नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एक वर्ष थप

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

सुस्त गतिमा विस्तारको काम भएको  गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ। सुरुवाती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको हो।

आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चूडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए। उनका अनुसार नारायणगढ - बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्ने गरी छलफल अघि बढेको छ। ‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ,’ उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ।’

पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए। ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदै छ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ,’ उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार-पाँच वर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए। ‘अहिले सडक विस्तारको काम गरिरहेको चाइनिज ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन्। ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरू कारबाही हामी गर्न सक्दैनौँ,’ उनले भने, ‘हामीले ठेक्का तोडेको अवस्थामा उनीहरूले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो।’

निर्माण सामग्री नपाएको, विद्युतका तार नसारेको, रुख कटानमा ढिला गरेकोलगायतका कारण देखाउँदै उनीहरू अदालत जाने तयारी गरेका वेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ। निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरूको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ। एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ। उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ। 

‘हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्ने गरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौँ,’ उनले भने, ‘कन्सल्टेन्टबाट सिफारिस भएर गएको तीन सय ५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा तीन सय ३० दिन थप गर्ने सिफारिस भएको छ।’ थपिएको म्यादअनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल)को म्याद २३ जुलाइमा सकिन्छ। थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गरे।

‘तेस्रो भेरियन्टको कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युतका तार सार्न ढिला हुनु, रुख कटान तथा जिम्माको काममा ढिला हुनुलगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौँ,’ उनले भने, ‘अहिले निर्माण सामग्री पर्याप्त रहेको छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ।’ हाल नारायणगढ बुटवल खण्डअन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे भएको उनले जानकारी दिए।

सुझावित समाचार