गृहमन्त्रीलाई लामिछानेको प्रश्न- बाटोमा समाइएको सुन मालिकसम्म किन पुग्न दिइएन?

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण
गृहमन्त्रीलाई लामिछानेको प्रश्न- बाटोमा समाइएको सुन मालिकसम्म किन पुग्न दिइएन?

फाइल तस्बिर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट छाडिएको सुन मालिकसम्म पुग्न नदिई बाटैमा किन समातिएको भनी प्रश्न गरेका छन्। 

समयमै गर्नुपर्ने काम नगरी अनुसन्धानमा ढिलाइ गर्दा सुन तस्करीको गहिराइसम्म पुग्न नसकिने भन्दै उनले मालिकसम्म पुग्न नदिएकोमा प्रश्न उठाए। उनले सुन ल्याइएको ब्रेक सुहरू राखिएको गोदाममा तीन दिनपछि छापा मारिएकोमा पनि उनले गृहमन्त्रीलाई प्रश्न गरेका छन्। 

‘गोदामहरूमा किन तीन दिनपछि मात्र छापा मारियो? के सुन झिकेर लैजान समय दिइएको हो?’ उनले भने। सांसद लामिछानेले यो प्रकरणको अनुसन्धान पहिले नै प्रहरीलाई किन बुझाइएन् भन्ने प्रश्न पनि उठाए। 

‘२० दिनसम्म किन राजस्व अनुसन्धानको छानबिनमा राखियो। यो २० दिनमा अनुसन्धानलाई प्रभावित बनाउने क्रियाकलाप भए होलान्, कयौँ मान्छे भागेका छन्, यसको जवाफ कसले दिन्छ?’ उनले भने। 

लामिछानेले सुन प्रकरणमा मुछिएका सत्तारुढ दलका नेतामाथि अनुसन्धान नगरिएकोमा पनि उनले गृहमन्त्रीसँग जवाफ मागे। 

‘भेपबाट हुने सुन तस्करीमा सत्तापक्षकै एकजना नेता विवादित हुनुहुन्छ। सयभन्दा बढीपटक सुन तस्करसँग सत्तारुढ दलका नेताले टेलिफोन कुराकानी गरेको पाइएको छ। ती नेतालाई अनुसन्धानको घेरामा किन नल्याइएको हो?’ उनले जवाफ मागे।  

सुझावित समाचार