नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल शुक्रबारदेखि सुरु हुँदै छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा समूह चरणमै अप्रत्याशित नतिजाहरू निस्किए । पूर्वविजेता जर्मनी समूह चरण र सर्वाधिक विजेता अमेरिका प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् । त्यहीँ नै मोरोक्को र जमैकाजस्ता कमजोर मानिएको राष्ट्रले इतिहास रचे । यी दुवै राष्ट्र नकआउट चरणमै सीमित भए । सन् १९९५ को विजेता नर्वे प्रिक्वार्टरफाइनलबाटै बाहिरियो ।
पुरुष फुटबलमा शक्तिशाली मानिने ब्राजिल, अर्जेन्टिना, इटाली र पोर्चुगलजस्ता राष्ट्रका महिला टोलीले विश्वकपमा गतिलो प्रदर्शन गर्न सकेनन् । यी चारै राष्ट्रका महिला टोली यसपटक समूह चरणबाटै घर फर्किए । कोलम्बिया र स्पेनले पहिलोपटक क्वार्टरफाइनल स्थान बनाए । अमेरिकाले पछिल्ला दुई संस्करण सन् २०१५ र २०१९ मा उपाधि जितेको थियो । चारपटक विश्वकप विजेता अमेरिकाले चालू संस्करणबाहेक अन्यमा सेमिफाइनल स्थान बनाएको थियो । उपाधि दाबेदार राष्ट्रहरू अगाडि नै घर फर्कंदा क्वार्टरफाइनलमा पुगेका राष्ट्रहरूलाई सहज देखिएको छ । आठ वर्षपछि विश्वकपले नयाँ विजेता पाउने पक्का छ । नवौँ संस्करणमा स्पेन, जापान, इंग्ल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, स्विडेन, कोलम्बिया र फ्रान्सले स्थान बनाएका छन् ।
जापान
फिफा महिला विश्वकपमा निरन्तर रूपमा स्थान बनाउने एसियाली राष्ट्र जापान मात्र हो । जापान पूर्वविजेता पनि हो । सन् २०११ मा सनसनी मच्चाउँदै जापान महिला विश्वकप च्याम्पियन बनेको थियो । विश्वकपमा जापानले सन् २०१५ को फाइनल खेलेको थियो । त्यसवेलाको फाइनलमा जापान अमेरिकासँग स्तब्ध भयो । जापान सन् १९९९, २००३ र २००७ मा समूह चरणबाटै बाहिरियो । यसपटक उत्कृष्ट तयारीका साथ अस्ट्रेलिया पुगेको जापान समूह ‘सी’को विजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुग्यो । अन्तिम आठको यात्रा गर्नेक्रममा जापानले एक गोल मात्र बेहोरेको छ । जापानले पूर्वविजेता नर्वेलाई प्रिक्वार्टरफाइनलमा ३–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । खेलमा एकपटकको च्याम्पियन नर्वेको चुनौती ३–१ ले पन्छाएको थियो । जापानले विपक्षी पोस्टमा १४ गोल गरेको छ ।
नेदरल्यान्ड्स
नेदरल्यान्ड्स प्रतियोगिताको साबिक उपविजेता हो । सन् २०१९ को संस्करणको फाइनलमा नेदरल्यान्ड्स अमेरिकासँग २–० ले पराजित भएको थियो । यो नेदरल्यान्ड्सको तेस्रो विश्वकप यात्रा हो । यसअघि नेदरल्यान्ड्सले २०१५ र २०१९ को विश्वकप खेलेको थियो । संयोग कस्तो रहयो भने यसपटकको विश्वकपमा साबिक विजेता र उपविजेता एकै समूह ‘ई’मा परेका थिए । यस समूहमा नेदरल्यान्ड्सले अमेरिकालाई स्तब्ध पार्दै विजेता बन्यो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।
इंग्ल्यान्ड
इंग्ल्यान्ड फुटबलमा राम्रो लगानी गर्ने युरोपियन राष्ट्र हो । यसअनुरूप इंग्ल्यान्डले विश्व फुटबलमा अपेक्षित रूपमा नतिजा निकाल्न सकेको छैन । इंग्ल्यान्डले महिला विश्वकपमा सन् १९९५ मा डेब्यु गरेको थियो । अहिलेसम्म इंग्लिस टोलीले पाँचपटक विश्वकप खेलेको इतिहास छ । इंल्यान्ड सन् २००७, २०११, २०१५, २०१९ र २०२३ गरी लगातार पाँच विश्वकपमा छनोट भयो । अघिल्ला दुई संस्करणको सेमिफाइनल खेलेको इंग्ल्यान्डले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ । महिला विश्वकपमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन नै सन् २०१५ मा तेस्रो स्थान प्राप्त गर्नु हो । इंग्ल्यान्ड समूह ‘डी’को विजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । दक्षिण अफ्रिकी राष्ट्र नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल पार गरेको थियो ।
