‘खोटाङ प्रतिभा- २०८०’को फाइनल आगामी सोमबार राष्ट्रिय नाचघरमा

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको ‘खोटाङ प्रतिभा- २०८०’ छनोट प्रतियोगिताको फाइनल २९ साउन काठमाडौंमा हुँदै छ।

खोटाङका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ‘खोटाङ प्रतिभा- २०८०’ छनोट प्रतियोगिताको फाइनल राष्ट्रिय नाचघर जमल, काठमाडौंमा हुने आयोजकले जनाएको छ।

खोटाङ प्रतिभा- २०८० छनोट प्रतियोगिताका लागि खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभा छनोट गरिएको छ। जिल्लाका १० वटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौं झिकाएर प्रशिक्षण दिने काम भइरहेको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिएका छन्।  

जिल्लाबाट छनोटमा परेका प्रतिभालाई काठमाडौं आउन-जान तथा खान–बस्नको व्यवस्था आयोजकले नै गरेको छ। आयोजकले उपलब्ध गराएको यो अवसर कुनाकन्दरामा रहेका नवप्रतिभाहरूका लागि प्रभावकारी भएको सांगीतिक क्षेत्रका अग्रज व्यक्तिहरूको प्रतिक्रिया छ। 

प्रतियोगिताको गायनतर्फ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुंगा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐँसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रविन दियाली सहभागी छन्। 

यस्तै, नृत्यतर्फ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुंगा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना राई, ऐँसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिसन मगर र साकेला गाउँपालिकाबाट सुजता भुजेल सहभागी छन्।

जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभामध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०–३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौंमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। 

खोटाङ प्रतिभा– २०८० छनोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु. दुई लाख दुई हजार, रु. एक लाख एक हजार र रु. ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा संगीतकार रूपकुमार राईले जानकारी दिए। 

‘खोटाङ प्रतिभा– २०८० छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने कार्यक्रममा समेत सहभागी गराइनेछ,’ उनले भने, ‘प्रतियोगितामा सहभागी बाँकी १४ जनालाई सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गर्ने तयारी गरिएको छ।’

काठमाडौंमा हुने यो छनोट प्रतियोगिता अन्य रियालिटी शोभन्दा कम नहुने आयोजकले दाबी गरेको छ । साउन २९ गते दिउँसो १ बजेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। 

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गर्ने जनाइएको छ । खोटाङ प्रतिभा– २०८० छनोट कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । 

खोटाङ घर भई काठमाडौंलाई कार्यक्षेत्र बनाएर गीत–संगीतलाई आफ्नो पेसाको रूपमा अंगालेका खोटाङे कलाकारहरूले ०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेका थिए । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर संघर्ष गरिरहेका खोटाङे कलाकारहरूको साझा मञ्चको रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरूले बताएका छन्। 

खोटाङ कलाकार समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू सहभागी छन् । खोटाङ कलाकार समाजले स्थापनाकालबाटै मातृभूमि खोटाङ तथा राजधानी काठमाडौंमा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ। 

सुझावित समाचार