चीनले अहिले उत्पादनको खर्च कम गर्न चाहेको छ, ता कि अन्य देशमा उत्पादन गर्नुभन्दा आयात नै सही विकल्प बनोस्
चीनको अर्थतन्त्रमा एउटा नयाँ मोड आएको छ । त्यो के भने विगत दुई वर्षमा जुलाई महिनामा देशमा उपभोक्ता सामानको मूल्य सामान्यभन्दा कम रह्यो । उपभोक्ता सूचकांकका अनुसार गत महिना उपभोग्य वस्तुको मूल्य वर्षभरिको तुलनामा ०.३ प्रतिशत थप कम भएको छ । चीनले डिफ्लेसन अर्थात् अवस्फीतिको सामना गर्नुपरेको छ । जब बजारमा वस्तुको माग कम हुन्छ, या उत्पादन आवश्यकभन्दा बढी हुन्छ र उपभोक्ताले पैसा खर्च गर्न नचाहँदा अवस्फीतिको स्थिति सिर्जना हुन्छ ।
विशेषज्ञका अनुसार अवस्फीतिको यो दबाबमा चीनले बजारमा माग बढाउने कोसिस गर्नुका साथै घरेलु बजारमा स्थिरता ल्याउनुपर्ने हुन्छ । गत हप्ताको आयात–निर्यात प्रतिवेदनलाई हेर्दा चीनको आयात–निर्यात दुवै कम देखिएको छ । उक्त प्रतिवेदनपछि अहिले सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ– के कोभिडपछि चीनको अर्थतन्त्र जुन हिसाबले रिकभरी हुने अपेक्षा थियो, सोअनुसार भएन ? या हालसालै चीनले आर्थिक स्थिति परिवर्तन गर्ने जुन नीति ल्यायो, कतै त्यसकै परिणाम त होइन ?
सामान्य रूपमा हेर्दा सस्तो सामान विश्वबजारमा पुगेको खण्डमा अन्य देशका कम्पनीमाथि नकारात्मक प्रभाव पर्छ । परिणाम, कैयौँ देशमा बेरोजगारी बढ्छ । जसले गर्दा कम्पनीहरूको नाफामा पनि स्वतः प्रभाव पर्छ ।
चीनसामु वर्तमान समस्या ः कोभिड महामारीसँग जुध्न चीनले सन् २०२० मा कडा प्रतिबन्ध लगाएको थियो । विश्वका लगभग सबैजसो देश महामारीबाट बिस्तारै बाहिर निस्के । ती देशको स्थिति पनि सामान्य बन्दै गयो । तर, चीनको अर्थतन्त्र भने संकटग्रस्त छ । एकातिर कोभिडका कारण सप्लाई चेन ठप्प भयो र चीनको घरेलु बजार रोकियो भने अर्कातिर अन्तर्राष्ट्रियस्तरमा अमेरिकासमेत केही देशले चीनसँगको व्यापारिक सम्बन्ध भंग गर्न तम्सिए ।
एकातिर कोभिडका कारण सप्लाई चेन ठप्प भयो र चीनको घरेलु बजार रोकियो भने अर्कातिर अन्तर्राष्ट्रियस्तरमा अमेरिकासमेत केही देश चीनसँगको व्यापारिक सम्बन्ध भंग गर्न तम्सिए
गत हप्ताको आयात–निर्यात तथ्यांकअनुसार गत वर्ष जुलाईको तुलनामा यो वर्ष चीनको निर्यात १४.५ प्रतिशतले कम रह्यो । यस्तै, आयातमा पनि १२.४ प्रतिशतले गिरावट आयो । चीनमा स्थानीय सरकार भारी कर्जाको बोझले थिचिएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न नियामकले कम्पनीमाथि लगाम लगाउने कोसिस गरेका छन् । जसले गर्दा युवावर्गमा बेरोजगारी दर उच्चस्तरमा पुगेको छ ।
विशेषज्ञहरू आयात–निर्यातमा देखिएको कमी चिन्ताको कारण बन्न सक्ने बताउँछन् । मानौँ, यही स्थिति अझै केही समयसम्म रहिरह्यो भने चीनको आर्थिक विकास दर यो वर्ष झनै कम हुनेछ । यसै पनि उपभोक्ताले कम खर्च गरिरहेको अवस्थामा उत्पादन पनि कम नै हुने र त्यसले झन् ठूलो बेरोजगारी बढाउन सक्छ । केही समययता चीनको घरजग्गा कारोबार (रियल स्टेट) बजार समस्याग्रस्त छ । देशकै ठूलो रियल स्टेट कम्पनी एभरग्र्यान्ड टाट पल्टिने स्थितिमा छ भने सरकारले यो सेक्टरलाई पुनः बचाउने कोसिस गरेको छ ।
चीनको स्थिर विकास दरमा कोभिड महामारीपछि सन् २०२२ मा उच्च गिरावट आयो । पहिले ६.० प्रतिशतबाट २.२ मा झर्यो । त्यसपछि २०२१ मा एकैचोटि ८.४ प्रतिशत पुग्यो । आयात–निर्यात दुवैमा गिरावट आउँदा विकास दर घटेर ३ प्रतिशतसम्म पुग्यो, जुन कोभिड महारमारीको वर्षलाई छोडेर सन् १९७६ पछि अहिलेसम्मकै कम हो ।
