आँखा पाक्ने रोगको प्रकोप बढेपछि मन्थलीका विद्यालयमा पठनपाठन बन्द

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका पाँचवटा विद्यालयको पठनपाठन बन्द गरिएको छ।

विद्यालयका अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माध्यमिक विद्यालयले आइतबारदेखि एक हप्ताका लागि पठनपाठन बन्द गरेको छ। प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार विद्यालयका नाै शिक्षक र चार सयभन्दा धेरै विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेको छ।

मन्थलीका अन्य चारवटा निजी विद्यालयले भने साउन ३१ गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गरेका छन्। जसमा तामाकोसी इंग्लिस बार्डिङ स्कुल, कर्कलादेवी बाेर्डिङ स्कुल, लिटिलस्टार इंग्लिस वोडिङ स्कुल र नर्मदेश्वर इंग्लिस बाेर्डिङ स्कुलले तीन दिनका लागि पठनपाठन बन्द गराएका हुन्।

पछिल्लो केही दिनयता रामेछापमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ। सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार लिन आउने बिरामीको संख्या निकै बढेको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिए।

उनका अनुसार अहिले दैनिक सरदर ५० को हाराहारीमा आँखाका बिरामी अस्पतालमा उपचार लिन आउने गरेका छन्। त्यस्तै, अन्य अस्पतालमा पनि दैनिक ५० देखि सयको हाराहारीमा आँखाका बिरामी उपचार लिन जाने गरेका छन्।

सुझावित समाचार