयले भने उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गराउनका लागि सर्वदलीय पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ।

‘कोसी’ नामकरण भएपछि असन्तुष्ट रहेका पहिचानवादीहरूसँग उच्चस्तरीय समिति बनाएर सार्थक वार्ता गर्ने र आवश्यक परे नाम पनि संशाेधन गर्न सकिने मुख्यमन्त्री थापाले प्रतिबद्धता जनाएपछि जसपा पनि सरकारमा सहभागी भइसकेको छ । कोसी प्रदेश नाम शंसोधन गर्ने प्रतिबद्धता नआएसम्म सरकारमा पनि नआउने र गठबन्धनमा पनि सहभागी नहुने भन्दै जसपाले अड्को थापेको थियो । मुख्यमन्त्रीको प्रतिबद्धतापछि जसपाकी एक मात्र सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी छिन्।

सुझावित समाचार