नेपाली कांग्रेसको बहुप्रतीक्षित केन्द्रीय समिति बैठक सम्पन्न भएको पनि दुई साता पुगेको छ । झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा छलफलका विषयलाई लिएर आमकांग्रेसीजन मात्रै होइन, बाहिरका दल र आमनागरिकको व्यापक चासो बढेको थियो । दश दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका एजेन्डाभन्दा पनि यसपटक सामाजिक सञ्जालमार्फत बैठक लाइभ गरेको विषय बढी नै चर्चामा रह्यो ।
संसारमा पार्टीभित्रका छलफल र बहस सामान्यतः बन्द कोठाभित्रै हुने प्रचलन बढी छ । तर, यसपटकको केन्द्रीय समिति बैठकमा कांग्रेसले लाइभ प्रसारण गरिदिँदा संसारभर रहेका नेपालीले बैठकका छलफल, बहस र वादविवाद प्रत्यक्ष हेर्ने अवसर पाए । त्यसैले, पनि यसपटकको कांग्रेस केन्द्रीय समिति बैठक नेपाली राजनीतिकै ऐतिहासिक परिघटना सावित भयो ।
कांग्रेस बैठक बस्नुअघि सार्वजनिक रूपमा पार्टीभित्रका आरोप–प्रत्यारोपले केन्द्रीय समितिमा गर्मागर्मी हुने आकलन धेरैले गरेका थिए । नेतृत्वको कडा आलोचना हुने अनुमान धेरैको थियो । जुन कुरा स्वयं पार्टी सभापतिले पनि सोचेका थिए, तर बैठकमा आफूले सोचेजस्तो आलोचना नभएको भन्दै सभापतिले ठट्यौली पारामा सबैलाई धन्यवाद नै दिए ।
कांग्रेसको आगामी बाटो : पछिल्लो आमनिर्वाचनले नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । जसले गर्दा पुराना दलमाथि हरेक कोणबाट सच्चिने चुनौती थपिएको छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको झन्डै आठ लाख मत घटेको छ । एकातिर नयाँ राजनीतिक शक्तिको उदय भएको र अर्कातर्फ कांग्रेसजस्ता इतिहास र विरासत बोकेका पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा भएको अवस्थामा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकमा व्यापक चिन्तन र बहस हुने अनुमान थियो । तर, कांग्रेस बैठकमा जसरी पेचिलो रूपमा पार्टीका कार्ययोजनाबारे छलफल हुनुपथ्र्याे, त्यो हुन सकेन । बैठकमा उत्साहजनक रूपमा पार्टीको आगामी कार्यक्रमबारे छलफल नभए पनि कांग्रेसका महामन्त्री गगन थापाले पेस गरेको पार्टीको एक वर्षको कार्यतालिकालाई भने सकारात्मक रूपमा लिन सकिन्छ । पार्टीको एक वर्षको कार्यक्रमले टोल तहसम्मै पार्टीका गतिविधि सञ्चालन हुनेछन् ।
तर, के पार्टीको मौसमी कार्यक्रमले जनतालाई आकर्षित गर्न सक्ला ? नयाँ राजनीतिक दलहरूको प्रभाव र प्रवाहलाई यी कार्यक्रमले रोक्न सक्लान् ? यो अहं प्रश्न हो । पार्टीले विगतमा पनि विभिन्न समयमा जनताबीच जाने कार्यक्रम नगरेको होइन । ती कार्यक्रम कति प्रभावकारी भए ? वा किन कमजोर भए ? यसबारे पहिला मिहिन रूपमा छलफल गर्न सकेमा कांग्रेसले पार्टीका आगामी अभियानलाई परिणाममुखी बनाउन सक्छ ।
