कतार फिफा विश्वकप विजेता लियोनल मेसीले आफ्नो लय जारी राख्दा मेजर सकर लिग क्लब इन्टर मियामीले लगातार पाँच जित निकाल्यो
कप्तान लियोनल मेसीले उच्च प्रदर्शन कायम राख्दा पछिल्लो पाँच खेलमा आठ गोल गरेका छन् । मेसीले आफ्नो लय जारी राख्दा मेजर सकर लिग क्लब इन्टर मियामीले लगातार पाँचौँ जित निकालेको छ । मेसी यसै सिजन अमेरिकाको इन्टर मियामीमा अनुबन्धित भएका थिए ।
शनिबार बिहान घरेलु मैदान भिआरबी पिएनके मैदानमा मियामीले एफसी चार्लाेटलाई ४–० ले हराउँदै लिग कपको सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गर्र्न मियामीले फिलाडेल्फिया युनियनसँग प्रतिस्पर्धा गर्नेछ । २० हजार घरेलु दर्शकमाझ मियामीलाई जित दिलाउन जोसेफ मार्टिनेज, रोबर्ट टेलर र मेसीले समान एक गोल गरेका थिए । चार्लाेटका एडिल्सन मालान्डाले आफ्नै पोस्टमा गोल गरेका हुन् ।
सुरुवातबाटै खेलमा पकड बनाएको मियामीले १२औँ मिनेटमा अग्रता बनाएको थियो । चार्लोटका खेलाडीले बक्सभित्र हातले बल छोएपछि रेफ्रीले मियामीलाई पेनाल्टी अवसर दिएका थिए । जहाँ मेसीले आफूले पेनाल्टी प्रहार गरेनन् । युवा खेलाडी मार्टिनेजलाई मौका दिए । मार्टिनेजले सहज फिनिसिङ गरेका हुन् । पछिल्लो खेलमा पनि मेसीले मार्टिनेजलाई नै यो अवसर दिएका थिए । ३२औँ मिनेटमा टेलरले मियामीको अग्रता २–० को बनाएका हुन् । डिआन्द्र येडलिनकोले मिलाएको पासलाई बक्सभित्रबाट टेलरले सहज गोल गरे ।
७८औँ मिनेटमा एडिसनले आफ्नै पोस्टमा बल छिराउन पुगे । थिआगो गोमेजले बक्सभित्र अनमार्क रहेका मेसीलाई मिलाएको बल रोक्ने क्रममा एडिसनले आत्मघाती गोल गरेका हुन् । मेसीले खेल सकिन चार मिनेटअघि गोल गरे । वैकल्पिक खेलाडी लिओनार्दाे काम्पानाको पासमा मेसीले गोल गरेका हुन् । यससँगै मेसी पाँचै खेलमा गोल गर्न सफल भएका छन् । चार खेल प्लेइङ सेटमा खेलेका मेसीले आठ गोल गरिसकेका छन् । डेब्यु खेलमा भने मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।