फ्रान्स
पुरुष फुटबलमा दुईपटक विश्वकप उपाधि उचालेको फ्रान्सले महिलातर्फ यो सफलता चुम्न सकेको छैन । महिला विश्वकपमा फ्रान्सले पाँचपटक मात्र स्थान बनाएको छ । सन् २००३ को संस्करणमा फ्रान्सले डेब्यु गरेको थियो । त्यसपछि फ्रान्सले २०११, २०१५, २०१९ र २०२३ मा स्थान पक्का गरेको हो । महिला विश्वकपमा फ्रान्सको उत्कृष्ट प्रदर्शन नै सन् २०११ मा सेमिफाइनल खेल्नु नै थियो । फ्रान्स समूह ‘एफ’को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई एकपक्षीय खेलमा ४–० ले पराजित गरेको थियो । यसपटक पूर्वविजेताहरू बाहिरिँदा फ्रान्ससमक्ष उपाधि जित्ने अवसर छ ।
स्पेन
महिलाको तुलनामा पुरुषतर्फ स्पेनको फुटबल शक्तिशाली छ । स्पेनिस पुरुष टोलीले दुईपटक युरोकप तथा एकपटक फिफा विश्वकप उपाधि जितेको छ । तर, महिलातर्फ स्पेन कमजोर नै छ । पहिलोपटक क्वार्टरफाइनल खेलिरहेको स्पेनले सन् २०१५ मा महिला फिफामा डेब्यु गरेको थियो । स्पेनको यो तेस्रो सहभागिता हो । पछिल्लो संस्करणमा स्पेन प्रिक्वार्टरफाइनलमा सीमित भएको थियो । स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । स्पेनले अर्का युरोपियन राष्ट्र स्विट्जरल्यान्डलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो ।
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले सन् २०११ देखि विश्वकप खेलेको हो । कोलम्बियाले पहिलोपटक प्रिक्वार्टरफाइनल पार गरेको हो । कोलम्बियाले अन्तिमपटक सन् २०१५ को अन्तिम आठको स्पर्धा गरेको थियो । समूह ‘एच’को विजेताका रूपमा कोलम्बियाले नकआउट चरण स्थान बनायो । कोलम्बियाले क्वार्टरफाइनल स्थान पक्का गर्न जमैकालाई १–० ले निराश पा¥यो । समूह चरणमा कोलम्बियाले अप्रत्याशित रूपमा दुईपटकको पूर्वविजेता जर्मनीलाई सनसनीपूर्ण तरिकाले हराएको थियो ।
अस्ट्रेलिया
आयोजकमध्ये एक अस्ट्रेलियाले चौथोपटक क्वार्टरफाइनल खेल्दै छ । अस्ट्रेलियाले सन् २००७, २०११ र २०१५ को संस्करणको अन्तिम आठको खेल खेलेको थियो । सन् १९९५ मा अस्ट्रेलियाले विश्वकपमा डेब्यु गरेको थियो । घरेलु मैदान र समर्थकबीच अस्ट्रेलियाले समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अहिलेसम्म सेमिफाइनल पुग्न नसकेको अस्ट्रेलिया समूह ‘बी’को विजेताका रूपमा अन्तिम १६ मा पुगेको हो । उपाधि दाबेदार डेनमार्कलाई २–० ले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा पुगेको हो ।
स्विडेन
सन् १९९१ देखि विश्वकप खेल्दै आइरहेको स्विडेनले एकपटक पनि उपाधि उचालेको छैन । यसक्रममा स्पेन एकपटक उपविजेता र तीनपटक तेस्रो भएको छ । स्विडेन समूह ‘जी’को विजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुग्यो । स्विडेनले प्रिक्वार्टरफाइनलमा सनसनी रूपमा साबिक विजेता अमेरिकालाई सडनडेथमा ५–४ ले स्तब्ध पार्यो । स्विडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान प्राप्त गरेको थियो ।