एकातिर कांग्रेसमा नेतृत्वको विकल्पको माग गर्दै रूपान्तरण अभियान चलिरहेको छ भने अर्कातर्फ अहिलेकै नेतृत्वको विकल्प खोज्नु हतारो हुने दाबी संस्थापन समूहको छ । यसरी पार्टीभित्रै आगामी बाटोका विषयमा स्पष्ट दृष्टिकोण नबन्दै तल्लो तहमा जाँदा यसको असर कस्तो पर्ला ? यतातर्फ पनि पार्टीले गम्भीरतापूर्वक सोच्न जरुरी छ । अहिले नेतृत्व परिवर्तनको समय हो वा एकताबद्ध भएर संगठन विस्तारमा लाग्ने समय हो ? पार्टी जनताबीच जाँदै गर्दा स्पष्ट साझा कार्यक्रम तयार गर्नुपर्छ, तर पार्टीभित्रको बहस र विवाद हेर्दा त्यस्तो कार्यक्रम तयार होला र एकढिक्का भएर पार्टी जनतामाझ जाला भनेर विश्वास गर्न सकिने आधार कम्तीमा अहिलेसम्म चाहिँ देखिन्न ।
नेतृत्वको कार्यशैली समयानुकूल छैन भने ऊ आफू पनि सच्चिन तयार हुनुपर्छ । नेतृत्वलाई गाली गरेर आफू शक्तिशाली बन्न खोज्ने सोच त्याग्न अरू पनि तयार हुनुपर्छ । एकताबद्ध र एकढिक्का कांग्रेस अहिलेको आवश्यकता हो ।
कांग्रेसले सुशासनको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । अहिलेको माग यही हो । जब भ्रष्टाचारको मुद्दा आउँछ, कांग्रेस बोल्दैन भन्ने आरोप सर्वत्र छ । अब यसलाई चिरेर जनतामाझ जाँदा सुशासनको मुद्दा बोकेर जानुपर्छ । कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्येक दुई महिनामा बोलाउने निर्णय गरिसकेको छ । जसअनुसार २ भदौका लागि बैठक बोलाइसकिएको छ । अब केन्द्रीय समिति बैठकमा नेतृत्वको बचाउ र आलोचनाभन्दा पनि जनताका जनजीविकाका विषयमा छलफल हुनुपर्छ । जनताले कांग्रेसले आफ्ना बारेमा चिन्तन गर्छ भन्ने विश्वास गर्ने वातावरण बनाउन जरुरी छ ।
नयाँ पुस्ता पार्टीप्रति कति आकर्षित छ भन्ने विषयमा नेतृत्व र सिंगो केन्द्रीय समिति गम्भीर बन्न जरुरी छ । पार्टीका सबै तहका निकायले पनि नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने विषयमा सोच्नुपर्ने वेला आएको छ । सामाजिक सञ्जालमा अभ्यस्त अहिलेको पुस्तालाई कांग्रेसको स्वर्णिम इतिहासबारे जानकारी दिनु त छँदै छ, साथै उनीहरूमा आशा र विश्वास ल्याउने नयाँ कार्यक्रमको खाँचो छ ।
पार्टीको केन्द्रदेखि वडा तहसम्म युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । साथै युवाको योग्यता, क्षमता, अनुभव र विज्ञताअनुसार पार्टीमा उनीहरूलाई भूमिका दिन कन्जुस्याइँ गर्नुहुन्न । कांग्रेस केन्द्रीय समिति बैठकमै प्रदेश सभापतिहरूले प्रदेश कमिटीको भूमिकाबारे प्रश्न उठाएका छन् । त्यसैले, सातवटै प्रदेश कमिटीलाई जिम्मेवारीसहित प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ ।
महामन्त्रीको प्रतिवेदनमा आमनिर्वाचनअघि पार्टीबाट उम्मेदवार तय गर्न प्राइमरी इलेक्सनको कुरा उल्लेख छ । यसको कार्यान्वयन हुन सके पार्टीमा नयाँ पुस्ताको आकर्षण त बढ्छ नै, निर्वाचित जनप्रतिनिधिको स्वीकार्यता पनि व्यापक रूपमा बढ्नेछ । साथै सार्वजनिक रूपमा पार्टीभित्रका आन्तरिक विवादका विषयमा टीकाटिप्पणी नगर्ने प्रचलन बसाउन सके पार्टीको जीवनमा त्यसले सकारात्मक प्रभाव पार्न सक्छ ।
