नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम तीन अर्बमाथि

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४.८१ अंकले बढेर दुई हजार ८०.८६ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.९९ प्रतिशत, फ्लोट इन्डेक्स ०.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका दुई सय ७१ कम्पनीका ९७ लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब एक करोड ८४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि वृद्धि भएको हो। यसअघिको कारोबार दिनमा दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो। 

आइतबार फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहबाहेक सबैमा वृद्धि भएको छ। लघुवित्त समूह सबैभन्दा धेरै ०.३५ प्रतिशतले घट्दा निर्जीवन बिमा समूहमा २.२१ प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, होटेल तथा पर्यटन समूह १.८७ प्रतिशत र बैंकिङ समूह १.०७ प्रतिशतले बढेको छ।

आज थ्री स्टार हाइड्रोपावर, अपर स्यान्जे हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा घोराही सिमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ७.१८ प्रतिशत र सिँगटी हाइड्रोको मूल्य ६.५५ प्रतिशतले घटेको छ।
 

सुझावित समाचार