फोहोर वर्गीकरण गर्ने आफ्नै निर्णय वर्ष दिनपछि मात्रै सम्झियो महानगरले

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

सहुलियतमा कम्पोस्ट बिन बिक्री, छुट्याएर फोहोर संकलन गर्न अझै समय लाग्ने 

काठमाडौं महानगरले एक वर्षअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरे मात्रै संकलन गर्ने घोषणा गरेको थियो । गत वर्षको १ साउनदेखि नै यो घोषणा कार्यान्वयनको चरणमा लैजाने भनिए पनि महानगरले बिर्सिएको थियो । उक्त घोषणा कागजमै सीमित बनेको थियो । 

रविनमान श्रेष्ठ, प्रमुख वातावरण विभाग, काठमाडौं महानगर
एक वर्षअघि घोषणा भएको अभियानलाई निरन्तरता दिने गरी १५ सय रुपैयाँमै कम्पोस्ट बिन उपलब्ध गराउन लागेका हौँ । बिन वितरणपछि कुहिने फोहोर उपभोक्ताको घरबाटै छुट्टिएर बाहिर आउँछ । यस्तो फोहोरलाई मल बनाएर वृक्षरोपणका क्रममा प्रयोग गर्छौँ । उपभोक्ताले बिहान १० देखि ३ बजेसम्म वातावरण विभागमा सम्पर्क गरेर बिन लैजान सक्छन् ।

यसैबीच, महानगरले गत आइतबार उक्त घोषणालाई सहयोग गर्ने भन्दै सहुलियमा कम्पोस्ट बिन वितरण गर्ने सूचना जारी गर्‍यो । चार हजार मूल्य पर्ने उक्त बिन १५ सयमै उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । बिन वितरणलाई एक वर्षअघि नै घोषणा गरेको ‘फोहोर वर्गीकरण अभियान’को थालनीका रूपमा लिएको छ । 

महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार एक वर्षअघि घोषणा भएको सोही अभियानलाई निरन्तरता दिने गरी १५ सयमै बिन उपलब्ध गराउन लागिएको हो । उनले भने, ‘बिन वितरणपछि कुहिने फोहोर उपभोक्ताको घरबाटै छुट्टिएर बाहिर आउँछ । बिहान १० देखि ३ बजेसम्म वातावरण विभागमा सम्पर्क गरेर महानगरवासीले चाहिएजति बिन लैजान सक्छन् ।’ 

बिनको मल वृक्षरोपणमा प्रयोग गर्ने 
कम्पोस्ट बिन वितरणसँगै महानगरले सहरका प्रत्येक चोक र बसपार्कमा फोहोर छुट्याउने भाँडा (सेग्रिगेसन बिन) राख्ने भएको छ । थप बिन खरिदका लागि टेन्डरसमेत आह्वान गरेको छ । यसलाई पनि महानगरले अभियानकै रूपमा लिएको छ । भदौदेखि नै चोक र बसपार्कमा फोहोर छुट्याउने भाँडा राख्नेछ ।

‘फोहोर छुट्याउने अभियानका लागि माहोल बनाउन चोक र बसपार्कमा सेग्रिगेसन बिन राख्ने भएका छौँ । जुन आगामी महिनादेखि नै लागू हुनेछ,’ विभाग प्रमुख श्रेष्ठले भने । बिनमा जम्मा भएको कुहिने फोहोरलाई महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा कम्पोस्ट मल बनाउनेछ । उक्त मललाई महानगरले विभिन्न ठाउँमा गरिएको वृक्षरोपणमा प्रयोग गर्नेछ ।’ 

निर्णयबाट यसकारण पछि हट्यो महानगर
महानगरले वैशाख ०७९ मा जारी गरेको सूचनामा १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख थियो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ र फोहोरमैला व्यवस्थापन ऐन ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ र फोहोरमैला व्यवस्थापन ऐन ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, सूचना जारी गरेर कडाइका साथ फोहोर छुट्याउन प्राथमिकता नदिँदा उक्त निर्णय अझै लागू हुन सकेको छैन । ‘घरबाटै छुट्टिएको फोहोर उठाउन हामी आफैँ पनि तयार हुनुपर्‍यो । वर्गीकरण गरिएको फोहोर राख्न हामीसँग संरचना पनि छैनन् । संरचना निर्माणका केही ठाउँमा हेरेका थियौँ । तर, के गर्ने भन्ने विषयमा अझै निक्र्योल हुन सकेको छैन । केन्द्र सरकारलाई पनि भनेका छौँ,’ प्रमुख श्रेष्ठले भने । 

महानगरले स्रोतमै फोहोर छुट्याउने सूचना जारी गरे पनि लागू नगर्दा फोहोरमैला व्यवस्थापन संघ नेपालले पनि मिश्रित फोहोर संकलन गरिरहेको छ । महानगरको सूचनापछि तीनवटा वडामा फोहोर वर्गीकरण गरेर उठाउन थालिएको थियो । तर, ती फोहोर राख्ने ठाउँ महानगरले उपलब्ध गराउन नसक्दा थप अन्य वडामा उक्त अभियान सञ्चालन भएन । संघका अनुसार महानगरका वडा नम्बर ४, ७ र १५ मा फोहोर छुट्याएर संकलन भइरहेको छ । संघले वडा नम्बर १, २, ३, ५, ६, ८, ९, १०, ११, १३, १४, १६, १७, २६, २८, २९, ३०, २२, ३१ र ३२ वडामा पनि फोहोर वर्गीकरणको तयारी गरे पनि उक्त योजना अगाडि बढ्न सकेको छैन । महानगरका अनुसार हाल बन्चरेडाँडा ल्यान्डफिल साइट र पोस्ट क्लोजिङको काम गर्नुपर्ने सिसडोलमै वर्गीकरण गरिएको फोहोर व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ । 

सुझावित समाचार