कांग्रेस तीन तहकै सरकारमा ठूलो दलसहित महत्वपूर्ण भूमिकामा छ । क्रियाशील सदस्य संख्याका आधारमा पनि कांग्रेस देशकै ठूलो पार्टी हो । कांग्रेसमा अहिले आठ लाख ६६ हजार क्रियाशील सदस्य छन् । अब पाँच–६ लाख सदस्य थप गर्ने योजना छ । क्रियाशील सदस्य बनाउन अनलाइन फारमको व्यवस्था छ । क्रियाशील सदस्य बनाउँदैमा कांग्रेस बलियो हुन्छ भन्ने छैन । पछिल्लो समयमा उदाएका नयाँ दलको न त क्रियाशील सदस्य छन्, न त संगठन नै । त्यसैले, सदस्य संख्या बढाउनेभन्दा पनि आफ्नो पार्टीलाई जनतासँग जोड्ने कार्यक्रमलाई बढी प्राथमिकतामा राख्नुपर्छ ।
जनताले खोजेको कांग्रेस : देशको नीति, योजना र बजेट तर्जुमा गर्दा गाउँका किसानको तस्बिर हेरेर बनाउनू भन्ने बिपीको सिद्धान्त र आदर्श बोकेको पार्टी हो कांग्रेस । तीन तहकै सरकारमा कांग्रेस छ । कांग्रेसले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । सुशासनयुक्त समाज निर्माण, छिटोछरितोे सरकारी सेवा, न्यायपूर्ण समाज, रोजगारी सिर्जना, गुणस्तरीय र सहज शिक्षा र स्वास्थ्य सेवालाई कांग्रेसले प्राथमिकता राखेर काम गर्नुपर्छ । त्यसका लागि पार्टीमा रहेका र बाहिर रहेका विज्ञहरूको सुझाब सल्लाहअनुसार काम गर्नुपर्छ ।
अबको कांग्रेस
१. वडा, तह, क्षेत्र, नगर, जिल्ला र प्रदेश कार्यसमितिलाई आ–आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिने ।
२. सातवटै प्रदेशका सबै पालिकामा केन्द्रीय प्रतिनिधि तोकी संगठन निर्माणमा लाग्ने ।
३. स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीको उम्मेदवार ‘प्राइमरी इलेक्सन’बाट चयन गर्ने ।
४. भ्रातृसंस्थाको संख्यात्मकभन्दा गुणात्मक उपस्थिति जनाउने कार्ययोजना आवश्यक ।
५. पार्टीबाट मन्त्रिपरिषद्मा पठाउँदा विषय विज्ञलाई प्राथमिकता दिने ।
६. कांग्रेसका केन्द्रदेखि वडा कार्यालय डिजिटलाइज (पेपरलेस) बनाउने ।
७. युवा कांग्रेस गठन गर्ने ।
८. प्रदेश कमिटीलाई चलायमान गराउने ।
९. शिक्षा, स्वास्थ्य, रोजगारी, युवा, उद्यमशीलता, सुशासनजस्ता विषयमा नीतिगत सुधार, कार्यक्रम तर्जुमा र कार्यान्वन सुझाब दिन सक्ने विज्ञसहितका संरचना निर्माण गर्ने ।
अन्त्यमा : लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेससँग जनताका बग्रेल्ती गुनासा हुन सक्छन् । कांग्रेसको भूमिका अपेक्षाकृत नहुँदा जनता पार्टीप्रति नकारात्मक हुन सक्लान् । तर, व्यवस्था परिवर्तनको अगुवा पार्टी कांग्रेस निराश हुने समय होइन । यति लामो इतिहास बोकेको पार्टी विश्वमै बिरलै छन् ।
नेतृत्वको कार्यशैली समयानुकूल छैन भने ऊ आफू पनि सच्चिन तयार हुनुपर्छ । नेतृत्वलाई गाली गरेर आफू शक्तिशाली बन्न खोज्ने सोच त्याग्न अरू पनि तयार हुनुपर्छ । एकताबद्ध र एकढिक्का कांग्रेस अहिलेको आवश्यकता हो । त्यसले मात्रै कांग्रेसलाई थप सशक्त र बलियो बनाउन सक्छ । तसर्थ, कांग्रेस सक्किने बहस होइन, सच्चिँदै युग सुहाउँदो नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्ने संकल्प सबैले राख्न जरुरी छ ।
(डा. उपाध्याय कांग्रेस महासमिति सदस्य हुन्)