पूर्वविजेता जापान क्वार्टरफाइनलबाटै बाहिरिपछि नवौँ फिफा महिला विश्वकपमा बाँकी रहेका अन्य टोलीले उपाधि उचालेका छैनन्
युरोपियन राष्ट्र स्विडेनले पहिला सर्वाधिक विजेता अमेरिकालाई प्रिक्वार्टरफाइनलमा पाखा लगायो । त्यसपछि क्वार्टरफाइनलमा पूर्वविजेता जापानमाथि २–१ को सनसनी जित निकाल्यो । यस नतिजासँगै स्विडेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । जापान क्वार्टरफाइनलबाट बाहिरिएपछि अब विश्वकपमा नयाँ विश्वविजेता बन्ने निश्चित भएको छ ।
अन्तिम आठमा स्थान पक्का गरेको जापानबाहेक अन्य टोलीले उपाधि जितेका छैनन् । नवौँ संस्करणको विश्वकपमा स्पेनले पनि साबिक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पाखा लगायो । स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
पाँचौँपटक सेमिफाइनलमा स्विडेन
महिला विश्वकपमा जापानको उपाधि जित्ने अभियानमा स्विडेन बाधक बन्यो । न्युजिल्यान्डको अकल्यान्डको इडेन पार्कमा जापानविरुद्ध अमान्डा र फिलिपा एन्जलडेटले गोल गरे । सन् २००३ को उपविजेता स्विडेनले यसअघि १९९१, २०११ र २०१९ मा तेस्रो स्थान प्राप्त गरेको थियो । जापानकी होनोका हायासीले एक गोल फर्काइन् । खेलको ७६औँ मिनेटमा रिको युकी पेनाल्टीमा चुक्दा जापानले गोलअन्तर कम गर्ने अवसर गुमायो ।
युकीको प्रहार बारमा लागेर फर्कियो । खेलको ३२औँ मिनेटमा स्विडेनले १–० को अग्रता लियो । ५१औँ मिनेटमा एन्जलडेटले पेनाल्टीमा गोल गर्दै स्विडेनलाई २–० को अग्रता दिलाइन् । खेलको ८७औँ मिनेटमा हायासीले जापानलाई खेलमा फर्काउने प्रयास गर्दै गोल गरिन् । १० मिनेटको इन्जुरी समयमा जापानले खेल पकड बनाए पनि गोल बराबरी गोल फर्काउन सकेन ।
स्पेन पहिलोपटक अन्तिम चारमा
स्पेनिस खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध मैदानबाहिर विवादित बनिरहेको छ । तर, मैदानमा उनीहरू संगठित भएर प्रतिस्पर्धा गरिरहेका छन् । यसैको नतिजा स्पेन पहिलोपटक महिला विश्वकपको अन्तिम चारमा पुगेको छ । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीका १५ खेलाडीले प्रशिक्षक भिल्डालाई हटाउन माग राखेका थिए ।
न्युजिल्यान्डको विलिङटनमा साबिक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा स्पेन स्तब्ध बनायो । स्पेनलाई ऐतिहासिक सफलता दिलाउन १९ वर्षीय साल्मा पारालुएलोले गोल गरिन् । २०१५ मा स्पेनले पहिलोपटक विश्वकप खेलेको थियो । २०१९ मा अन्तिम १६ सम्म पुगेको स्पेनले तेस्रोपटकको प्रयासमा अन्तिम चारको स्थान पक्का पार्यो ।
स्पेनिस प्रशिक्षक भिल्डाले उपाधि जित्ने योजनाका साथ अस्ट्रेलिया र न्युजिल्यान्ड आएको बताए । ‘अन्तिम चारमा स्थान बनाएका छौँ, स्पेन यत्तिकैमा रोकिँदैन,’ उनले भने, ‘अब सेमिफाइनलको तयारी गर्नुपर्छ, त्यसपछि फाइलन खेल्दै उपाधि जित्ने हो ।’ नेदरल्यान्ड्स प्रशिक्षक आन्द्रेस जनकरले दुई राम्रा अवसर गुमाउँदा सोचेजस्तो नतिजा नआएको बताए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त ३० मिनेट सकिनु नौ मिनेटअघि साल्माले स्पेनका लागि निर्णायक गोल गरिन् । नेदल्यान्ड्सकी स्टेफनी भान डेरले एक गोल फर्काइन् । खेलको ८१औँ मिनेटमा मारियोनाले स्पेनलाई अग्रता दिलाइन् । ९० मिनेटपछिको इन्जुरी समयमा भान डेरले नेदरल्यान्ड्सलाई बराबरीमा ल्याइन् ।