इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्यापछि देशभर संकटकाल घोषणा

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

 इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ । दश दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीमा गोली हानी हत्या भएको हो ।

५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका वेला गोली प्रहार भएको थियो । हत्यापछि राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि संकटकाल घोषणा गरेका छन् । ‘राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको सुनिश्चित गर्न देशभर परिचालन गरिएको छ,’ लासोले एक सम्बोधनमा भनेका छन् । 

नेसनल एसेम्बलीका सदस्यसमेत रहेका भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीबीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारमध्ये एक हुन् । ल्याटिन अमेरिकामा अपेक्षाकृत, सुरक्षित र स्थिर देशका रूपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा वृद्धि भएको छ । आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागुऔषध तस्करी हो । भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो । त्यस क्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौजना घाइते भएका छन् । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 

सुझावित समाचार