ट्रेडिङ इकोनोमिक्सका अनुसार चीनले जुन २०२३ मा २८५ अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात गरेको थियो । तर, जुलाईमा घटेर २८१ अर्ब डलर पुग्यो । यसैगरी, आयात पनि जुनमा करिब २१५ अर्ब अमेरिकी डलर रहेकामा जुलाईमा घटेर २०१ अर्ब डलरमा सीमित भयो । गत वर्षको निर्यातको तुलनामा यो वर्ष १२.४ प्रतिशत र आयात ६८ प्रतिशतले कम भएको देखिन्छ ।
यसको असर के हुन्छ ? : कोभिडपछि अधिकांश देशले लगाएको प्रतिबन्ध हटाए र उपभोक्ता अहिलेसम्म नगरेको खर्च गर्न थाले । परिणाम, बजारमा माग बढ्न थाल्यो र कम्पनी मागको आपूर्ति पूरा गर्न जुटे । यसैबीच रुस–युक्रेन युद्ध भयो । युद्धले ऊर्जाको मूल्य बढ्दै गर्दा केही चिजको माग अत्यधिक बढ्न थाल्यो । फेरि पनि नतिजा महँगी नै बढ्यो । तर, चीनमा भने यस्तो भएन । चिनियाँ अर्थतन्त्र कोभिडबाट निस्केलगत्तै केही समय अनपेक्षित रूपमा बढ्यो । तर, यहीबीचमा वस्तुको माग भने बढेन । सन् ०२१ फेब्रुअरीमा उपभोक्ता सूचकांकमा गिरावट आयो । यसरी मागमा लगातार गिरावट आयो । यो वर्षको सुरुमा कतिसम्मको स्थिति सिर्जना भयो भने कम्पनीले उत्पादन लागत निकाल्नसमेत सकेनन् ।
त्यसो त चीनले अर्थतन्त्र नियन्त्रणमै रहेको दाबी गर्न छोडेको छैन । तर, विशेषज्ञले भने सरकारले विकास दर बढाउन कुनै प्रभावकारी उपाय अवलम्बन नगरेको टिप्पणी गरेका छन् । लगानी गर्ने कम्पनी इएफजी एसेट म्यानेजमेन्टका डेनियल मर्रेका अनुसार महँगी बढाउने कुनै विशेष खालको क्याप्सुल हुँदैन । सकारकारले आफ्नो आर्थिक नीतिमा खर्च बढाउने, कर कम गर्नेजस्ता उपाय ल्याउनुपर्ने हुन्छ ।
चीन लड्न सक्ला त यो चुनौतीसँग ? : चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनले आयात–निर्यातमा आएको गिरावट, उपभोक्ता मूल्यमा आएको कमीलाई बेवास्ता गर्दै पुनः एकपटक उपभोक्ता सूचकांक उकालो लाग्ने दाबी गरेको छ । आफूहरूले लागू गरेका नीतिको प्रभाव देखिन थालेको र तत्काल धैर्य कायम गरेमा अर्थतन्त्र स्थिर हुने केन्द्रीय बैंकको भनाइ छ । यता, पिनप्वाइन्ट एसेट म्यानेजमेन्टका मुख्य अर्थशास्त्री जिवेइ झाङले सरकारले लागू गरेका नीतिको प्रभाव छिटै देखिनेमा आशंका व्यक्त गरेका छन् । उनी भन्छन्, ‘अवस्फीतिको चुनौतीसँग लड्न सरकारले अझै प्रभावकारी कदम उठाउनुपर्ने हुन्छ ।’
चिनियाँ अवस्फीतिको विश्वव्यापी असर : चीनले यस्ता धेरै वस्तु उत्पादन गर्छ, जसको बिक्री अन्य देशमा हुन्छ । चीनमा वस्तुकै मूल्य कम हुँदा त्यसको प्रत्यक्ष फाइदा बेलायतजस्ता देशलाई हुने देखिन्छ । कारण, उनीहरू चीनबाट सामान खरिद गर्छन् । सस्तोमा सामान खरिद गर्दा आयात बिल पनि स्वतः सस्तो हुन्छ । तर, यसको नकारात्मक असर देशको उत्पादनमा पर्छ । देशमै उत्पादन गर्ने कम्पनीले चिनियाँ सस्तो सामानको तुलनामा प्रतिस्पर्धा गर्न सक्दैनन् । यसले ती देशमा लगानी पनि कम आउन सक्छ भने बेरोजगारी दर पनि बढ्न सक्छ ।
पछिल्ला वर्षमा केही देशले चीनसँग आफ्नो उत्पादन कटौती गरी अन्य देशतिर लगाउँदै छन् । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको हवाला दिँदै अमेरिकी व्यापारका लागि चीन सुरक्षित देश नभएको भन्दै चीनस्थित अमेरिकी कम्पनीलाई त्यहाँबाट बाहिरिन आग्रह गरेका थिए ।
अहिले थुप्रै देशले चीनलाई उत्पादन केन्द्रका रूपमा देख्न चाहँदैनन् भन्ने विषय चीनलाई राम्रैसँग थाहा छ । यसैलाई मध्यनजर गर्दै चीनले उत्पादनको खर्च निकै कम गर्न चाहेको छ, ताकि अन्य देशभित्र उत्पादन गर्नुको साटो चीनबाट आयात नै सही विकल्प बनोस् ।
यही भविष्यलाई हेरी चीनले नीति तथा योजना बनाइरहेको छ । एकातिर आगामी दिनमा सप्लाई चेनको महŒवपूर्ण कडी बनोस् भन्ने सुनिश्चित गर्न खोजेको छ भने अर्कातिर घरेलु बजार पनि बलियो बनोस् भन्ने आशा राखेको छ ।